कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर
भावना वृद्धका छन् मिठा जो जहाँ
लम्किने छन् सुधा जोसिला सिर्जना
उड्दछन् बालुवा पात वा पत्कर
पग्लिने छन् ठुला शाल्मली पत्थर ।।१
वृद्धका हातमा शारदा लम्किँदा
बन्दछन् हात ती वृद्धका चम्किला
काव्यका मूलमा सिञ्चिँदै आँकुरा
फक्रिँदै बढ्दछन् बैँसका स्रग्धरा।।२
जो बने वृद्ध नै शुन्यता भित्रका
बन्दछन् नाशवान् ती स्वयम् मित्रका
पाहिए वृद्धमा सिर्जना शाश्वत
जाग्दछन् झिस्मिसे पार्दछन् निर्भय ।।३
फाल्दछन् भित्रका घातकी कण्टक
पार्दछन् बालका पोषिला मस्तक
वृद्धका साथ हून् कर्मका साधना
फुल्दछन् मस्किँदै पुष्प ती बागमा ।।४
भन्दछन् वृद्धमा सिर्जना मर्दछ
यो कुरा हो झुटा शक्ति झन् बढ्दछ
हुन्न चिन्ता कुनै साधना पुग्दछ
बोझ हुन्नन् त्यहाँ आलसी लुक्तछ ।।५
छन्द – स्रग्विणी
गण – र र र र
सङ्केत – SlS – SlS – SlS – SlS
वि.सं.२०८१ चैत १६ शनिवार ०९:३१ मा प्रकाशित






























