back
CTIZAN AD

डढेलो लाग्न नदिन उच्च सतर्कता अपनाउँदै डिभिजन वन कार्यालय

वि.सं.२०८१ चैत २२ शुक्रवार

711 

shares

कञ्चनपुर । वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्याक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ ।

वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए ।

“सामुदायिक वन, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन समन्वय समितिसँग समन्वय गरी डढेलो नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री हामी उपलब्ध गराउँछौँ”, उनले भने, “सामुदायिक वनलगायत संस्थाहरूले अग्नि नियन्त्रक टोली परिचालन गर्छन्, त्यसका लागि समन्वयको कार्य गरिएको छ ।” उनका अनुसार डढेलो नियन्त्रण गर्ने सामग्रीसहित कर्मचारी पनि खटिन्छन् ।

डढेलो लाग्न नदिन सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने कार्यसँगै वन क्षेत्रमा अग्निरेखा तयार गर्ने, चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने कार्य अगाडि बढाइएको उनको भनाइ छ । यस वर्ष हिउँदे वर्षा नहुँदा जमिन सुक्खा रहेको उल्लेख गर्दै कार्यालय प्रमुख ठाकुरले तापक्रममा वृद्धि हुँदा डढेलो लाग्ने सम्भावना उच्च बनेर गएको बताए ।

“चुरे क्षेत्रमा डढेलो लागे भौगोलिक विकटताले गर्दा नियन्त्रण गर्न निकै चुनौती छ”, उनले भने, “डढेलो लाग्न नदिनका लागि निरोधात्मक उपाय अवलम्बन गरेका छौँ ।”

सामुदायिक वनका उपभोक्तालाई सचेत पारेकै कारण अहिलेसम्म डढेलो लागेको जानकारी नआएको उनले बताए । डढेलोबाट हुने वन, जनधनको क्षति न्यूनीकरण गर्न सर्तक अवस्थामा रहेको उनी बताउँछन् ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आबद्ध ९४ वटा सामुदायिक वनमा २५ जनाका दरले अग्नि नियन्त्रक टोली गठन गरेको छ । डढेलो नियन्त्रणका लागि समन्वय समितिको संयोजकत्वमा अग्नि नियन्त्रक मूल समिति गठन गरी परिचालन गरिएको छ ।

एकीकृत सूचना प्रणालीमार्फत डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए । “यस कार्यले डढेलो लागेको जानकारी डिभिजन वन कार्यालयसँगै आबद्ध सबै सामुदायिक वनलाई हुन्छ”, उनले भने, “जसले गर्दा डढेलो नियन्त्रण गर्न सहज हुन्छ, वन क्षेत्रमा भइरहेको पुनः उत्पादन भएका बिरुवालाई जोगाउन सकिन्छ, वनक्षेत्र नजिकका बस्तीमा डढेलो नलाग्दा धनजनको क्षति हुन पाउँदैन ।”

हाल लालझाडी करिडोर क्षेत्रका सामुदायिक वनमा अग्नि रेखा सफा गर्ने, कन्ट्रोल फायर (नियन्त्रित आगो)लगायत कार्य उपभोक्ताको उपस्थितिमा भइरहेको उनले जानकारी दिए ।

“वन क्षेत्रमा जथाभावी रूपमा आगो लगाउने, चुरोट बिडीका ठुटा फाल्ने, ज्वलनशील पदार्थको प्रयोग गर्ने कार्य गरेमा वनक्षेत्रमा क्षति भएमा हुने कानुनी प्रावधानका बारेमा सर्वसाधारणलाई सचेतना दिने कार्य गरिरहेका छौँ”, उनले भने । तराई क्षेत्रमा रूखबाट पात झर्ने भएकोले चैत, वैशाख र जेठमा बर्सेनि डढेलो लाग्ने गर्दछ ।

जसका कारण वनक्षेत्रमा ढलेपडेका, सुकेका काठमा आगो लाग्दा करोडौँको क्षति हुने गर्छ । डढेलोकै कारण अजिङ्गर, विभिन्न प्रजातिका सर्पलगायत उभयचर, चराचुरुङ्गी, जनावरको मृत्यु हुनुका साथै वन्यजन्तुको वासस्थान मासिने गर्दछ । वनक्षेत्रमा डढेलो लागेमा वन्यजन्तु बस्तीतर्फ जाँदा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्ने गर्दछ ।रासस

 

वि.सं.२०८१ चैत २२ शुक्रवार ०७:२६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...