काठमाडौं । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु गुणस्तरमा केही सुधार भएको छ । बुधबार दिउँसोसम्म विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा रहेको काठमाडौं आज १२ नम्बरमा झरेको छ ।
पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, भोलि र पर्सि पनि पानी पर्ने सम्भावना छ । जसले गर्दा नेपालमा वायुको गुणस्तरमा अझै सुधार हुने पूर्वानुमान रहेको छ ।
विश्वभरका शहरहरुको वायुको गुणस्तर रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान सवा ७ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक ११९ छ । विगतको तुलनामा केही सुधार देखिएपनि यो सूचकांकले संवेदनशील समूहका लागि काठमाडौंको हावा अझै अस्वस्थ रहेको जनाउँछ ।
वि.सं.२०८१ चैत २८ बिहीवार १०:४१ मा प्रकाशित




























