समाजलाई हेर्ने, बुझ्ने र भोगेका समस्या, भनौ दुःख, सुख, खुसी, आनन्द, संवेदना आदि व्यक्ति अनुसार फरक हुन सक्छन् । तत्कालीन समयमा बुद्धले जुनविचार वा दर्शन सम्प्रेशण गरे त्यो आजपनि केही हदसम्म व्यवहारिक नै देखिन्छ । त्यसैले यो आलेखमा दुःख मुक्तिको मार्गका रुपमा बौद्ध दर्शनमा आधारित भएर उजागर गर्ने जमर्को गरिएको छ । बास्तवमा दुःख, सुख, आनन्द आदि भन्ने कुरा मनको उपच हुन् ।
दुःखको सामान्य कारण छ, त्यो हो अज्ञान र अविवेक । ज्ञान र दर्शनको एउटै लक्ष्य हो–मानवलाई सुख, शान्ती र संवृद्धमा पु¥याउनु । बुद्ध चार आर्यसत्यबारे भन्नुहुन्थ्यो–जीवनमा दुःख छ । दुःख को कारण छ । दुःखमुक्तिको उपाय छ । आर्य अष्टाङ्गिक मार्ग दुःख निवारणको उपाय हो । यो प्रकृतिमा र समाजमा जे जति घटनाहरु घटीत हुन्छन् ती सबै कारण र प्रभावको सिद्धान्तमा आधारित हुन्छन् । त्यहाँ कुनै दैवीक शक्तिले काम गरेको हुँदैन ।
बुद्ध दर्शनले दुःखको कारण, अन्त्य र मुक्तिको बाटो सिकाउँछ र आजको संसारमा पनि सान्दर्भिक छ । यसले करुणा, प्रेम, नैतिकता, जागरूकता, सन्तुष्टि, सत्यता, उदारता, शान्ति र आत्म–अनुशासनलाई मुख्य मान्छ । बुद्धले भने, ‘लोभले दुःख, सन्तोषले शान्ति दिन्छ’ र सत्य बोल्न र साहसी हुन प्रोत्साहित गर्छ ।
‘दुःखबाट मुक्त हुन चार नियम पालना गर्नुपर्छ । पहिलो समाजमा दुःख छ, दोस्रो त्यसको कारण छ, तेस्रो दुःखको अन्त्यहुन सक्छ र अन्तिम मुक्तिको बाटो पहिल्याउनु पर्छ । अनिमात्र व्यक्तिमा दुःख रहदैन । आचरण सही हुँदै जान्छ । मनमा शान्ति छाउँछ ।’ यो दर्शन विश्व प्रशिद्ध गौतम बुद्धको ध्यानबाट प्राप्त अनुभव हो ।
यो दर्शन चार आर्य सत्य र अष्टाङ्गिक मार्गमा केन्द्रित छ । बुद्ध दर्शन आजको तनाव, लोभ र हिंसाले भरिएको संसारमा पनि उत्तिकै सान्दर्भिक छ । बुद्धका अनुसार जीवन दुःखले भरिएको छ । तर, सही बुझाइ र आचरणले मानिसले निर्वाणको शान्ति प्राप्त गर्न सक्छ । यो दर्शनले मानिसलाई कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ पनि दिन्छ । यसले बुद्धत्वको बाटोमा लान्छ ।
करुणाभाव र सबैप्रति माया
बुद्ध दर्शनको मुटु करुणा र प्रेम हो । बुद्धले भन्छन्, ‘बिना भेदभाव, सबै जीवलाई आफ्नो परिवार जस्तै माया गर ।’ यसको मुल मर्म नै हो, हरेक जीवको दुःखमा सहानुभूति राख्नुपर्ने र उनीहरूको सुखको कामना गर्नुपर्छ । स्वयमले कमजोर र पीडितहरूको पक्षमा आफ्नो जीवन बिताए । यो गुणले मानिसलाई स्वार्थीपनबाट मुक्त गर्छ । स्वार्थीपन हट्दै गएपछि स्वत मन शान्तहुँदै जान्छ ।
नैतिक र संयमी
बुद्ध दर्शनले भन्छ, नैतिक र संयमी हुनु । पञ्चशील–हिंसा नगर्ने, सत्य बोल्ने, चोरी नगर्ने, यौन दुराचार नगर्ने र नशालु पदार्थबाट टाढा रहने । यी नियमहरूले जीवनलाई शुद्ध र सन्तुलित बनाउँछ । बुद्धले भनेका छन् ‘हिंसा शारीरिक मात्रहोइन, मन र वचनले पनि गर्नु हुँदैन । प्रेमले मात्र शान्ति प्राप्त हुन्छ ।’ यो नैतिकताले व्यक्तिलाई सभ्य र शान्त बनाउँछ । कल्पना गर्नुहोस् त, ‘यदि तपाईं सधैं सत्य र संयमको बाटो हिँड्नुहुन्छ भने तपाईंको मन कति हल्का र शान्त हुन्छ ।
बुद्धिमान र जागरूक
बुद्ध दर्शनमा माइन्ड फुलनेस (ध्यान) र प्रज्ञा (बुद्धि) को ठूलो महत्व छ । सतिपट्ठान सूत्रमा बुद्ध भन्छन — आफ्नो शरीर, भावना, र मनलाई जागरूकतापूर्वक नियाल । यो जागरूकताले वर्तमानमा बाँच्न सिकाउँछ । हरेक पलमा आफ्नो विचार र कार्यलाई बुझ्नुपर्छ । हरेक अवस्थामा आवेगमा होइन, विवेकले निर्णय लिनुपर्छ । प्रज्ञाले जीवनको अनित्यता र अनात्मको सत्य बुझाउँछ ।
सन्तुष्ट र लोभमुक्त
बुद्धले तृष्णा र लोभलाई दुःखको जड मानेका छन् । धम्मपदमा भनिएको छ, ‘लोभले दुःख, सन्तोषले शान्ति दिन्छ ।’ बुद्धको यो सन्देश आजको भौतिकवादी संसारमा झन् सान्दर्भिक छ । सोच्नुहोस्, यदि हामी सम्पत्ति, मानव इन्द्रीय सुखको पछि दौडन छोड्छौं र सादा जीवन बिताउछौं भने हाम्रो मन कति स्वतन्त्र होला ?
सत्यनिष्ठ र साहसी
बुद्ध दर्शनले सत्य बोल्न र साहसी हुन सिकाउँछ । सत्य तीतो हुन सक्छ, तर त्यसले अरूलाई हानि गर्नुहुँदैन । बुद्ध स्वयंले सत्यको खोजीमा राजसी सुख त्यागे, जुनउनको साहसको उदाहरण हो । त्यसैले, आफ्नो गल्ती भए स्वीकार गरी सही बाटोमा अडिग हुनुपर्छ । यो साहसले सम्मान र आत्मविश्वासी बनाउँछ ।
उदार र सेवाभावी
बुद्ध दर्शनमा दान र सेवालाई पुण्य मानिएको छ । बुद्धले सङ्घमार्फत सामुदायिक सहयोगको महत्व सिकाए । कल्पना गर्नुहोस्, तपाईं आफ्नो समय, धनवा ज्ञान अरूसँग बाँड्नुहुन्छ—यो निःस्वार्थ भावले तपाईंको मन कति रमाउँला । उदारताले सुख र सम्बन्ध बलियो बनाउँछ । बुद्धको यो सिकाइले हामीलाई सधैं अरूको कल्याणमा योगदान गर्न प्रेरित गर्छ ।
शान्त र धैर्यवान
बुद्ध दर्शनले शान्ति र धैर्यलाई जीवनको आधार मानेको छ । धम्मपदमा भनिएको छ, ‘धैर्यले क्रोधलाई जित्न सकिन्छ ।’ बुद्धले आफ्नो जीवनमा सधैं शान्ति र करुणालाई प्राथमिकता दिए । कठिन परिस्थितिमा पनि हामी शान्त र धैर्यवान हुने प्रयास गर्नुपर्छ । यो गुणले मन र सम्बन्ध दुवैलाई सुधार्छ ।
आर्य अष्टाङ्गिक मार्गवादुःखविनाशको मार्ग
अष्टांगिक आर्यमार्गलाई गौतम बुद्धले निम्न तरिकाले प्रस्तुत गरेका छन् –
दुःखको निरोधतिर लिएर जाने मार्ग कुन हो ? आर्य अष्टाङ्गिक मार्ग । बुद्धले भने —“भिक्षुहरु यीदुई अतिहरु (चरम पन्थहरु)—सेवन गर्नुहुँदैन —
(१)काम सुखमा लिप्त हुनु र (२) शरीर पीडामा लाग्नु ।
यी दुवै अतिलाई छाडेर मैले मध्यम मार्ग खोजेको छु । यो आ“खा दिने, ज्ञान प्रदान गराउने शान्ति मिल्ने मार्ग हो । यो मध्यम मार्ग यही आर्य (श्रेष्ठ आठ अङ्गहरु भएका) मार्ग हो —
(१) सम्यक दृष्टि (२) सम्यक सङ्कल्प (३) सम्यक वचन
(४) सम्यक कर्म (५) सम्यक आजीविका (६) सम्यक प्रयत्न
(७) सम्यक स्मृति (८) सम्यक समाधि ।”
आर्य अष्टाङ्गिक मार्गका आठ कुराहरुलाई ज्ञान (प्रज्ञा), सदाचार (शील) र योग (समाधि) — यी तीन भागमा बाँड्दा ती हुन्छन् —

यी माथि उल्लेखित सम्यक मार्ग अपनाउदा मानिस दुःखबाट मुक्तहुन सकिन्छ । यो बुद्धको लामो तपस्याबाट प्राप्त अध्ययनको नतिजा हो । सम्यक दृष्टि र सम्यक सङ्कल्प ज्ञान अन्तर्गत पर्दछ । सम्यक वचन, सम्यककर्म र सम्यक आजिविकाशील हुन् भने सम्यक प्रयत्न, सम्यक स्मृति र सम्यक समाधि समाधिसंग सम्बन्धित छन् ।
आत्म–अनुशासित र ध्यान मग्न
बुद्धले आत्म–अनुशासन र ध्यानलाई जोड दिए । ध्यानले मनलाई स्थिर र जागरूक बनाउँछ । आफ्नो मनलाई नियन्त्रण गरी अनावश्यक इच्छाबाट टाढा रहेमा लक्ष्यमा केन्द्रित राख्छ । ध्यान प्रवेश गर्ने क्रिया छुट्टाछुट्टै हुन्छन् । कुनै पनि क्रिया गर्दागर्दै विचारबाट मुक्त भएर जब मन शान्त हुन्छ र हामी शून्यतामा प्रवेश गर्छौं, त्यो हो ध्यानको अवस्था । यो एउटा मानसिक प्रक्रिया वा व्यायाम हो । थुप्रै प्रकारका क्रियाको सहयोगबाट ध्यानमा प्रवेश गर्न सकिन्छ ।
ध्यानबाट लाभ
यो बुझ्नका लागि बुद्धको एउटा प्रवचनलाई याद गर्नुपर्छ । ६–७ वर्षको प्रयासपछि जब बुद्धले आत्मज्ञान प्राप्त गर्नुभयो, त्यसपछि सारनाथमा उहाँले प्रवचन दिनुभयो । त्यो बेला पाँच शिष्यमात्र थिए । एउटा शिष्यले सोधे– भगवान्, ध्यान साधनाको गहिरो अभ्यासपछि तपाईले के प्राप्त गर्नुभयो ? बुद्धले लामो र गहिरो सास लिनुभयो र हाँस्दै भन्नुभयो– मैले केही पाएको छैन । बरु मैले त धेरै कुरा गुमाएको छु । यो उत्तर सुनेर सबै शिष्य अचम्ममा परे । शिष्यहरूले फेरि सोधे, ‘के गुमाउनुभयो?’ बुद्धले भन्नुभयो, ‘मैले मनको डर, निराशा, अशान्ति, ईष्र्या, द्वेष, चञ्चलता अनि उत्तेजना गुमाएको छु ।’ यो उत्तर सुनेपछि सबै शिष्य प्रफुल्ल भए । डर, निराशा, अशान्ति, चञ्चलता, उत्तेजना र विषय हरायो भने आन्तरिक शान्ति मात्र बच्छ ।
ध्यान विधि
कुनै पनि ध्यान विधि सबै मानिसका लागि कल्याणकारी र उपयोगी हुँदैन, किनकि मानिसको प्रकृति तीन थरीको हुन्छ । ती हुन्– वात, पित्त र कफ। यसैअनुसार रहनसहन, विचार र वाणीहरू बन्छन् । यसकारण ध्यानको अभ्यास गरेपछि प्रगति भइरहेको छ कि छैन भनेर समीक्षा गर्नुपर्छ । आत्मसन्तुष्टि, एकाग्रता, आनन्द र शान्तिमा वृद्धि भइरहेको छ भने ध्यानलाई निरन्तरता दिनुपर्छ । यस्तो अनुभूति भएको छैन भने अर्को ध्यान विधिको प्रयोग गर्नुपर्छ । कुनै पनि ध्यानको अभ्यास गर्दा चाँडै विधि बदल्नु हुँदैन । कम्तीमा तीन साता लगातार अभ्यास गरेपछि त्यसको प्रतिक्रिया अवलोकन गर्नुपर्छ । त्यसपछि मात्रै आवश्यक भएका विधि परिवर्तन गर्न सकिन्छ ।
विपश्यना ध्यान
‘विज्ञान भैरवतन्त्र’का रचयिता भगवान् शिवलाई मानिन्छ । यसमा रहेको एउटा ध्यान हो– अनापान सतीयोग । यसै ध्यान विधिलाई परिस्कृत गरेर विपश्यना ध्यान विधि बनाइएको हो ।यसको साधना दुई स्थितिबाट गर्न सकिन्छ – सक्रिय र निष्क्रिय ।
सक्रिय अवस्था भनेको जागृत स्थिति हो । जागृत स्थिति भन्नाले हिँड्नु, बोल्नु, काम गर्नु, खाना खानु इत्यादि अवस्था हो । निष्क्रिय अवस्था भन्नाले शान्तभएर चुपचाप बस्ने अवस्था हो । दुवै अवस्थामा विपश्यना ध्यानको अभ्यास गर्न सकिन्छ । यसका लागि पूर्ण रूपमाआफ्नो श्वासप्रश्वासलाई अनुभव र त्यसप्रति सजग रहनुपर्छ । बिस्तारै शारीरिक संवेदनाको पनि बोध हुन्छ तर यसलाई चुपचाप अनुभव मात्र गर्न सकिन्छ । कुनै पनि ध्यानको प्रयोग गर्दा खुकुलो लुगा लगाएर शान्त र स्वच्छ स्थानमा बस्नुपर्छ । हुनत ध्यानको अभ्यास कुनै पनि बेलामा गर्न सकिन्छ तर बिहान र बेलुकाको समय बढी उपयोगी मानिन्छ ।
अन्त्यमा, हामीले योग, प्राणायाम र ध्यान नियमित दिनको एक घण्टा बिहान र बेलुका गर्ने अभ्यास गर्ने हो भने मानिसको मनमा सुख र शान्ति हुन्छ । ध्यानी मानिसले जुनसुकै कामगर्दा पनि ध्यान लगाएर वा लगनशील भएर गर्ने हुनाले उ सफल बन्न सक्छ । सफल मात्र होइन कि उ सुखी, शान्त र आनन्दीत पनि हुन सक्छ । मानिसहरु सुख र शान्ति धन सम्पत्ति जोडेर आउँछ भन्ने विश्वास गर्छन् । तर मानसिक सुख र शान्ति नियमित योग, प्राणायाम र ध्यानको साधनाले प्राप्तहुन सक्छ । त्यसैले आजकाल धेरै मानिसहरु योग, प्राणायाम र ध्यान साधनामा जोडिदै आएका छन् । ध्यानका विधि तथा प्रक्रिया विभिन्न किसिमका भएपनि त्यसबाट प्राप्त हुने लाभ भने उस्तै नै हुन्छन् ।
अज्ञानतालाई उन्मूलन गरियो भने दुःखबाट हरेक मान्छेको अहिले र यहीं मुक्ति सम्भव छ । दुःखबाट मुक्तिको लागि कुनै ईश्वरको वा स्वर्गको आवश्यकता छैन । यहीं व्यक्ति स्वयंले आफ्नो अज्ञानता हटाए पुग्छ, ज्ञान प्राप्त गरे पुग्छ, दुःखको कारण थाहापाए पुग्छ । व्यक्तिको मुक्ति व्यक्तिकै हातमा छ ।
वि.सं.२०८२ जेठ २६ सोमवार ०९:५२ मा प्रकाशित






























