back
CTIZAN AD

छिन्नभिन्न राजावादी आन्दोलन : थलिएका कि तङ्ग्रेला ?

वि.सं.२०८२ जेठ २६ सोमवार

1.7K 

shares

गएको फाल्गुण २५ गते पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखरा भ्रमण सकेर हवाईमार्ग हुँदै काठमाडौँ फर्किएपछि जुरमुराएको राजावादी आन्दोलन सुस्ताएको छ । ज्ञानेन्द्र शाह काठमाडौँ आउँदा राजावादी शक्ति, आम सर्वसाधारण, लगायतले त्रिभुवन विमानस्थलमा जुलुससहित भव्य स्वागत गरेका थिए । त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई बाक्लो भिडसहितको जुलुसले नाराबाजी गर्दै निर्मल निवास सम्म पुर्याएको थियो ।

आन्दोलनको बलमा राजतन्त्र पुनर्स्थापना गर्ने उद्देश्यले नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरेर राजतन्त्रको मागलाई अझ सशक्त बनाउने प्रयास गरियो । चैत्र १५ गते तीनकुने घटनामा : आन्दोलनका शीर्ष नेताहरू पक्राउ परेपछि राजसंस्था पक्षधरहरू आक्रोशित हुँदै आन्दोलन चर्काउने घोषणा गरेका थिए । त्यसपश्चात् बल्खुमा भएको आन्दोलन रक्षात्मक भयो भने जेष्ठ १५ गते शान्तिबाटीकामा भएको आन्दोलनमा राजावादीको उत्साहजनक सहभागिता रह्यो ।

जेष्ठ १८ गते नारायणचौरमा आयोजना गरेको राजावादी आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लियोे । कमल थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई समेत प्रहरीले नियन्त्रणमा राख्यो । कमल थापा, दीपक सिंह लगायतका नेताहरू पक्राउ परेपछि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेष्ठ १९ गते काठमाडौँ उपत्यका बन्दको घोषणा गरे । सुवेदीले सल्लाह नै नगरी उपत्यका बन्दको घोषणा गरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति नै निकालेर उक्त बन्दमा राप्रपाको कुनै पनि संलग्नता सहभागिता नजनाउने घोषणा गरे ।

जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी बनेपछि राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ असन्तुष्ट थिए । त्यसपश्चात् जेष्ठ १८ गतेको घटना सम्मले राजावादी आन्दोलनमा एकता नभएको र मत विभाजित भएको प्रष्ट पार्दछ ।

राजावादीहरू आफ्ना विभिन्न चरणका आन्दोलनको समीक्षा गर्न धुम्बाराहीमा भेला भए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसद समीक्षा बैठकमा सहभागी नभई संसद् बैठकमा गएको भन्दै सहभागीहरूले हल्लाखल्ला गरे । कमल थापाले उक्त बैठकमा आफ्ना विचार राख्न समेत सकेनन् । उक्त बैठकमा आन्दोलनका थप कुनै पनि कार्यक्रम घोषणा हुन सकेनन् । नवराज सुवेदी बैठकबाट निस्किएर विज्ञप्तिमार्फत आन्दोलन विकेन्द्रीकरण गरेर स्थानीय तहसम्म पुर्याउने बताए । उनको विचारमा युवाहरूको समर्थन देखिएन ।

नेतृत्वबिचको लडाइले सुस्ताउँदैै आन्दोलन

२०६२/६३ सालको दोस्रो जनआन्दोलनले राजा ज्ञानेन्द्रलाई सत्ताच्युत ग¥यो । २०६५ सालमा नेपाल गणतन्त्र घोषणा भएको दिनदेखि नै राजसंस्थाको औपचारिक अन्त्य भयो । तर, सामाजिक, धार्मिक र सांस्कृतिक जरा गहिरो भएका कारण, केही वर्गहरू अझै राजसंस्थाको पक्षमा अडिग रहे । यिनै समूहहरूले राजावादी आन्दोलन जन्माए ।

सुरुका वर्षहरूमा यो आन्दोलन मन्द थियो । तर पछिल्ला केही वर्षहरूमा सामाजिक सञ्जालको बृद्धि, बढ्दो राजनीतिक अस्थिरता, र धर्म, जात, राष्ट्र पहिचानका प्रश्नहरू पुनः उठ्न थालेसँगै यो आन्दोलन पुनः सतहमा देखिन थालेको छ । यद्यपि राजावादी समुह र तिनको नेतृत्वबिच आपसी एकता, विश्वास र कार्यदिशामा विचलन आएपछि आरोप प्रत्यारोप बढ्दो छ । राजावादीमा देखिएको यस्तो विचलनले आन्दोलन उठ्ने हो कि शिथिल हुने हो भन्ने प्रश्न जन्माएको छ ।

संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदीको नेतृत्वमा राजावादी घटकबिच असन्तुष्टि थियो । तर पनि गणतन्त्रवादीलाई एकताको सन्देश दिन नै भए पनि आन्दोलन अगाडि बढाइयो । अगाडि बढ्दै जाँदा वर्तमान राजावादी आन्दोलनमा विभिन्न समस्याहरू देखिन्छन्, जसका कारण यो आन्दोलन उद्देश्यप्रति प्रतिबद्ध देखिए तापनि एकीकृत र प्रभावकारी हुन सकेको छैन ।

आन्दोलनमा नवराज सुवेदी, राजेन्द्र लिङ्देन, कमल थापा, दुर्गा प्रसाईँ, स्वागत नेपाल, रवीन्द्र मिश्र अग्र पङ्क्तिमा छन् । तर, उनीहरूबिच आपसी समन्वय, साझा दृष्टिकोण र नेतृत्वको सहमति छैन । परिणामस्वरूप, आन्दोलन ‘असङ्गठित समूहहरूको भिड’ मा सीमित भएको छ । आन्दोलनमा विवाद बढेपछि लिङ्देनले बर्खा लागेकाले अब ठुलो आन्दोलन हुन नसक्ने बताएका छन् ।

व्यक्तिगत प्रचार र लोकप्रियताका लागि आन्दोलन

राजसंस्थाप्रति ग्रामीण क्षेत्रमा केही भावनात्मक समर्थन छ । तर सहरका बौद्धिक वर्ग र नयाँ पुस्तामा यो व्यवस्थाप्रति आकर्षण छैन । गणतन्त्रका नेताहरू भ्रष्ट हुँदै जानु, चुनाव जितेका नेताहरूले जनभावना अनुरूप काम नगर्नु, नेतामा विलासिता र आत्मकेन्द्रीत भवना हावी हुनु जस्ता कारणले आम सर्बसाधारणमा निराशा ल्याएको छ । राजसंस्थामा देखिएको भिड राजसंस्थाप्रति समर्थन नभएर नेताहरूप्रतिको वितृष्णा र आक्रोश हो भनेर पनि अर्को अर्थमा बुझ्न सकिन्छ । पछिल्लो समय राजावादीमा देखिएको विचलनले लोकतान्त्रिक प्रणाली र गणतन्त्र जनस्तरमा बलियो हुँदै गएको समेत पुष्टि गर्दछ ।

आन्दोलन सामाजिक सञ्जालमा सक्रिय देखिन्छ । तर, सडकमा त्यो ऊर्जा देखिँदैन । टिकटक, फेसबुक, युट्युब जस्ता प्लेटफर्ममा भावनात्मक भाषण र राजा–राज्यको महिमा व्याख्यान प्रसार देख्न सकिन्छ । तर राजावादीबाट जनताले उनीहरूको नीति तथा कार्यक्रम बुझ्न पाएका छैनन् ।

राजावादी आन्दोलनमा एकै ठाउँमा हिन्दू राष्ट्रवादी, संवैधानिक राजतन्त्र पक्षधर, र पूर्ण राजसंस्था बहाली चाहनेहरू मिसिएका छन् । साझा वैचारिक फ्रेमवर्कको अभावले आन्दोलनलाई दिशाहीन बनाएको छ । यहाँ हिन्दू राष्ट्र चाहने तर राजसंस्था नचाहने, संवैधानिक राजतन्त्र चाहने तर पूर्ण राजसंस्था नचाहनेहरू आन्दोलनमा देखिएका छन् ।

केही नेताहरूले आन्दोलनलाई व्यक्तिगत प्रचार र लोकप्रियताको माध्यम बनाइरहेको देखिन्छ । अर्कोतर्फ, कुनै बलियो राजनीतिक पार्टीमार्फत सङ्गठन निर्माणको प्रयास नगरेका कारण आन्दोलन वैचारिक ’फ्ल्यास मब’ मा सीमित छ । आन्दोलनले नेपाली जनताको प्राथमिक आवश्यकताजस्तै रोजगारी, शिक्षा, स्वास्थ्य, भ्रष्टाचार आदि विषयमा विमर्श गर्न सकेको छैन । यो जनजीवनभन्दा अलग, केवल भावनामा आधारित जस्तो देखिन्छ ।

राजावादी आन्दोलन सुधारका पक्ष

राजावादी आन्दोलनले कुन प्रकारको राजतन्त्र चाहन्छ, त्यसको स्पष्ट व्याख्या र तर्कसङ्गत आधार प्रस्तुत गर्नुपर्छ । व्यक्तिगत प्रतिस्पर्धा अन्त्य गरी संस्थागत नेतृत्व विकास गर्नुपर्छ । यदि सम्भव भए, एक राजनीतिक पार्टीको रूपमै सङ्गठित हुनु आवश्यक छ ।

राजसंस्थालाई केवल पहाडी उच्च जातिको संस्था बनाउने सोच त्यागी, सबै जात–धर्म, लिङ्ग, वर्गलाई समेट्ने दृष्टिकोणमा जानु आवश्यक छ । राजावादी आन्दोलन गणतान्त्रिक प्रणालीसँग प्रतिस्पर्धा गर्न सक्ने छ भने मात्र, यदि त्यो आन्दोलन लोकतान्त्रिक विधिबाटै जनता र देशका लागि लाभदायक विकल्प प्रस्तुत गर्न सफल हुन्छ ।

“छिन्नभिन्न राजावादी आन्दोलन“ केवल शाब्दिक आरोप होइन, यो एउटा यथार्थ हो जसले नेपालमा वैकल्पिक शासन व्यवस्थाको प्रस्ताव गर्दै आएको आन्दोलनको कमजोरीलाई उजागर गर्छ । नेतृत्व विहीनता, वैचारिक अस्पष्टता, सङ्गठनको अभाव, र यथार्थपरक कार्यक्रमको अभावले गर्दा यो आन्दोलन जनस्तरसम्म पुग्न असफल भएको छ ।

वि.सं.२०८२ जेठ २६ सोमवार १६:५८ मा प्रकाशित

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...