back

देवचुली नगरपालिकाको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ

वि.सं.२०८२ असार ९ सोमवार

2K 

shares
IME Limited
NTC AD

नवलपुर जिल्लाको देवचुली नगरपालिकाले आगाामी आर्थिक वर्ष २०८२्/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । सोमबार एक समारोहका बिच नगर प्रमुख हरि प्रसाद न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् भने उपप्रमुख पार्वता तिवारीले बजेट सार्बजनिक गरेकी हुन् ।

नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्‌ग, कृषि, पशु, सहकारी क्षेत्र, उद्योग तथा व्यापार व्यवसाय, भू-संरक्षण तथा भू-उपयोग, पर्यापर्यटन, श्रम तथा रोजगार, राजस्व, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण विषयलाइ समेटेर नीति तथा कार्यक्रम बनाएकाे छ ।

यस्तो छ देवचुली नगरपालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम

नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरसभा सदस्यज्यूहरु,
देवचुली नगरपालिकाको सोह्रौँ नगरसभामा हार्दिक स्वागत गर्न चाहान्छु ।

देवचुली नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ।यस अवसरमा नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता र लोकतन्त्र प्राप्तिको क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु।देवचुलीको समृद्धिमा योगदान पुर्‍याउनु हुने सम्पूर्ण व्यक्तित्वहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

देवचुली नगरपालिका नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीचमा समन्वय, सहकार्य र सह-अस्तित्वको सिद्धान्तलाई आत्मसात गर्दै संविधानको कार्यान्वयन, सङ्‌घीयता, सबलिकरण, आर्थिक सामाजिक रुपान्तरण सहित समतामूलक समाज निर्माण तथा दिगो विकासका लक्ष्य प्राप्तीमा प्रतिवद्ध छ।

नेपालको संविधानले व्यवस्था गरेबमोजिम स्थानीय तहको दोस्रो निर्वाचन पश्‍चात् हामी जनप्रतिनिधिहरुले कार्य जिम्मेवारी बहन गरेको तीन वर्ष व्यतित भएको छ।सो अवधिमा नगरबासीको  आशा र भरोसा जगाउँदै सुख र समृद्धिका लागि प्रतिवद्ध रही आफ्ना नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको विदितै छ।

नगरसभा सदस्यज्यूहरु,

नेपालको संविधान, स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४, अन्य प्रचलित कानून, नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त मार्ग निर्देशन, नीति, आवधिक योजना र दिगो विकासका लक्ष्यहरु तथा यस नगरपालिकाको नगरसभा र नगरकार्यपालिकाले स्वीकृत गरेका ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड र नीतिगत निर्णयहरु तथा देवचुली नगरपालिकाको विकासको मौजुदा अवस्था, स्रोत साधन र जनभावनालाई आत्मसात गरेर विभिन्न क्षेत्रबाट राय सुझाव समेत प्राप्त गरी यो नीति तथा कार्यक्रम तयार गरिएको छ।

उपलब्ध सिमित स्रोत र साधनको विवेकपूर्ण तथा उच्चतम परिचालन गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिँदै समग्र नगरको सन्तुलित विकासमा प्राथमिकता दिइएको छ।आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम नगरवासी तथा सबै पेशा व्यवसायमा आवद्ध महानुभावहरुको सहयोग, समन्वय र सहकार्य रहनेमा विश्‍वास लिएको छु।

नगर सभाका सदस्यज्यूहरु, अब म नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम पेश गर्दछु ।

  • देवचुली नगरपालिकाको नेतृत्व र सामुदायिक प्राकृतिक चिकित्सालय समन्वयमा प्राकृतिक चिकित्सा र नागरिक आरोग्य महाअभियान कार्यक्रम गण्डकी प्रदेश लगायत क्रमशः सबै प्रदेश र स्थानीय तहमा सञ्‍चालन गर्ने नीति लिइनेछ।
  • शिक्षालाई सिप, सिपलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजार सँग जोड्ने कार्यक्रमहरुलाई विशेष जोड दिइनेछ।
  • गरिब घर परिवार पहिचानबाट पहिचान गरिएका घरपरिवारहरुको जीवनस्तर सुधारका लागि मेयरसँग गरिब घरपरिवार कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • झोलाविहिन शुक्रवार तथा विद्यालय करेसाबारी कार्यक्रम, व्यवहारिक सीप विकास, फोहोरमैला व्यवस्थापन लगायतका प्रयोगात्मक सिकाई एवम् विद्यार्थीहरुलाई श्रमप्रति आकर्षित गर्ने कार्यलाई विशेष जोड दिइनेछ।
  • शिक्षालाई सिपसँग जोड्न विद्यार्थी सिपमेला, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि “कृषि मेला तथा श्रमिक र रोजगारदाताबीचको अवसर एवम् आवश्यकतालाई जोड्न रोजगार मेला जस्ता मेलाहरुलाई एकिकृत रुपमा सञ्‍चालन गरिनेछ।
  • आधारभूत तह (१-५ कक्षा) लाई आगामी शैक्षिक सत्रदेखि क्रमशः अनिवार्य तथा निःशुल्क गरिनेछ।
  • आन्तरिक र वाह्‍य पर्यटकहरुलाई आकर्षिक गर्न देवचुली डाँडामा केवल कार सञ्‍चालनका लागि सम्भाव्यताको अध्ययन गरिनेछ।
  • स्थानीय श्रमिक परिचालन मार्फत सामूहिक खेती प्रणालीको विकास, बाँझो तथा सार्वजनिक जमिनको संरक्षण र सदुपयोग गर्न “कृषिमा नगर श्रम कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • बालमैत्री स्थानीय तह घोषणाको दिगोपनाका लागि बालमैत्री घोषणाका सूचकहरुको पुनरावलोकन र बाल प्रतिभा पहिचान सम्बन्धी कार्यक्रमहरु सञ्‍चालन गरिनेछ।
  • नेपाल सरकारको नीति सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा एवम् कार्यान्वयन का लागि प्रतिवद्ध रहदैं सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देवचुली नगर बनाउने नीति लिइनेछ।
  • नेपाल सरकार र चिनिया सरकारबीच भएको “राँगाको मासु निर्यात” गर्ने सम्झौतालाई टेवा पुग्ने गरी कार्यक्रम सञ्‍चालन गर्ने नीति लिइनेछ।
  • स्थानीय स्तरमा उत्पादन हुने मदिराको गुणस्तर कायम गरी ब्रान्डिङ् पश्‍चात् बजारीकरण गर्ने नीति लिइनेछ।
  • राष्ट्रिय निकुञ्‍जको मध्यवर्ती क्षेत्रका बासिन्दालाई परेका समस्या, प्राकृतिक र नदीजन्य पदार्थको उपयोग लगायतका विषयहरु सम्बोधन हुने गरी सो सँग सम्बन्धित कानुन संशोधनका लागि नेपाल सरकार समक्ष अनुरोध सिफारिस लेखि पठाइनेछ।
  • आर्थिक वर्ष २०८२/०८३ को व्यवसाय कर, भूमि कर र सम्पत्ति कर असोज मसान्त भित्र तिर्ने करदातालाई करको १० प्रतिशत छुट दिईने व्यवस्था मिलाइनेछ ।
  • वडाहरुको प्रशासनिक विभाजन र सीमामा पूर्नविचार गरी वडाको संख्या घटाउनेतर्फ विद्यमान कानूनमा भएको व्यवस्था बमोजिम अगाडि बढाईएको “वडा मर्ज” को प्रक्रियालाई आगामी नगरसभा सम्म निर्णय गरी सम्पन्‍न गरिनेछ।
  • नगरपालिकामा सूचना, स्रोत तथा अभिलेख केन्द्र सहितको “पुस्तकालय स्थापना” तथा सञ्‍चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ।
  • श्रम डेस्कको स्थापना गरी अनौपचारिक क्षेत्रका “श्रमिकको तथ्याङ्‌क संकलन र पञ्‍जिकरण” को व्यवस्थापन गर्ने कार्यको सुरुवात गरिनेछ।
  • नगरपालिकामा पूर्वाधारसँग सम्बन्धित योजनाहरुको गुणस्तरलाई यकिन गर्न “पूर्वाधार प्रयोगशाला” स्थापना गरिनेछ।
  • विपद् व्यवस्थापनका लागि “आपतकालिन सञ्‍चालन केन्द्र” निर्माण गरी आवश्यक विपद् उद्धार तथा राहत सामग्रीको व्यवस्थापन गरिनेछ।
  • नगरभित्रका जोखिमयुक्त स्थानहरुमा सि.सि. क्यामेरा जडान गरी नगरको शान्ति सुरक्षालाई सुदृढ बनाइनेछ।
  • देवचुली नगरपालिका वडा नं. २ को पुनर्वासमा बसोबास गरेका बाढी पीडित सुकुम्बासीहरुलाई सम्बन्धित पक्षहरुसँग समन्वय गरी जमिन उपलब्ध गराइनेछ।
  • नगरपालिकाको सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप “उत्कृष्ट कर्मचारी” का रुपमा र नगरको विकास एवम् समृद्धिमा विशेष योगदान पुर्‍याउनुहुने जनप्रतिनिधिलाई सम्मान गरिनेछ।
  • देवचुली डाँडाको पर्यटन विकासका निम्ति आवश्यक पूर्वाधारहरु थप गरी बाइनाकुलर जडान गरिनेछ।
  • चितवन राष्ट्रिय निकुञ्‍ज भित्र रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको शिद्धबाबा थानको संरक्षण र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्‍य पर्यटकका लागि आकर्षणको केन्द्र बनाइनेछ।
  • ऐतिहासिक महत्वको बाह्रकोल-बरचुली सडक निर्माण कार्यलाई निरन्तर रुपमा अगाडी बढाइनेछ।

नगर सभाका सदस्यज्यूहरु, अब म नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि क्षेत्रगत नीति तथा कार्यक्रम पेश गर्दछु ।

सामाजिक विकास क्षेत्र

शिक्षा, युवा तथा खेलकुदः

  • अन्तर्क्रियात्मक इ-लर्निङ सामाग्रीको विकास तथा शिक्षक मेन्टरिङमा आधारित आकर्षक शिक्षण कलामा सघन तालिम को व्यवस्था गरिनेछ।
  • विषयगत शिक्षकको प्रविधि सम्बन्धी ज्ञान, सिप र क्षमता अभिवृद्धिका लागि प्रविधिमैत्री तालिमलाई जोड दिंदै प्रविधियुक्त आधारभूत विद्यालय निर्माण सहित क्रमशः सबै विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिनेछ।
  • शिक्षा सुधार कोषको थप व्यवस्थापन र परिचालन गरिनेछ।
  • विपन्‍न तथा जेहेन्दार विद्यार्थीहरु तथा माध्यमिक तह (कक्षा ११-१२) मा विज्ञान पढ्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्न छात्रवृत्ति कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • सिप सहितको नमुना विद्यालय कार्यक्रम मार्फत शिक्षालाई उत्पादनमुलक बनाउन कृषि, पशुपालन तथा सीपमूलक कृयाकलापमा जोड दिइनेछ।
  • नगरस्तरीय परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।
  • विद्यालयलाई कार्यसम्पादनको आधारमा मूल्याकंन गरी प्रोत्साहन गरिनेछ।
  • स्थानीय उत्पादनमा आधारित विद्यार्थी दिवा खाजा व्यवस्थापन तथा थप कक्षामा दिवा खाजाको लागि साझेदारी गर्ने व्यवस्था मिलाइनेछ।
  • युवा परामर्श तथा पुर्नस्थापना कार्यक्रमसँगै अपाङ्‌मैत्री खेलकुद कार्यक्रममा जोड दिदै युवासँग मेयर कार्यक्रम सञ्‍चालन गरिनेछ ।
  • देवचुलीलाई गण्डकी प्रदेशमा क्रिकेटको नमुना पालिकाको रूपमा विकास गर्न खेलमैदान व्यवस्थापन, खेलाडि संरक्षण र उत्पादनमा जोड दिइनेछ ।
  • सेपाक ताक्रो, व्याटमिन्टन, टेबुल टेनिस, तेक्वान्दो र कबड्डी जस्ता खेलहरूको विकासका लागि कार्ययोजना तयार गरी कार्यक्रम कार्यान्वयनमा जोड दिइनेछ।
  • एक माध्यमिक विद्यालय एक खेल शिक्षक कार्यक्रम क्रमशः लागु गर्दै विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्न विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्‍चालन र खेल शिक्षक प्रशिक्षण कार्यक्रम सञ्‍चालन गर्ने नीति लिइनेछ।

 

स्वास्थ्यः

  • सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरसँगको समन्वय तथा सहकार्यमा मेयर स्वास्थ्य कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • देवचुली नगर अस्पतालको नवनिर्मित भवनबाट आधुनिक प्रयोगशाला, एक्सरे, औषधी, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी व्यवस्थापन सहित २४ सै घन्टा आकस्मिक सेवालाई प्रभावकारी बनाउनुका साथै विशेषज्ञ सहितको स्वास्थ्य सेवा निरन्तर र थप विस्तार गर्ने व्यवस्था मिलाइनेछ।
  • नगरभित्रका ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिक र क वर्गको रातो कार्ड प्राप्त अपाङ्‍गता भएका बिरामीलाई आकस्मिक अवस्थामा भरतपुरसम्म विशेषज्ञ सेवा भएको अस्पतालमा सेवा लिन जानुपर्दा एकतर्फि एम्बुलेन्सको यातायात खर्च उपलब्ध गराइनेछ।
  • देवचुली नगर अस्पतालबाट दिइदैं आएको सर्पदंश र रेबिज रोग विरुद्धको सुई तथा खोप सेवा २४सै घण्टा उपलब्ध हुने व्यवस्था मिलाइनेछ।
  • नगरभित्र सञ्‍चालनमा रहेका सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई अनिवार्य रुपमा दर्ता तथा नविकरण गराई स्वच्छ, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
  • सामुदायिक महिला स्वास्थ्य स्वयम्‌सेविकाहरुबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै नियमित सुविधाहरुको निरन्तरतासँगै अवकाश पश्‍चात् सम्मानजनक बिदाई गरिनेछ।
  • महामारीजन्य सर्ने तथा नसर्ने रोगहरु नियन्त्रणका लागि नियमित स्क्रिनिंग, अनुगमन, सुपरिवेक्षण तथा अभिमुखिकरण गरिनेछ।
  • घरमा शून्य सुत्केरी कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • देवचुली नगरपालिकाको दुर्गम बस्तीबाट बर्थिंग सेन्टरहरुमा भर्ना भई जटिल अवस्थाका कारण रेफर गर्नुपर्ने गर्भवतीहरु र बर्थिंग सेन्टरमा आएर सुत्केरी सेवा लिएका सुत्केरीलाई प्रोत्साहन स्वरूप नगरबाट यातायात खर्चको व्यवस्था गरिनेछ।

 

महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्‌गः

  • लैङ्गिक हिंसा निवारण कोषलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै लैङ्गिक हिंसा र सामाजिक कुरीति विरुद्ध सचेतानमुलक कार्यक्रम तथा महिला अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • महिलाहरुका लागि आवश्यक क्षमता विकास र आर्थिक सशक्तीकरणका लागि सीप विकास कार्यक्रमहरु सञ्‍चालन गरिनेछ।
  • बालबालिकाहरुको नेतृत्व विकासका लागि बालक्लब, वडास्तरिय बाल संजालहरुलाई बालअधिकार, बाल संरक्षण तथा बाल विवाह न्यूनीकरणको लागि कार्यक्रमहरु सञ्‍चालन गरिनेछ।
  • किशोरी सशक्तीकरणका लागि आत्मरक्षा तथा जीवनोपयोगी कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • ज्येष्ठ नागरिकहरुबीच भेटघाट गर्ने अवसर जुटाउनका लागि दिवा सेवा केन्द्र सञ्‍चालनको व्यवस्था मिलाइनेछ।
  • अपाङ्‌गता भएका व्यक्तिहरुको आयआर्जनको लागि मागमा आधारित विऊ पूँजी वितरण गरिनेछ।
  • अपाङ्‌गता भएका र अटिजम भई विशेष स्याहार आवश्यक पर्ने बालबालिकाका लक्षित कार्यक्रमलाई जोड दिइनेछ।
  • बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनको लागि एकीकृतरुपमा कार्यक्रम सञ्‍चालन गर्ने व्यवस्था मिलाइनेछ।
  • लागू पदार्थ दुर्व्यसनीको असरबाट बालबालिका र युवामा परेको नकारात्मक असरलाई कम गर्न मनोविमर्श सेवा मार्फत सचेतना अभिवृद्धि गरिनेछ।

 

आयुर्वेदः

  • स्थानीय स्तरमा उपलब्ध जडिवुटीहरुलाई गुण र उपयोगिताको आधारमा उचित प्रयोग गर्ने व्यवस्था मिलाउने नीति लिइनेछ।
  • पञ्‍चकर्म, पूर्वकर्म (स्नेहन, एकाङ्‌ग स्वेदन, सर्वाङ्ग स्वेदन, वस्ती, नस्य, शिरोधारा) कार्यक्रमलाई थप व्यवस्थित गरी गुणस्तरीय सेवा उपलब्ध गराइनेछ।
  • स्वस्थ जीवनशैलीका लागि योग, ध्यान र सकारात्मक सोच सम्बन्धी प्रशिक्षणको व्यवस्था गरिनेछ।
  • नगर क्षेत्रभित्र बिभिन्न ठाँउमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्‍चालन गर्ने व्यवस्था मिलाइनेछ।

 

कृषि विकासः

  • दीर्घकालीन रूपमा कृषि पेशामा आवद्ध हुन प्रोत्साहनका लागि तथा व्यावसायिक कृषक र पशुपालकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्न किसान पेन्सन कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • बेसार तथा मह उत्पादनमा न्यूनतम मूल्य सुनिश्‍चित गरी उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिनेछ।
  • धान, गहुँ, मकै लगायत खाद्यान्‍न बालीको उत्पादन तथा विस्तारका लागि IPM विधिबाट रोग तथा किरा व्यवस्थापन र जलवायु अनुकूलन केन्द्रित कृषि कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • कृषक समुह निर्माण र विस्तार गरी समूहलाई प्रभावकारी रुपमा सञ्‍चालन गर्न कृषि प्राविधिक परिचालन गरिनेछ।
  • प्राविधिक विद्यालयका विद्यार्थीहरुलाई OJT (On Job Training) मार्फत कृषि अनुसन्धान क्रियाकलापमा परिचालन गरिनेछ।
  • नारायणी नदी किनार क्षेत्रमा बगरखेती र पहाडी क्षेत्रमा रैथाने बालीको विकास गर्दै कृषि पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ।

 

पशु सेवाः

  • पशुपालन व्यवसाय प्रवर्द्धनका लागि निःशुल्क भेटेरीनरी क्लिनिक, निशुल्क औषधी वितरण र कृत्रिम गर्भाधान तथा उन्‍नत नश्‍लसँग प्राकृतिक गर्भाधान मार्फत नश्‍ल सुधार लगायतका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्‍चालन गरिनेछ।
  • पशु स्वास्थ्य प्रयोगशालालाई स्तरोन्‍नति गरी पशुपन्छी रोगको नमुना परीक्षण सेवालाई विस्तार गरिनेछ।
  • लम्पी स्किन लगायतका महामारी रोग विरुद्ध निःशुल्क खोपको व्यवस्था सहित देवचुली नगरपालिकालाई पूर्ण पशुपन्छी खोपयुक्त नगर बनाउने अभियान सञ्‍चालन गरिनेछ।
  • रेविज रोगको बारेमा जनचेतना अभिवृद्धि गर्दै नगरपालिका भित्रका सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण र घरपालुवा तथा सामुदायिक कुकुरहरुलाई रेविज रोग विरुद्ध खोप कार्यक्रम सञ्‍चालनलाई निरन्तरता दिइनेछ।
  • व्यावसायिक गाई भैंसीपालक कृषकहरुलाई कृषि यान्त्रिकरण कार्यक्रम तथा दुध उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • डेरी तथा साईलेज प्रवर्द्धन कार्यक्रम सञ्‍चालन गरिनेछ ।
  • स्वच्छ र स्वस्थ मासु उत्पादनका लागि मासु पसल सुधार कार्यक्रम सञ्‍चालन गरिनेछ।

 

सहकारी क्षेत्रः

  • नगरभित्र सञ्‍चालनमा रहेका सहकारीसँगको समन्वयमा जोखिम कर्जा प्रवाहलाई न्यूनिकरण गर्न कर्जा सूचना केन्द्रलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याईनेछ।
  • नगरपालिका र नगर सहकारी सञ्‍जालको समन्वयमा सहकारी व्यवस्थापन, सहकारी संस्थाहरुको कार्ययोजना निर्माण, सहकारी प्रविधि जस्ता विषयहरूको प्रवर्द्धन कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • सहकारी संस्थाहरूको प्रवर्द्धन र नियमनलाई प्रभावकारी बनाउन नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारसँग समन्वय गरी अनलाइनमा आधारित एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली (COPOMIS) लाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइनेछ।

 

उद्योग तथा  व्यापार व्यवसायः

  • नगरभित्र सञ्‍चालनमा रहेका व्यवसायहरुको जोखिम न्यूनीकरण गर्न व्यावसायिक सुरक्षा कोषलाई निरन्तरता दिइनेछ।
  • उद्यमशिल विकास, व्यवसाय पहिचान र छनौट तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र उद्यममा नयाँ प्रविधिको प्रयोगका लागि लघु उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ।
  • नव-प्रवर्तन तथा स्टार्टअप उद्यम तथा व्यवसायको विकास र प्रर्वद्धनको लागि निजी क्षेत्र सँग आवश्यक समन्वय गरिनेछ।
  • व्यवसाय करको दायरालाई विस्तार गर्न तथा व्यावसायीको जीवनमा दुर्घटनाका कारण आउन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सामुहिक दुर्घटनमा बीमाको व्यवस्था मिलाइनेछ।

 

भू-संरक्षण तथा भू-उपयोगः

  • नगर क्षेत्रका सार्वजनिक जग्गाको संरक्षण, सम्वर्द्धन र उपयोग गर्ने नीतिलाई प्राथमिकतामा राखिनेछ।
  • भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यहरुलाई निरन्तरता दिइनेछ।

 

राजस्वः

  • करदातालाई सहज रुपमा कर बुझाउने वातावरण सृजना गर्न Online प्रणाली मार्फत कर भुक्तानी गर्न मिल्ने गरी सञ्‍चालनमा रहेको व्यवस्थालाई अझ बढी सरल तथा सहज बनाउन Tax Payer Portal सञ्‍चालनमा ल्याई करदातालाई Local Level Revenue Portal मा आवद्ध गरिनेछ।
  • नगरपालिकामा दर्ता नभएका तर आन्तरिक राजस्व कार्यालय, घरेलु तथा पर्यटन उद्योग कार्यालयमा दर्ता भई देवचुली नगरपलिका क्षेत्रभित्र व्यवसाय गर्दै आएका व्यवसयीहरुलाई दर्ता प्रकृयामा आउने व्यवस्था मिलाइनेछ।
  • घरबहाल करमा व्यक्तिगत घरबहाल करको दायरालाई वृद्धि गर्न व्यक्तिगत घरबहाल करको दरमा पुनरावलोकन गरिनेछ।

 

पर्यापर्यटनः

  • देवचुलीको गौरव तथा प्राथमिकतामा रहेको पर्यटकीय स्थल देवचुली डाँडाको सौन्दर्यकरणका लागि पदमार्ग, देवचुली Symbol, Mini Mast light जडान सहित अन्य पूर्वाधारसँग सम्बन्धित कार्यहरुको सम्भाव्यता अध्ययन र पूर्वधार विकासमा जोड दिंदै थप पर्यटन पूर्वधार विकासका लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ।
  • पर्यटनको प्रचुर सम्भावना बोकेको चितवन राष्ट्रिय निकुञ्‍ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने नवलपुर खण्डमा जंगल सफारीको नयाँ रुटको पहिचान, पहिचान भएका रुटको स्तरोन्‍नति तथा प्रचार प्रसार सँगै पूर्वधार निर्माणको लागि नेपाल सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँग आवश्यक समन्वय गरिनेछ।
  • नगरक्षेत्रभित्र बसोबास गर्ने विभिन्‍न जातजाती, समुदायले परम्परादेखि नै मानि आएका रीतिरिवाज, चालचलन, धर्म संस्कृति तथा मेला- महोत्सव तथा भेषभूषालाई सम्वर्द्धन र संरक्षण गर्दै अन्तरिक पर्यटनसँग जोड्ने नीति लिइनेछ।

 

श्रम तथा रोजगारः

  • श्रम बजारको विश्‍लेषण, रोजगारदाता तथा सिप सहितको बेरोजगारको सूची बनाई बेरोजगार र रोजगारदाताबीच सूचना आदान प्रदान गर्न रोजगार सेवा केन्द्रलाई श्रम विनिमयको संरचनागत केन्द्रको रुपमा तयार गरिनेछ।
  • लिङ्‌ग, जातजाती र उत्पत्तिका आधारमा हुनसक्ने भेदभाव विरुद्धको कानुनी सचेतना सहितको सचेतनामुलक कार्यक्रम सञ्‍चालन गरी श्रम गर्ने बानीको वातावरण सृजना गर्ने नीतिलाई जोड दिइनेछ।
  • रोजगार सेवा केन्द्रमार्फत बैदेशिक रोजगारीलाई सुरक्षित,मर्यादित र व्यवस्थित बनाउन बैदेशिक रोजगार सम्बन्धी सूचना, पूर्व अभिमुखीकरण, वित्तीय साक्षरता, श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम सञ्‍चालन गरिनेछ।

 

पूर्वाधार विकासः

  • रोजगारी सृजना हुने र हेभी मेसिनरी उपकरण, औजार प्रयोग नहुने २० लाख रकम सम्मका योजना सञ्‍चालन उपभोक्ता समितिबाट गर्न सकिने तर कठिन प्रकारका हेभी मेसिनरी उपकरण प्रयोग हुने एवम उच्च प्राविधिक ज्ञान, सिप, क्षमता आवश्यक पर्ने योजनाको हकमा बोलपत्रको माध्यमबाट कार्यन्वयन गर्ने नीति लिइनेछ।
  • पूर्वाधार निर्माणमा दिगोपना तथा उपभोक्ताको अपनत्व सुनिश्‍चित गर्नका लागि न्यूनतम १५ प्रतिशत लागत सहभागिता अनिवार्य गराइनेछ।
  • पूर्वाधार निर्माण गर्दा बालमैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री, महिलामैत्री तथा ऊर्जा मैत्री बनाउने नीति लिइनेछ।
  • उपभोक्ता समिति मार्फत सञ्‍चालन हुने ५ लाख भन्दा माथिका सम्पूर्ण आयोजनाहरु निर्माण सम्पन्न भई फरफारक भएपछि दीर्घकालसम्म आयोजनाको सञ्‍चालन तथा मर्मतसम्भार गर्न भुक्तानी गर्दाका बखत २.५ प्रतिशत रकम कट्टा गरी मर्मत सम्भार कोषमा राख्‍ने कार्यलाई निरन्तरता दिई नगरभित्रका जिर्ण भएका सडक लगायतका विविध भौतिक संरचनाहरुको पूर्वाधार विकास समितिको सिफारिसमा कोषबाट मर्मत सम्भार गर्ने व्यवस्था मिलाइनेछ।
  • उपभोक्ता समिति मार्फत सञ्‍चालन हुने १० लाख र सो भन्दा माथिका आयोजनाहरु निर्माण सम्पन्‍न भई फरफारक भएपछि मर्मत सम्भार वापत २.५ प्रतिशत र धरौटी वापत ३ प्रतिशत रकम कट्टा गर्ने र उक्त कार्यको गुणस्तर यकिन गरेर मात्र नियमानुसार धरौटी रकम फुकुवा गर्ने नीति लिइनेछ।
  • नगरको समग्र विकासलाई मार्गदर्शन तथा नगरपालिकाको प्राथमिकताका योजनाहरु यकिन गर्न आयोजना बैंक निर्माण गरी क्रमशः कार्यान्वयन गर्ने नीति लिइनेछ।साथै पूर्वधार विकास समितिको स्थलगत निरीक्षण गरे पश्‍चात् निर्णय सिफारिसका आधारमा विस्तृत परियोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने नीति लिइनेछ।
  • मानव तथा वन्यजन्तु बीचको द्वन्द निवारण गर्ने प्रयोजनका लागि नेपाल सरकारको सहयोगमा तारजाली, मेषजाली, वाल, पोखरी लगायतका भौतिक संरचना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।
  • सडक, नाली लगायतका पूर्वाधार निर्माण गर्दा बिजुलीका पोल, तार र खानेपानी पाईप लाइनलाई व्यवस्थित गर्नका लागि सम्बन्धित पक्षहरुसँगको आपसी समन्वयमा लागत अनुमान तयार गरी कम लगानी र कम क्षति हुने गरी निर्माण कार्य गर्नाका साथै हरित पूर्वाधार निर्माणको समेत सम्भाव्यता अध्ययन गरिनेछ।
  • अति विपन्‍न नागरिकहरुका लागि नेपाल सरकारको सहयोगमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर लगायतका भौतिक संरचना निर्माणका लागि आवश्यक व्यवस्था मिलाइनेछ।
  • सम्बन्धित वडाको लागत साझेदारीमा पुराना मर्ज भएका विद्यालयहरुको उचित मर्मत-सम्भार एवम् व्यवस्थापन गरी कर्मचारी आवास भवन निर्माण कार्य अगाडी बढाइनेछ।
  • नगरपालिकामा पूर्वाधारसँग सम्बन्धित योजनाहरुको गुणस्तरलाई यकिन गर्न पूर्वाधार प्रयोगशाला स्थापना गरी २ लाख भन्दा बढी रकमका योजनाको हकमा लागत अनुमानमा नै ल्याव टेस्ट अनिवार्य गर्ने व्यवस्था मिलाइनेछ।अन्य ल्याब टेस्टका लागि सर्वसुलभ दररेटमा निर्माण सामाग्री परीक्षणका लागि सुविधा सम्पन्‍न ल्याब उपकरण भएका प्राविधिक क्याम्पसहरुसँग समझदारी (MOU) गरिनेछ।
  • सवारी साधन गुड्ने सडकमा मोज्याक टाईल प्रयोग गर्दा भारवहन क्षमता अनुसारको मोजाक टाईल Nepal Standard (NS, M35 Compressive Strength) प्रयोग गर्ने नीति लिइनेछ।
  • भौतिक संरचनालाई दिगो बनाउन तथा स्थानीय स्रोत र साधनलाई समेत समुचित प्रयोग गर्न Pre-Cast Concrete structure बनाउने नीति लिइनेछ।
  • नगरक्षेत्र भित्र रहेका ६ मिटर भन्दा कम चौडाईका बाटोहरुमा राष्ट्रिय नीति र निर्देशन बमोजिम मापदण्ड पालना गर्ने स्थानीय सहमती र प्रतिवद्धता प्राप्त भए पश्‍चात् मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ।
  • देवचुली नगरपालिकाको भवन निर्माण र ऊर्जा प्रभावकारी निर्देशिका बमोजिम भवनहरुमा ऊर्जा खपत कम हुने गरी ऊर्जा प्रभावकारी (Energy Efficient building) र जलवायु अनकुलन भवनहरुको संरचना निर्माणमा प्रोत्साहन गरिनेछ।
  • आर्थिक वर्ष २०८२/८३ देखि घर नक्सा अभिलेखिकरण कार्यलाई पूर्ण रुपमा बन्द गरी आगामी दिनमा नगरपालिका भित्र कुनै पनि भौतिक संरचना निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरी संरचना निर्माण गर्ने कार्यलाई कडाईका साथ लागु गरिनेछ।
  • जग्गा विकास सम्बन्धी कार्यविधि संशोधन गरी जग्गा प्लानिङ तथा खण्डिकरण कार्यलाई बैज्ञानिक बनाई व्यवस्थित बस्ती विकास गरिनेछ।
  • निजी तथा सामुदायिक र सार्वजनिक भवनहरुले राष्ट्रिय राजमार्गको क्षेत्रमा भवन निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङ्‌ राखी नक्सा पेस गरेमा विशेष छुट दिने व्यवस्था मिलाइनेछ।
  • नगरभित्र रहेका सिकर्मी, डकर्मी तथा निर्माण व्यवसायीलाई भूकम्प प्रतिरोधि घर निर्माण सम्बन्धी अभिमुखिकरण तथा तालिम सञ्‍चालन गरिनेछ।
  • योजना सञ्चालन कार्यविधि २०८२ तयार गरी वार्षिक योजना सञ्चालन कार्यतालिका बमोजिम चैत्र मसान्त भित्र सम्पूर्ण योजनाहरु सम्पन्‍न/फरफारक गर्ने नीति लिइनेछ।
  • देवचुली नगरपालिकाको स्रोतबाट बनेका सरकारी तथा सामुदायिक भवनहरुको Structural Health Assessment गरी आवश्यकता बमोजिम प्रबलिकरण गरिनेछ।

 

वातावरण तथा विपद् व्यवस्थापन

  • हाल संचालनमा रहेको अल्पकालिन फोहरमैला व्यवस्थापन केन्द्रलाई थप व्यवस्थित बनाई दिगो रुपमा फोहरमैला व्यवस्थापन गर्नका लागि आवश्यक जग्गा, विधि र स्रोतको व्यवस्थापनलाई प्राथमिकतामा राखी टुंगोमा पुर्‍याइनेछ।
  • फोहरमैला व्यवस्थापनका लागि टोल विकास समिति मार्फत् “स्रोतमै फोहर छुट्ट्याउँ र आफ्नो फोहर आफै व्यवस्थापन गर्न कोशिस गरौं” अभियान सञ्‍चालन गरिनेछ।
  • फोहरमैला संकलनलाई थप व्यवस्थित हुने गरी स्रोतमै कुहिने र नकुहिने फोहरको वर्गीकरणका लागि विशेष गरी बजार क्षेत्रमा नमूनाका रुपमा पोली व्याग (बोरा) वितरण कार्यको सुरुवात गरिनेछ।
  • प्लाष्टिक झोलाको प्रयोग कम गर्न र वातावरणमैत्री झोला प्रयोगमा प्रोत्साहित गर्न मागका आधारमा टोल विकास संस्था मार्फत् वातावरणमैत्री झोला वितरणको व्यवस्था मिलाइनेछ।
  • पूर्ण सरसफाई युक्त टोल र वडा घोषणाको कार्ययोजना तयार गरी नगरपालिकालाई पूर्ण सरसफाई उन्मूख नगरपालिका बनाउन थालनी गरिनेछ।
  • सिमसार तथा जलाधार क्षेत्र संरक्षण एवम् व्यवस्थापन गर्न र पहिरो रोकथाममा लागी बायो-ईन्जिनियरिङलाई प्राथमिकतामा राखी “भेटिवर” घाँस रोप्ने कार्यको पाईलटिङ् गरिनेछ।
  • जमिन मुनि रहेको पानीको सतह घट्न नदिन, सतही सिंचाई प्रणालीका कुलो/नहरका लागि थप पानीको वैकल्पिक स्रोतका लागि चुरे घाँटीमा प्राकृतिक पुनर्भरण पोखरीको निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यका लागि आवश्यक बजेटको व्यवस्थाका लागि पहल गरिनेछ।
  • नगरपालिकामा हुने विकास निर्माणका हरेक कार्यक्रम र योजनाहरु सञ्‍चालन गर्दा वातावरणमैत्री तवरले सम्पादन गर्दै विपद् न्यूनिकरण एवम् व्यवस्थापनको पक्षलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिनेछ।
  • निजी जग्गा व्यवस्थापन गरी कृषियोग्य बनाउने प्रयोजनका लागि व्यवस्थित र सरल प्रक्रिया अवलम्बन गरी वातावरण संरक्षण ऐन, २०७६ र ऐ. नियमावली, २०७७ बमोजिम व्यावसायिक प्रयोजनका लागि “प्राविधिक प्रतिवेदन” र “प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन” लाई महत्वका साथ वार्षिक कार्यतालिका बनाई कार्यान्वयनमा लगिनेछ।
  • स्थानीय अनुकूलन कार्ययोजना, जलवायु अनुकूलन योजना, स्थानीय विपद् कोष संचालन कार्यविधि लगायत आवश्यक कार्यविधि निर्माण/संशोधन एवम् कार्ययोजना तर्जुमा गरिनेछ।
  • वास योजना तयार गरी कार्यान्वयनमा लगिनेछ।
  • “एक घर, एक धारा” पूर्ण टोल/वार्ड घोषणा कार्यको सुरुवात गरिनेछ।
  • नगरक्षेत्रभित्र रहेका क्रसर उद्योग, प्रशोधित पानी उत्पादन गर्ने गद्योग लगायत अन्य उद्योग समेत उपभोग गरेका पानीका स्रोतहरुको दर्ता प्रक्रिया अगाडी बढाइने छ।

 

संस्थागत विकासः

  • कर्मचारीहरुको ज्ञान, सीप र क्षमता विकासमा जोड दिई कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र सेवा प्रवाहमा गुणस्तर कायम गर्ने नीति लिइनेछ ।
  • छिमेकी स्थानीय तह बिच साझा सरोकारका विषयहरु पहिचान गरी संयुक्त रुपमा कार्यान्वयनका लागि पहल गरिनेछ।
  • नेपाल सरकार तथा प्रदेश सरकारको साझेदारीमा विभिन्न कार्यक्रममा कार्यरत कर्मचारीहरुको व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ।
  • विषयगत समितिका पदाधिकारी, कर्मचारी, न्यायीक मेलमिलापकर्ता, टोल विकास संस्था, उपभोक्ता समिति लगायतका पदाधिकारीको क्षमता विकास तालिम, अन्तरक्रिया कार्यक्रम तथा असल अभ्यास सिकाई आदानप्रदान जस्ता कार्यक्रमहरु एकीकृत रुपमा सञ्‍चालन गर्ने व्यवस्था मिलाइनेछ।
  • नगरसभा सदस्यहरुका लागि क्षमता विकास कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • नगरपालिकाको सिमानामा पर्ने लोकाहा खोला र झराही खोलामा नगरको पहिचान झल्किने सूचना वोर्ड राख्‍ने व्यवस्था मिलाइनेछ।

 

सुशासनः

  • नेपालको संविधान र स्थानीय सरकार सञ्‍चालन ऐन,२०७४ ले गरेको व्यवस्था बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार कार्यान्वयनका लागि आवश्यक ऐन, कानूनहरु निर्माण गर्दै निर्मित कानूनहरुलाई क्रमशः अद्यावधिक गर्दै लगिने छ।
  • स्थानीय सरकार कार्यसम्पादन मूल्याङ्‌कन प्रणाली (LISA ,FRA, LED) लाई थप व्यवस्थित गरिनेछ।
  • सूचनाको हकको संरक्षण र प्रवर्द्धनको लागि आवश्यकता अनुसारका कार्यक्रमहरु सञ्‍चालन गरिनेछ।
  • नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण कार्य र जनताको सुसूचित हुन पाउने अधिकारलाई प्रभावकारी बनाउन मिडिया साझेदारी कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • सेवा प्रवाह र विकास निर्माण कार्यलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम सञ्‍चालन गरिने छ।
  • नगरपालिकाबाट कार्यान्वयन हुने योजना, कार्यक्रमहरुमा वित्तीय जोखिम न्यूनीकरणका लागि निर्माण र खरीद प्रक्रियालाई बढी पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन E-Bidding लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ।

 

सेवा प्रवाहः

  • नगरपालिका कार्यालय र अन्तर्गतका कार्यालयहरुमा कार्यरत करार सेवामा कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्‌कनको आधारमा सेवा करार अवधि थप गरिनेछ ।
  • नगरगान तथा नगर लोगो निर्माण कार्यका लागि प्रस्ताव आह्वान गरी तयार गरिनेछ।
  • करार सेवामा कार्यरत कर्मचारीहरुलाई क्रमशः सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै लगिनेछ।
  • सामाजिक सुरक्षा भत्ता वितरण तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढिकरण र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा वायोमेट्रिक भेरिफिकेशन अनिवार्य गरी नविकरण गर्ने व्यवस्था मिलाइनेछ।
  • प्रत्येक वडा कार्यालयमा स्थापना भई सञ्‍चालनमा रहेका मेलमिलाप केन्द्रहरुलाई स्तरोन्‍नति गरी समितिमा परेका उजुरीहरु मेलमिलापको माध्यमबाट फर्छ्यौट गर्न जोड दिइनेछ।

 

सञ्‍चार तथा सूचना प्रविधिः

  • नगरपालिकाका विकास गतिविधि, सेवा प्रवाह र सामाजिक परिचालन लगायतका नगरपालिकाबाट सम्पादन हुने कार्यहरुलाइ कार्यालयको वेबसाइट मार्फत नियमित रुपमा सार्वजनिक गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ।
  • सबै विद्यालय तथा सार्वजनिक सेवा प्रवाह केन्द्रमा इन्टरनेटको पँहुच सुनिश्‍चित गरिनेछ।
  • इ-हाजिरी प्रणालीलाई बिस्तार गर्दै एकीकृत हाजिरी व्यवस्थापन प्रणालीमा आवद्ध गरिनेछ।

नगर सभा सदस्यज्यूहरु,

अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रमले  नगरवासीको चाहना वमोजिम विकास कार्य अगाडि बढाउन मद्दत गर्नेछ भन्ने विश्वास लिएको छु।नगरको समग्र विकासको लागि योगदान गर्नुहुने राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सञ्‍चार जगत, सुरक्षाकर्मी, नागरिक समाज, गैर सरकारी क्षेत्र तथा सम्पूर्ण नगरवासी प्रति हार्दिक आभार व्यक्त गर्दै प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनको लागि सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद
हरि प्रसाद न्यौपाने
नगर प्रमुख

 

वि.सं.२०८२ असार ९ सोमवार १७:३६ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खा का...

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...