मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
ऊ चियाको कपबाट उठिरहेको बाक्लो बाफलाई दृष्टि गाडेर बसिरहेको थियो। मुहारमा नैराश्यता, आँखामा सन्नाटा—मानौँ समय आफैँ आएर उसको छेउमा थकित भएर बसेको हो।
बजारको भीडभाडबाट अलि टाढा, पुरानो चिया पसल । पसलको भित्तामा झुण्डिएको रेडियो अचानक चर्र चर्र गर्दै बन्द भयो। पसले दाइले रेडियोमा हल्का धापमार्दै भने–
“पुरानो भयो सर, कहिले बोल्छ, कहिले चुप लाग्छ।”
ऊ हल्का मुस्कुरायो र सोच्न थाल्यो –
‘जीवन पनि त्यस्तै हो त ? कहिले अर्थपूर्ण आवाज, कहिले अनायासका मौनता।’
चिया पिउँदै उसले बाहिर सडकमा हिँडिरहेका मानिसहरूलाई हेर्यो ।
हरेकको हतार, हरेकको गन्तव्य । धेरैको आँखामा गन्तव्यभन्दा पनि थकान ज्यादा । फेरि सोच्यो–
’मानिसहरू कसरी यति धेरै कुरा बोकेर हिड्छन्? थकान, आशा, चिन्ता, सपना… सबै एउटै छातीमा।’
अचानक एउटा सानो केटा पसलमा छिर्यो । उसका हातमा च्यातिएको चङ्गा थियो।
“दाइ, यसलाई उडाउन मिल्छ?” उसले पसले दाइसँग सोध्यो ।
पसलका दाइ हाँसे र जवाफ दिए– “च्यातिए पनि उड्छ, तर जबरजस्ती हैन, मनले उडाउन खोज्यौ भने।”
सानो केटा दङ्ग हुँदै चङ्गा च्यापेर बाहिर दौडी हाल्यो । त्यो दृश्य उसको मनमा अनौठो गरी कैद भयो–
’केहीका पखेटा भाचिन्छ, र पनि उड्छन् ।’
चिया सकियो । रेडियो अझै चुप थियो तर उसको अन्तर्मनले फलाकिरह्यो –
‘उड्न नचाहने त चङ्गा हैन, तिमी स्वयम् हौ ।’
वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:०१ मा प्रकाशित




























