back
CTIZAN AD

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो

वि.सं.२०८२ मंसिर २३ मंगलवार

303 

shares

काठमाडौँ । सुख दुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पतीले दुई छोराहरूलाई सिठोपिठो ख्वाएरै भए पनि पढाइरहेका थिए ।

दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पती लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाउनु थियो ।

“जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र”, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भनिन्, “त्यही दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो । त्यसयता केही सोच्नै सकिरहेकी छुइन ।”

दिलनारायण डकर्मीको रूपमा मजदुरी गर्थे । छोराहरू निशान र सोहन कोठा नजिकैको श्री शान्ति विद्याश्रममा पढ्थे । गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाएकी थिइन् । सानै भए पनि श्रीमतीलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि बिस्तारै फुल्दो थियो ।

गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन । काम नभएकाले घरमै थिए। छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिए । त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिए । श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उनले छोराहरूलाई खाना खुवाएर विद्यालय पु¥याए ।

बानेश्वरमा जेन जेडले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो । आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर “छोराहरूलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु”, भनिन ।

छोराहरू स्कुलमै रहेकाले जाने कुरै भएन । बरु उल्टै प्रदर्शनीमा सामेल हुन दिलनारायण नयाँ बानेश्वर पुगे । ठिक त्यही बेला प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको थियो । गोली चल्यो । सोही क्रममा दिलनारायणलाई पनि प्रहरीले चलाएको गोली घाँटीमा लाग्यो । जुन गोली उनको कुम हुँदै बाहिरियो । दिलनारायण त्यहीँ ढले ।

एक्कासि मध्यान्ह ३ बजे तिर श्रीमानकै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो । अनि उनी आत्तिँदै अस्पताल पुगिन । त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उनको पनि शव रहेछ । उनले श्रीमानको शव हेर्न सकिनन् । “त्यसपछि म आफैँ बेहोसझैँ भएछु”, उनले भनिन्, “मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ ।”

मजदुरी गरे पनि दिलनारायण राजनीतिक रूपमा सचेत थिए । ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सशस्त्र युद्धमा जनसेनाका रूपमा जनयुद्धमा होमिएका उनी विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान जाएका थिए ।

बुद्धिमाया पनि भैरहवा–सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रूपमा ओमान पुगेकी थिइन् । त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिलनारायणको चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो ।

होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिलनारायणप्रति आकर्षित भइन् । अनि झागिँदै गएको प्रेमसम्बन्धीलाई उनीहरूले बिहेमा परिणत गर्ने निधो गरे । दुवै जना नेपाल फर्किए । काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबीच विवाह भयो । दुई छोरा जन्मिए ।

गाउँको अन्नपातले वर्ष दिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरू काठमाडौँ सहर पसेका थिए । तर आफूसँगै बालबच्चाको भविष्य खोज्दै सहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाए ।

आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिन्थे । देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने सहिद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो ।

बुद्धिमाया भक्कानिँदै भन्छिन्, “हरेक पलपल उहाँको याद आउँछ । घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो । त्यो दिन पनि लुगा धुनुभएको रहेछ ।”

अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उनले भनिन्, “देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस् ।” ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो ।

सहिद भएकै दिन नयाँ जुत्ता किनेर ल्याएका दिलनारायणलाई उनका छोरा सोहनले बिर्सने कुरै भएन । “राम्रोसँग पढ, डाक्टर हुनुपर्छ”, भनेर बुवाले भन्नुभएको वाक्य अझै सोहनको कानमा गुन्जिरहेको छ ।

दिलनारायणलाई सम्झँदै दाजु विद्या सागर भन्छन्, “च्यासलमा पछिल्लो समय डकर्मीको काम गथ्र्यो, साहसिलो र निडर स्वभाव भएकाले संकटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो ।”

जेनजेड आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा सहादत गरेका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । सहिद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख र काजक्रिया बापतको रकम दिलमायाले प्राप्त गरेकी छिन् । उक्त रकम मात्र सहिद परिवारका लागि पर्याप्त होइन । सहिदका सपना पुरा गर्दै दिलनारायणजस्तै सहिद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ ।

वि.सं.२०८२ मंसिर २३ मंगलवार १६:५२ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...