काठमाडौं । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध भएका छन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित आफ्नै निवासमा आयोजित भेटघाटका क्रममा डा. परियारलाई पार्टीमा स्वागत गरेका हुन्।
गत ५ पुसमा बुटवलमा आयोजित कार्यक्रममा आयोजकप्रति अनुचित व्यवहार भएको भन्दै पार्टी अध्यक्ष साम्पाङले उपाध्यक्ष परियारमाथि कारबाही गरेको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले डा. परियारजस्तो बौद्धिक तथा प्राज्ञिक व्यक्तित्वलाई नेकपामा स्वागत गर्न पाउनु खुशीको विषय भएको उल्लेख गरे।
यस अवसरमा डा. परियारले जनयुद्धदेखि गणतन्त्र स्थापनासम्म प्रचण्डले खेलेको भूमिकाबाट आफू प्रेरित भएको बताए। नेकपामा आबद्ध भएपछि दलित मुक्ति आन्दोलनलाई नयाँ चरणमा पुर्याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
वि.सं.२०८२ पुस ११ शुक्रवार ११:१६ मा प्रकाशित




























