back

कविता : मेरो तस्बिर किन खिचिँदैन ?

वि.सं.२०८२ माघ १७ शनिवार

939 

shares

शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौं

आफ्नै पथ बाट,
सहयात्री भनिनेहरू बाट,
“म हुँ” भनेर चिनाउने
परिचित अनुहारहरू बाट नै
मेरो तस्बिर खिचिँदैन।

मञ्चभरि दीपप्रज्वलनको
तेजोमय आभा छ,
पुष्प मालिकाको सुरभि
संस्कारझैँ वातावरणमा विलीन छ।
फ्ल्यासहरू नवयुगका यज्ञकुण्डमा
आहुति अर्पण गरिरहेछन्।
तर त्यो यज्ञमा मेरो आकृति
मिथ्याभास ठहरिन्छ।
केही भाव विन्यास त्यहाँ हुँदैन
त्यसैले मेरो तस्बिर खिचिँदैन।

सायद— मेरो मुखमण्डलमा
रजतिम प्रभा छैन,
अधरमा रागात्मक लेपन छैन,
दृष्टिमा विज्ञापनले अभ्यास
गराएको कृत्रिम स्मितको
अनुशासन छैन।
त्यसैले मेरो तस्बिर खिचिँदैन।

म त— प्रकृतिको छायाँमा
हुर्किएको अलंकार विहीन अक्षर हुँ,
न चकाचौंधको व्याकरण जान्दछु,
न दीप्तिको छन्द
क्यामेराका नेत्रहरू
आज फेरि माथि–माथि उड्छन्
जसरी राजहंसहरू दलदली
सत्यमा अवतरण गर्न हिच्किचाउँछन्।
तर कैफियतमा हस्ताक्षर गर्दैनन्
त्यसैले मेरो तस्बिर खिचिँदैन।

म तल उभिएको छु
मञ्चको छाया भागमा,
तालीको कोलाहलको किनारमा,
उपस्थितिको मौन प्रमाण भएर
तर न संवादको घोष छ,
न विस्मृतिको बयान।
त्यहाँ कुनै शंखधार छैन
त्यसैले मेरो तस्बिर खिचिँदैन।

इतिहासका अस्थायी अनुच्छेदहरू
गुफा भित्तामा टाँसिएर बाँच्छन्,
सबै अनुहार सुरक्षित हुँदैनन्,
सबै स्मृति अभिलेख बन्दैनन्
मेरो अस्तित्व रिक्त स्थानको
व्याख्या बन्छ—
न पत्रिकाको पृष्ठमा,
न प्रमाणित अभिलेखमा
त्यहाँ कुनै बोझिलो हस्तक्षेप छैन
त्यसैले मेरो तस्बिर खिचिँदैन

मेरो श्वासको स्पन्दन त छ,
तर नाम उत्कीर्ण गर्ने
कलमले किन मौन व्रत धारण गर्छ?
मेरो पंक्तिमा आइपुग्दा?
सायद सूचीलाई मानव चाहिँदैन,
पहिचानको मुहार चाहिन्छ
तर म मा कुनै नक्कली मुखण्डो छैन
त्यसैले मेरो तस्बिर खिचिँदैन

म न त कुनै सौन्दर्य
सूत्रको निष्कर्ष हुँ,
न प्रवृत्तिको उपसंहार,
न समयले प्रमोट गरेको
चलचित्रको पोस्टर
म त शब्दको श्रम साधक,
भावनाको अनाहत नाद,
भीडभित्र उभिएर पनि अदृश्य
रहने साधारण साक्षी हुँ
त्यहाँ मेरो कुनै परिचय हुँदैन
त्यसैले मेरो तस्बिर खिचिँदैन

म दृश्यको राजनीति जान्दिनँ,
म त केवल शब्द अर्थको साधना गर्छु
पत्थरको मौन बुझ्छु,
फूलको सुरभि भन्दा
काँडाले दिने वेदना शब्दले खोल्छु
तर यी सबैको कुनै गणना हुँदैन।
त्यसैले मेरो तस्बिर खिचिँदैन।

यी फ्ल्यासले नछोएका अनुहारहरूले
एक दिन स्मृतिको ग्रन्थ लेख्नेछन्
र तब— तस्बिर विहीन मेरो उपस्थिति
सबै भन्दा तीक्ष्ण प्रमाण हुनेछ।
किनकि, हे मित्र,
इतिहास सधैँ चम्किला
मुखमण्डलबाट होइन
पर्दा पछाडिका पात्रबाट लेखिन्छ
अनि पो त्यै अन्जान व्यक्ति
ब्रम्हाण्ड र गगन धराको बिचमा
एकदिन एक्लै केवल एक्लै
खरानी भई हावामा विलीन हुन्छ
तब मेरो पनि तस्बिर खिचिन्छ।

वि.सं.२०८२ माघ १७ शनिवार ०८:५७ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गजल

गजल

श्याम माकजू,भक्तपुर फुले पुष्प मनमा जवानी रहन्छ त्यहीँ भित्र घरमा...

कविता : भ्रष्टाचार

कविता : भ्रष्टाचार

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, नुवाकोट नेता छान्न चुनावको लहरमा, जुट्छन् सबै...

कविता : आमा बिनाको घर

कविता : आमा बिनाको घर

घनश्याम पौडेल,पोखरा आमा सन्ततिका निमित्त छत हुन् हावा हुरी छेक्दिने...

कविता : आवाजको खोजीमा

कविता : आवाजको खोजीमा

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर–६, बैतडी एक्लो शासन फूलको...

रागविराग

रागविराग

सुन्दरप्रसाद रिजाल, विराटनगर नानीभित्र बास बसेर परेलीका ओठ चलाउँछौ तिमी।...