१ असार, काठमाडौँ । चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी “चितवनमा २४ घण्टा” योजना ल्याएको छ । असार १ देखि भदौ मसान्त सम्म लागु हुने यस योजना अन्तर्गत पर्यटकले एक रात दुई दिनको प्याकेजमा २४ घण्टा भित्रमै चितवन घुम्न पाउनेछन् । यस प्याकेजमा सहभागी हुनेले काठमाडौ भरतपुर काठमाडौं दोहोरो हवाई यातायात, एअरपोर्ट बाट पिक अप ड्रप, लन्च, डीनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने छन् जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् ।
मुग्लिन नारायणघाट सडक खण्डको निर्माण कार्यले गर्दा चितवनमा पर्यटकको कमी आएको अवस्थामा यो योजना ल्याएको घिमिरेले जानकारी दिँदै भने “हामीले बैकल्पिक मार्ग, विशेषत हवाई मार्ग भएर चितवन आउने पर्यटकहरुलाई लक्षित गरी यो योजना ल्याएका हौ ।” सहुलियत मुल्यमा पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको सबै गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ । यो योजना अन्तर्गत प्रतिव्यक्ति नेपालीले रु १२५००, सार्क मुलुकले भारु १३००० र विदेशीले डलर ४०० तिर्न पर्ने हुन्छ ।
वि.सं.२०७४ असार १ बिहीवार १६:४० मा प्रकाशित





























