नेपाल । ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. ले पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र इटहरी मा रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनमा आएको घोषणा गरेको छ। यससँगै इटहरीमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा भित्रिएको छ।
यो होटल देश बन्धु बस्नेत को स्वामित्वमा विन्धम होटल्स एण्ड रिसोर्ट्स सँगको सहकार्यमा विकास गरिएको हो। इटहरीलाई ट्रान्जिट तथा व्यापारिक केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको सन्दर्भमा होटल सञ्चालनलाई महत्वपूर्ण उपलब्धि मानिएको छ।
होटलमा ८१ वटा सुसज्जित कोठा रहेका छन्। साथै रेष्टुरेन्ट, बार, लाउञ्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुलजस्ता सुविधा उपलब्ध छन्। बैठक, सम्मेलन तथा सामाजिक कार्यक्रमका लागि ब्याङ्क्वेट हल र छुट्टै मिटिङ रुमको व्यवस्था गरिएको छ।
होटलका सञ्चालक बस्नेतले इटहरीमा गुणस्तरीय होटलको माग बढ्दै गएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिने उद्देश्यले यो परियोजना ल्याइएको बताए। यस्तै, विन्धमका युरेसिया क्षेत्रीय मार्केट म्यानेजिङ डाइरेक्टर राहुल माकारियसले इटहरीलाई दक्षिण एसियाका विकासोन्मुख शहरमध्ये एक मान्दै यहाँ विस्तार गर्न पाउँदा खुशी व्यक्त गरे।
होटल सञ्चालनसँगै नेपालमा विन्धम होटल्स एण्ड रिसोर्ट्स को उपस्थिति अझ मजबुत भएको छ। साथै अतिथिहरूले विश्वव्यापी विन्धम रिवार्ड्स कार्यक्रमको सुविधा पनि प्राप्त गर्नेछन्, जसमा १२ करोडभन्दा बढी सदस्य आबद्ध छन्।
यस होटलको आगमनले पूर्वी नेपालको पर्यटन तथा व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
वि.सं.२०८२ चैत ८ आइतवार १२:३४ मा प्रकाशित






























