बिमला चन्द सानू
बैतडी हाल : काठमाडौं
गर्मी याम छ पोल्छ आँत शिर यो पोलिन्छ माटो पनि ,
फालिन्छन् घरबाट आज जनता कस्को भरोसा छ नि ।
होला लाभ विलापले अलिकती भन्छन् कतै मानिस ,
भोको पेट छ ताप भो मनभरी मान्दैन कोहीसित ।१।
भन्छन् जोड मिलान मास्न पहिला नोक्सान के हो कति ,
राम्रो सोच विचार साधन भए होला निकै उन्नति ।
राम्रै छन् जनका विकास पथमा राम्रै थिए योजना ,
गर्ने व्यक्ति नमिल्छ काम हितमा देखिन्छ स्वार्थीपना ।२।
खाने गाँस त मिल्छ काम बलले रोकिन्छ के घाम यो ,
सोझाले अब घिस्छ चप्पलहरू मिल्ला त सम्मानको ।
पाखो भिज्छ मरेर रुन्छ बिरुवा बग्दै जरा जङ्गल ,
यस्तै हालतमा यहाँ छ जनता सारै भए अल्मल ।३।
नौलो रोग न होस् न होस् विजयको उन्माद विस्तारको ,
जोगी आए सबै सबै सकलमा उस्तै न होस् नामको ।
गर्नैपर्छ विकास देश भरमा के काम तोड्ने बनी
साराले अब सोध्छ प्रश्न जनको गर्छौ त आफ्नो भनी ?४।
साँच्चै गर्न सकिन्छ के गरिबका छानो निकालीकन ,
भोकै रात बिहान भो सडकमा आफन्त छैनन् जन ।
अग्ला छन् जति भव्य छन् महल ती छेक्छन् उज्यालो तर ,
सत्ता मग्न छ खोज्छ के अब यहाँ छारो बनाई घर ।५।
छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S
वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:४७ मा प्रकाशित






























