काठमाडौं, । देशभर बर्डफ्लूको प्रभाव कम हुँदै अण्डा उत्पादन र बजार अवस्था सामान्य बन्दै गएपछि अण्डाको फार्म समर्थन बिक्री मूल्य बढाइएको छ।
नेपाल लेयर्स कुखुरापालक संघको २०८३ साउन ५ गते बसेको भौतिक तथा भर्चुअल संयुक्त बैठकले देशभरका अण्डा उत्पादकहरूको राय, परामर्श तथा सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको हो। संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य साउन ६ गतेदेखि लागू भएको छ।
चितवनलाई आधार मानी निर्धारण गरिएको फार्म समर्थन मूल्यअनुसार प्रतिक्रेट एक्सएल अण्डाको मूल्य ५२५ रुपैयाँ, ठूलो अण्डाको ५०० रुपैयाँ, मिडियम अण्डाको ४७० रुपैयाँ र सानो अण्डाको २१०० रुपैयाँ प्रति पेटी कायम गरिएको छ।
संघले उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ सम्म हुन सक्ने जनाएको छ। नयाँ मूल्यअनुसार कारोबार गर्न सम्पूर्ण अण्डा उत्पादक, व्यवसायी तथा सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।
पछिल्ला केही महिनायता बर्डफ्लूका कारण उत्पादन र बजार प्रभावित हुँदा अण्डाको मूल्यमा उतारचढाव देखिएको थियो। अहिले संक्रमणको प्रभाव कम हुँदै बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम हुन थालेपछि उत्पादकहरूको लागत तथा बजार अवस्थालाई मध्यनजर गर्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको संघले जनाएको छ।
उत्पादकहरूले दाना, चल्ला, औषधि तथा अन्य उत्पादन लागत बढिरहेका कारण उचित मूल्य निर्धारण आवश्यक रहेको बताउँदै आएका थिए। नयाँ मूल्यले किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
वि.सं.२०८३ साउन ६ बुधवार ११:१३ मा प्रकाशित






























