काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले आफू गम्भीर आर्थिक संकटमा परेको जनाउँदै विगतमा विभिन्न व्यक्तिलाई सापटी दिएको रकम यथाशीघ्र फिर्ता गरिदिन सार्वजनिक आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा थापाले पछिल्लो एक महिनादेखि आफू बेरोजगार रहेको, परिवार पुत्रशोकबाट गुज्रिरहेको र आर्थिक रूपमा अत्यन्तै कठिन अवस्थामा पुगेको बताएका छन्।
आर्थिक नैतिक र भौतिक रुपमा पनि शिथिल भएको भएको अवस्थामा महिना दिन ३ महिना भनेर लगिएको पैसा वर्षौ वर्ष हुँदा पनि नतिरिएको उनको गुनासो छ । उनले आफूलाई धनी वा ठूलो आर्थिक हैसियत भएको व्यक्ति नभएको उल्लेख गर्दै अहिलेको अवस्थामा आफ्नै खर्च धान्न कठिन भइरहेको बताएका छन्। ूम कोही अरबपति वा करोडपति होइन। बैंकमा ठूलो रकम राखेर बसेको मान्छे पनि होइन। अहिले काम छैन, परिवार पीडामा छ। यस्तो अवस्थामा मैले अरूलाई दिएको पैसा फिर्ता पाउनु मेरो आवश्यकता बनेको छ,ू उनले भने।
थापाका अनुसार पछिल्ला ६–७ वर्षको अवधिमा धेरै व्यक्तिले बाढी–पहिरो, बिरामी आमाबुबाको उपचार, घर निर्माण, विदेश जाने तयारी तथा अन्य व्यक्तिगत समस्याको कारण देखाएर केही महिनाका लागि भन्दै रकम सापटी लगेका थिए। तर, पटक–पटक ताकेता गर्दा पनि अधिकांशले रकम फिर्ता नगरेको उनको गुनासो छ।
उनले आफूले अरूलाई सहयोग गर्नकै लागि कतिपय अवस्थामा आफैंले बैंक तथा चिनेजानेका व्यक्तिसँग ऋण लिएर ब्याज तिर्दै रकम उपलब्ध गराएको दाबी गरेका छन्। ूमैले अरूको समस्या बुझेर सहयोग गरेँ। ऋण लिएर, ब्याज तिरेर पनि सहयोग गरेँ। तर आज म आफैं समस्यामा पर्दा मेरो सहयोगको मूल्य कसैले बुझेन,ू उनले भावुक हुँदै भने।
थापाले पहिरोपीडितलाई सहयोग गर्ने अभियानमा समेत आफूले ठूलो रकम खर्च गरेको उल्लेख गरेका छन्। उनका अनुसार प्रारम्भिक सहयोगपछि थप दुई लाख रुपैयाँ तथा अन्य रकम समेत उपलब्ध गराए पनि तीमध्ये केही रकम लक्षित स्थानसम्म नपुगेको भन्ने जानकारी आफूले पाएको दाबी गरेका छन्। यद्यपि उनले त्यसबारे थप विवरण सार्वजनिक गरेका छैनन्।
उनले आफूले सहयोग गरेका व्यक्तिहरूको सामाजिक प्रतिष्ठाको सम्मान गर्दै हालसम्म कसैको नाम वा तस्बिर सार्वजनिक नगरेको बताए। तर अब पनि रकम फिर्ता नगरे आफू बाध्य भएर प्रमाणसहित विवरण सार्वजनिक गर्न सक्ने चेतावनी दिएका छन्।
ूमलाई ब्याज चाहिएको छैन, एक रुपैयाँ पनि बढी चाहिएको छैन। मैले जति दिएको थिएँ, त्यति मात्रै फिर्ता गरिदिनुस्। तपाईंहरूको इज्जत जोगाउन चाहन्छु, त्यसैले स्वेच्छाले रकम फिर्ता गर्नुहोस्,ू उनले आग्रह गरेका छन्।
हेम थापा अमेरिकामा बस्दै विभिन्न सामाजिक तथा मानवीय अभियानमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनले विगतमा नेपालमा प्राकृतिक विपद्, स्वास्थ्य उपचार, शिक्षा तथा अन्य मानवीय कार्यका लागि व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आएको सार्वजनिक रूपमा उल्लेख हुँदै आएको छ। यसपटक भने आफ्नै आर्थिक अवस्था कमजोर भएपछि उनले आफूले सापटी दिएका रकम फिर्ता गरिदिन सार्वजनिक अपिल गरेका हुन्।
सापटी पैसा नदिए चाँडै नाम पनि सार्वजनिक गरिने धम्किसमेत उनले दिएका छन् ।
वि.सं.२०८३ साउन ८ शुक्रवार १४:१७ मा प्रकाशित






























