back
CTIZAN AD

लगानी बोर्डका परियोजना निष्प्रभावी, वन क्षेत्रको जग्गा प्राप्ति नै प्रमुख समस्या

वि.सं.२०७४ साउन २ सोमवार

762 

shares

lagani-board

२ साउन, काठमाडौँ । लगानी बोर्डले अगाडि बढाएका पाँचवटा जलविद्युत् आयोजनाको कार्याप्रगति सन्तोषजनक नभएको पाइएको छ ।

कुल ५०० मेगावाटमाथिका जलविद्युत् आयोजना निर्माण गर्ने र सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना भएको बोर्डले आफ्नै कार्यप्रगति प्रभावकारी हुन नसकेको स्वीकार गरेको छ ।

बोर्डले माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती, माथिल्लो मस्र्याङ्दी र तामाकोशी तेस्रो जलविद्युत् आयोजनाकोसहजीकरण गरिरहेको छ । तीमध्ये माथिल्लो कर्णाली र अरुण तेस्रोको परियोजना विकास सम्झौता (पिडिए) भएको छ । पश्चिम सेती आयोजनाको प्रारम्भिक काम शुरु भए पनि ठोस प्रगति हुन सकेको छैन ।

माथिल्लो मस्र्याङ्दी र तामाकोशी तेस्रोको प्रारम्भिक कार्यसमेत अगाडि बढ्न सकेको छैन । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जलविद्युत् आयोजनाको हकमा वन क्षेत्रको जग्गा प्राप्ति र मुआब्जा वितरणलगायतका समस्याका कारण परियोजनाको ठोस प्रगति हुन नसकेको जानकारी दिनुभयो ।

माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको साझा समस्याका रुपमा वन क्षेत्रको जग्गा प्रयोग नै देखिएको भन्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले पटकपटक वन मन्त्रालयसँग छलफल गर्दासमेत कुनै निष्कर्षमा पुग्न नसकिएको बताउनुभयो ।

पिडिएमा उल्लेख भएको व्यवस्थाअनुसार सरकारले वन क्षेत्रको जग्गा उपलब्ध गराउन नसकेको भन्दै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले एक वर्ष म्याद थप गर्न बोर्डमा निवेदन दिएको अधिकारीले जानकारी दिनुभयो ।

प्रवद्र्धकले काबु बाहिरको परिस्थिति सिर्जना भएको, विद्युत् खरिद सम्झौता हुन नसकेको र वित्तीय स्रोत जुट्न नसकेको भन्दै पुनः म्याद थप्न पत्राचार गरेको हो ।

बोर्ड र जिएमआरबीच सन् २०१४ मा भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार आगामी असोजसम्म लगानी जुटाउनुपर्ने उल्लेख छ । सो अवधि पनि गत वर्ष थपिएको म्याद हो ।
सरकारले वनको जग्गा उपलब्ध नगराएको र विद्युत् व्यापार सम्झौता विपरीत भारतको विद्युत् नियमन आयोगले कार्यविधि ल्याएका कारण थप जटिलता पैदा भएको प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ छ ।

सम्झौतामा लगानी जुटाउने अवधि दुई वर्ष भए पनि सरकारले गत वर्ष नै एक वर्ष म्याद थप गरेको थियो । थपिएको म्याद सकिन पनि दुई महिनामात्रै बाँकी रहेको छ ।

पछिल्लोपटक वन मन्त्रालयले एउटा रुख काट्दा थप २५ रुख रोप्नुपर्ने कार्यविधि ल्याएको छ । सो कार्यविधिको मारमा अरुण तेस्रोसमेत परेको छ । निजी क्षेत्रको जग्गाको मुआब्जा वितरण भइसके पनि वन क्षेत्रको जग्गा सो आयोजनाले प्राप्त गर्न सकेको छैन ।

वनको जग्गा प्राप्त भए सो आयोजनाले आगामी असोज अन्त्यदेखि निर्माण शुरु गर्ने गरी तयारी गरेको छ । भारत सरकारले रु ९१ अर्ब सो आयोजनाका लागि विनियोजन गरिसकेको छ । भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत् निगमले सो आयोजना निर्माण गर्न लागेको हो । पहुँचमार्ग निर्माणमा समेत समस्या देखिएको छ । कूल २८ किमी लामो पहुँचमार्गमध्ये ४.५ किमीमात्रै बाँकी छ । पहुँचमार्ग प्रभावितले मुआब्जा नपाएको भन्दै विरोध गरिरहेका छन् । समस्या समाधानका लागि बोर्ड र स्थानीय सरोकार भएकाहरुसँग निरन्तर छलफल जारी रहेको र निकास निस्कनेमा विश्वस्त हुनुहुन्छ संखुवासभाका सांसद तारामान गुरुङ ।

सो आयोजनाबाट रु एक खर्ब ५० अर्ब राजस्व, रु ७७ अर्ब आयकर र निःशुल्क विद्युत् २१.९ प्रतिशत प्राप्त हुने व्यवस्था पिडिएमा छ । यस्तै माथिल्लो कर्णालीमा २७ प्रतिशत विद्युत् प्राधिकरण, १० प्रतिशत आइएफसी र ६३ प्रतिशत जिएमआरको स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ । नेपालले १०८ मेगावाट बिजुली र २७ प्रतिशत निःशुल्क शेयर प्राप्त गर्नेछ ।

यस्तै पश्चिम सेतीको प्रमुख प्रवद्र्धक चीनको थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्युइआई र नेपाल विद्युत् प्राधिकरणबीच संयुक्त सम्झौतामा हस्ताक्षर भएको र प्राधिकरणको सञ्चालक समितिको बैठकले सम्झौता अनुमोदन गरेको भए पनि चिनियाँ पक्षबाट हालसम्म अनुमोदन हुन सकेको छैन ।

पछिल्लोपटक चिनियाँ पक्षले आयोजना बहुउद्देश्यीय बनाउनुपर्ने र त्यसो हुँदा आयोजनाको विद्युत् खरिद दर कस्तो रहने भन्ने जिज्ञासा राख्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत यहाँस्थित चिनियाँ दूतावाससँग नियमित सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

समितिको बैठकमा सांसदहरु अमृत बोहोरा, काशीनाथ अधिकारी, जमिन्द्रमान घले, रामहरि सुवेदीलगायतले सधैँ वन क्षेत्रको जग्गाकै कारण जलविद्युत् आयोजना प्रभावित हुनु दुःखद भन्दै सरकारलाई कडा निर्देशन दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसदहरुकै मागअनुसार समितिले वन र वातावरण मन्त्रालयका उच्च सरकारी अधिकारीलाई बोलाएर सो समस्या समाधान गर्ने निर्णय गरेको छ । रासस

वि.सं.२०७४ साउन २ सोमवार १०:५२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...