जापानमा रहेका नेपाली व्यवसायी मृत भेटिएका छन् । जापानमा रेष्टुरेण्ट व्यवसायमा संलग्न रहेका गुल्मीका भिमलाल खरेल जापानको खोला किनारमा मृत फेला परेका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ७ साविकको रुपाकोट ९ दम्कुवा घर भएका खरेलको सोमबार (१७ जुलाई) बिहान खोलामा मृत फेला परेको स्थानीय प्रहरी श्रोतले जनाएको छ ।
जापानको टोकियोमा मिनामीसेन्जु सहरमा फुलवारी रेष्टुरेण्टका चारवटा ब्रान्च सञ्चालन गर्दै आएका खरेल आफ्नै फुलवारी रेष्टुरेण्टबाट अर्को रेष्टुरेण्टतर्फ जादैं गरेको अवस्थामा हराएको उनका दाजु शेषकान्त खरेलले बताएका छन् । उनले भाइको मृत्यु रहस्मय रहेको पनि बताएका छन् । उनले भने, ‘ भाईको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज पनि उनीसंग नभए पछि एक जना ग्राहकको पर्चिबाट शवको पहिचान भएको बताईएको छ । जापानको प्रहरीले सिसीटिभिको माध्यमबाट उनको रहस्यमय मृत्युको अनुसन्धान गरी रहेको जानकारी परिवारजनलाई दिएको छ । यो भन्दा बढि बोल्न सक्ने अवस्थामा छैनौं हामी ।’
२२ वर्ष देखि जापानमा बस्दै आएका खरेल श्रीमती हरिकला, २१ वर्षिय छोरा अर्जुन र ३ छोरीहरु जापानमै रहेका छन् । उनकी आमाको मृत्यु भई सकेको छ भने ९३ वर्षिय उनका पिता यति वेला पुत्र शोकले भावविह्वल रहेका छन् ।
वि.सं.२०७४ साउन ४ बुधवार ०८:१४ मा प्रकाशित



























