९ साउन, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबारदेखि सीधा टेलिफोन सम्पर्क सेवा शुरु गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आइतबार कार्यकालको तीन महिना पुगेका अवसरमा सिधासम्पर्क (हटलाइन) टेलिफोन सेवा १६६००१०००१८ को शुभारम्भ गर्नुभयो ।
अध्यक्ष राणाले उद्योगी, व्यवसायी र सङ्घका सदस्यका सुझाव तथा समस्या एवं अन्य जानकारीको तत्काल समाधान र अभिलेख राख्ने उद्देश्यबाट सीधासम्र्क सेवा सुरु गरेको बताउनुभयो । सिधासम्पर्क सेवा हाल १० बजेदेखि ५ बजेसम्म गर्न सकिन्छ ।
राणा महासङ्घको ५१ औँ महाधिवेशनबाट २०७३ चैत २९ गते अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । राणाले कार्यकालको तीन महिनामा महासङ्घको संस्थागत विकासमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरेको जानकारी दिनुभयो ।
सो अवसरमा महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आयात, निर्यात व्यापार प्रवद्र्धनमा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग र नेपाली श्रमिकको रोजगारका विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का प्रतिनिधिसँग छलफल भएको धारणा राख्नुभयो ।
महासङ्घले हालसालै चीनमा सम्पन्न पुनःनिर्माण र लगानीसम्बन्धी कुन्मिङ् सम्मेलनमा सहभागिता जनाएको थियो । सङ्घले प्रदेश १ र २ मा समृद्ध परियोजना सञ्चालनमा ल्याउने भएको छ । विशेष गरी विदेशबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) साना तथा मझौला व्यवसायमा लगानी गर्न उद्योगी तथा व्यवसायीलाई उत्साही गर्न सो परियोजना सञ्चालनमा ल्याउन लागको सो अवसरमा जानकारी दिइयो ।
वि.सं.२०७४ साउन ९ सोमवार ०३:४२ मा प्रकाशित






























