Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

म्याङ्लुङ–वसन्तपुर सडकखण्डमा पहिरै–पहिरो



२० साउन, तेह्रथुम । वर्षाका कारण भिरालो जमिन भएको पहाडी जिल्ला तेह्रथुमका अधिकांश गाउँ पहिरोको जोखिममा परेका छन् ।

पछिल्ला वर्षहरुमा अनियन्त्रितरुपमा भइरहेको सडक निर्माणका कारण जिल्लाका एक दर्जन भन्दा बढी गाविसमा पहिरोको खतरा बढेको हो । बुधबार राति परेको ठूलो वर्षाका कारण पहिरो खस्दा एक दर्जन बढी परिवार विस्थापित भएका छन् । बिहीबार राति पनि जिल्लामा भारी वर्षा भएको छ ।

पहिरोले घर जोखिममा पारेपछि म्याङ्लुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका इन्द्र सुवेदी, मेनुका तामाङ, मोहन गुरुङ, तारा बस्नेत, रामप्रसाद गौतम र भीमबहादुर लिम्बूको परिवार विस्थपित भएको हो । पहिरोले घर बगाउने, पुर्ने जोखिम भएपछि घर छाडेर छिमेकमा बसिरहेको सुर्केबजारका रामप्रसाद गौतमले बताउनुभयो ।

गएरातिको वर्षापछि जिल्लाका मोराहाङ, श्रीजुङ, आम्बुङ, आङ्दिम, ओयाक्जुङ, वसन्तपुर, दाँगपालगायत गाउँका विभिन्न ठाउँमा पहिरोले स्थानीयवासीलाई त्रसित बनाएको छ । म्याङ्लुङ–वसन्तपुर सडकखण्डको टुक्रे, जिरीखिम्ती, सुर्के, लसुने क्षेत्रका दर्जनौँ ठाउँमा पहिरो खसेको छ ।

विगतमा पहिरोको जोखिममा रहेको पहिचान गरिएका गाउँसहित जथाभावी सडक निर्माण र वर्षाका कारण करिब एक दर्जन भन्दा बढी गाउँमा पहिरोको जोखिम बढेको हो । सडक निर्माणमा स्काभेटरको प्रयोग गर्ने चलन बढेपछि भिरालो जमिन खस्ने, कान्ला खस्नेजस्ता समस्या बढ्दै गएको म्याङ्लुङ नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले बताउनुभयो ।

“सडक निर्माणसँगै आसपासमा घर बनेँ,” उहाँले भन्नुभयो – “सडक नै पक्का भएका छैनन् । सँगै जोडिएर बनेका घरका जग कसरी बलिया होउन् ?” जिरीखिम्ती बजारको लाक्चुम टोलका करिब १५ घर पहिराको जोखिममा परेका उहाँले बताउनुभयो । जिरीखिम्ती–मोराहाङ सडकखण्डका एक दर्जन भन्दा बढी ठाउँमा माथिबाट पहिरो खसेको छ ।

नाली बनिनसकेका सडकमा पहिरो खसेपछि बीच सडकबाटै भल बग्दै किसानका बारीमा पस्ने गरेको छ । त्यही कारण पनि दर्जनौँ ठाउँमा पहिरो गएको मोराहाङका दुर्गाराज लिम्बूले बताउनुभयो । म्याङ्लुङ–सक्रान्ति सडकखण्ड र मध्यपहाडी लोकमार्गको सोही खण्डमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेको छ ।

अन्य एक सयभन्दा बढीको संख्यामा रहेका निर्माणाधीन ग्रामीण सडकले पनि वर्षासँगै खोल्सीको रुप लिएका छन् । सडकै–सडक भएर भल बग्दै गएर गाउँको बस्तीमा खनिँदा बस्ती नै जोखिममा परेका छन् । “सडकमा बग्दै आउँछ, नाली नबनाइएका कारण सडकबाट बगेको पानी गाउँतिर खनिन्छ, अनि गाउँ नै पहिरोको शिकार बन्ने रहेछ,” इवाका नरेन्द्र बानियाँले भन्नुभयो ।

नियन्त्रणका लागि गरिएका प्रयास असफल भएपछि विगतमा जोखिमयुक्त भनिएका गाउँमा समेत थप खतरा बढेको छ । वसन्तपुर र फुलेकमा दशकअघिदेखि वर्षेनी बढ्दै गएर ठूलो आकारका पहिरोले बस्ती तान्ने खतरा बढेको स्थानीयवासीले बताए ।

पहिरोको आकार वर्षेनी बढ्दै जाँदा किसानका खेतीयोग्य जमिनको क्षेत्रफलसमेत घट्दै गएको स्थानीय पदम खड्काले बताउनुभयो । गाउँ पुछारबाट शुरु भएको पहिरो घर छेउ आएपछि फुलेकको चम्फुलाका बासिन्दाको निद्रा हराएको छ । अझ गाउँ गाउँमा सडक निर्माण गर्ने क्रम बढेपछि पहिराको जोखिम बढेको उनीहरुको भनाइ छ ।

“पानी पर्नासाथ गाउँलेको घरै बगाउँला भन्ने डर छ,” लालीगुराँस नगरपालिका–७ का वडाध्यक्ष देवेन्द्र खड्काले भन्नुभयो – “भित्रभित्रै पहिरो पूरै गाउँभरि छिरेको छ ।” गएको पाँच वर्षको अवधिमा पहिराले ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन, जंगल तथा अलैँची बगान बगाएको उहाँले बताउनुभयो ।

रोकथामका लागि गाउँलेले रुखबिरुवा, बाँस तथा मालिंगो रोप्नेदेखि पानी तर्काउनेसम्म गरे पनि प्रभावकारी भएको छैन । पहिरो नियन्त्रणका लागि जिल्ला भू–संरक्षण कार्यालयले पाँच वर्ष लगाएर काम ग¥यो । तर रोकिने छाँटकाँट नदेखेर कार्यालयले काम स्थगन गरेको छ ।

पहिरो ठूलो भएको र कार्यालयमा आउने थोरै बजेटले रोकथामको प्रयास सम्भव नभएको कार्यालयको भनाइ छ । भूमिगत पानी तर्काउन प्रभावित क्षेत्रमा लगाएको पाइप पहिरोले बगाएको छ । गाउँ पुछारको मंसेवा खोलाबाट शुरु भएको पहिरो घरछेउ आइपुगेको स्थानीय यामबहादुर गुरुङले बताउनुभयो ।

खाम्लालुङ, ह्वाकु, इवा, आङ्दिम, चुहानडाँडा र दाँगपा गाविसका दर्जनौँ बस्तीसमेत पहिराको जोखिममा रहेका छन् । “पानी नपर्दा परेन भन्ने हुन्छ, पर्दा पनि गाउँ नै पहिरोले बगाउँला भन्ने डर,” खाम्लालुङका सुमन खापुङले भन्नुभयो । खहरे खोला र खोल्सी आसपास तथा नयाँ बाटो खोलिएका गाउँमा पहिरोको त्रास बढी देखिएको खापुङले बताउनुभयो ।

जिल्लास्थित रेडक्रस, दैवी प्रकोप उद्धार समिति र सम्बन्धित क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका अनुसार १५ वटा गाउँ पहिरोको उच्च जोखिम रहेको छ । यद्यपि जथाभावी सडक निर्माणको क्रम बढेकाले वर्षाको समयमा पहिरो खस्ने क्रम विगतभन्दा बढी देखिएको ह्वाकुका भीष्म डाँगीले बताउनुभयो ।

बर्खायाममा बग्न सक्ने पहिरो र त्यसबाट हुने क्षतिबारे प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक