३२ साउन, नवलपरासी । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालसहितको टोलीले नवलपरासीका बाढी प्रभावित समुदायलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ ।
सो टोलीले जिल्लाको मध्यबिन्दु, अमलटारीलगायतका बाढी प्रभावित समुदायलाई मंगलबार राहत सामग्री वितरण गरेको हो । सो क्षेत्रका करिब २२० बाढी प्रभावित घर समुदायलाई चिउरा, चाउचाउ, बिस्कुट, चिनी र पानीलगायतका राहत सामग्री वितरण गरिएको हो ।
राहत वितरण गरिएपछि बाढी प्रभावितले ढिलै भए पनि सरकारीस्तरबाट राहत सामग्री प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
पूर्व–पश्चिम राजमार्ग आज पनि अवरुद्ध
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आज राति १० बजेसम्मका लागि बन्द गरिएको छ ।
दाउन्नेमा केही दिनअघि सडकको केही भाग भाँसिएको थियो । सो भाँसिएको स्थानलाई मर्मतका लागि स्थानीय प्रशासनले आज राति १० बजेसम्मलाई सवारी आवागमन ठप्प पारेको हो ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी दाउन्ने क्षेत्रमा भाँसिएको सडक मर्मत गर्ने काम हुने हुँदा यातायातका सावारीसाधन सो क्षेत्रमा बन्द हुने जनाएको छ । दाउन्ने सडकखण्ड गत शुक्रबारदेखि नै पटकपटक अवरुद्ध हुँदै आएकोे छ ।