१३ मंसिर, ललितपुर । अर्थराज्यमन्त्री उदयशम्शेर राणाले देशको विकास गर्नेलाई मत हाल्न मतदातासँग आग्रह गर्नुभएको छ ।
प्रजातान्त्रिक धारका सहकारीकर्मीको भेलालाई मंगलबार यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका समयमा मात्र नभएर अन्य समयमा पनि जनताका सेवा गर्न सक्नेलाई मत खसाल्न आग्रह गर्नुभएको हो ।
ललितपुर क्षेत्र नं १ का लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनु भएका नेता राणाले देशको विकास र निर्माण लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले त्यसमा कार्यान्वयनका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अपिल गर्नुभयो ।
देशको आर्थिक विकास र रोजगारीको सिर्जना तथा संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको उहाँको भनाइ थियो ।