back
CTIZAN AD

गुफापोखरी संरक्षणमा जुटे स्थानीयवासी

वि.सं.२०७४ मंसिर २८ बिहीवार

723 

shares

gufapokhari

२८ मंसिर, तेह्रथुम । तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफापोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् ।

पोखरीको अस्तित्व संकटमा पर्दै गएपछि स्थानीयवासीले संरक्षणमा चासो देखाएका हुन् । पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चासो बढेको छ । अवलोकनका लागि आउने आन्तरिक पर्यटकसँग स्थानीयवासीले पोखरीको संरक्षणका लागि राय, सुझाव माग्न थालेका छन् ।

संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित सो पोखरीको संरक्षणका लागि तत्कालीन जिल्ला विकास समितिले छुट्याएको रु पाँच लाखबाट हाल पोखरी परिसरमा घेरबार गरिएको छ । सो रकमले पोखरी परिसरमा ३९० मिटर घेरबार लगाइएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताउनुभयो ।

“अब पानीको स्रोत जुटाउनु छ, स्रोतको पहिचान गर्ने क्रममा छौँ”, उहाँले भन्नुभयो । प्राकृतिकरुपमा बनेको आकर्षक गुफापोखरीमा पर्यटक र नजिकमा बस्ती विकास हुँदै जाँदा फोहर बढ्दो छ । वर्षेनी मौसम परिवर्तन हुँदै पानीको मुहान सुक्दै गएको छ ।

पाँच वर्ष अघिसम्म भरिभराउ हुने सो पोखरीमा अहिले पानीको सतह घटेर आधा भागमा बालुवामात्रै देखिन्छ । पानीको मुहान पहिचान गरेर तत्कालै पोखरीमा पानी बढाउन आफूहरु प्रयत्नशील रहेको अध्यक्ष लिम्बूले बताउनुभयो ।

प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले ९टिएमजे० क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा पर्छ । टिएमजे क्षेत्रको पदमार्ग भएर वर्षेनी हजारौँ पर्यटक ओहोरदोहोर गर्छन् । उक्त क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीको अवलोकन, वसन्त ऋतुमा राताम्मे गुराँसे वन, डाँडाकाँडा र पाखाको दृश्यावलोकनका लागि पर्यटक आउँछन् ।

टिएमजेको सबैभन्दा ठूलो र महत्वपूर्ण पोखरी गुफापोखरी नै हो । पोखरीको छेउमा सानो बस्ती छ । गुफापोखरी नजिकै भएकाले बजारको नाम पनि गुफाबजार राखिएको छ । पर्यटकीयस्थल भएकाले सो बजारमा होटल व्यवसाय सञ्चालन गरी १६ घरधुरी बस्दै आएका छन्् । तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रमा पहिले प्रशस्त हिउँ पर्ने भएकाले पोखरीमा बाह्रै महिना टिलपिल पानी हुन्थ्यो ।

अहिले हिउँ पर्न छाडेकाले पानी सुक्दै गएको चैनपुर नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर श्रेष्ठले बताउनुभयो । पाँच वर्षयता हिउँ कम पर्न थालेको उहाँले बताउनुभयो । “पोखरीभित्रको बालुवा निकाल्ने र चारैतिर घुम्ने तथा हेर्ने ठाउँ बनाउने योजना छ,” उहाँले भन्नुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार पहिले आसपासका २० घरधुरीले त्यही पोखरीको पानी प्रयोग गर्थे । मानिसको चाप बढ्दै जाँदा जंगलसमेत फँडानी भएकाले वृक्षरोपण गर्ने योजना रहेको छ । पोखरी बाहिरपट्टि लालीगुराँस र अन्य विभिन्न फूलका बिरुवा रोपिएको छ । फूलका बिरुवा ठूला भएपछि पोखरी आसपास गुराँससहित आकर्षक फूल फुलाएर ढकमक्क बनाउने योजना रहेको स्थानीयवासी सुनाउँछन् ।

पोखरी नजिकै मेन्छ्यायेम डाँडा छ । डाँडाको पछाडिपट्टि ऐतिहासिक गुफा छ । सोही गुफाको आधारमा पोखरीको नाम पनि गुफापोखरी राखिएको स्थानीयवासी बताउँछन् । सो गुफाको संरक्षण गरी प्रचारप्रसार गर्ने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । सोही गुफासँगै पोखरी र बजारको अस्तित्व जोडिएकाले गुफालाई प्राथमिकतामा राखेर संरक्षण गरी पर्यटकीयस्थल बनाउनुपर्ने स्थानीयवासी धर्के शेर्पा बताउनुहुन्छ ।

“यहाँको गुफा र पोखरीले टिएमजे क्षेत्रकै ऐतिहासिक विशेषता बोकेको छ, यिनै पोखरी र गुफा पर्यटक भुलाउने वस्तु हुन्”, शेर्पा भन्नुहुन्छ, “यिनैलाई संरक्षण नगरे हामी कसरी संरक्षित हुने रु” टिएमजे क्षेत्रका तीनजुरे डाँडा, पाथीभरा र यहाँका उच्च क्षेत्रका बस्ती अवलोकन गर्दै पर्यटक जावतजावत गर्छन् । प्राकृतिक पोखरी, आकर्षक डाँडाकाँडाका कारण टिएमजे पर्यटकीयस्थल बनेको हो ।

कञ्चनजंघा हिमालको आधार शिविर र तमोर नदीमा जलयात्रा गर्ने पर्यटकसमेत यही क्षेत्र भएर यात्रा गर्छन् । ती पर्यटकलाई एक दुई दिन गुफापोखरीमै घुम्न पुग्ने गरी पूर्वाधारको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सकिने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । अहिले यहाँको पदमार्ग भएर तमोरमा जलयात्रा गर्न आउनेको संख्या बढेको छ ।

तेह्रथुमको वसन्तपुरहुँदै गुफापोखरीसम्म सडक पुगिसकेको छ । सो सडकलाई मदन भण्डारी राजमार्गको नामकरण गरी निर्माण गर्ने सरकारी योजना रहेको छ । अहिले निर्माणाधीन सो सडक भएर ताप्लेजुङको दोभानदेखि गुफापोखरी, वसन्तपुरहुँदै धरानसम्म सिधा यातायात सञ्चालन हुन थालेको छ ।

“सडकको ट्र्याक बनेकै छ, अब भरपर्दो सडक बनुञ्जेल यहाँ पर्यटकलाई एक दिन अल्मलिने पूर्वाधार खडा गर्नुपर्ने हाम्रो जिम्मेवारी छ, हामी प्रयत्नरत छौँ”, स्थानीयवासी हरि खनालले भन्नुभयो ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार ११:३१ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...