
मसँग एउटा जात छ
मेरा जिजुले दिएको
मेरो समाजले दिएको
मेरो संस्कारले दिएको
हो हजुर ! मसँग एउटा जात छ
अनि त्यही जातसँग जोडिएका
वितृष्णाका अनेक बात छन् ।
मेरा जिजुबाहरुले
डबकाभरि विशुद्ध निगारको
जीवनरस कचौरामा उचालेर दुई हातले
जडौरी संस्कार पिएर सिलाएको धोती
पण्डित बासँगै बस्छ ध्यानमग्न आराधनामा
कसैलाई गनाउँदैन उतिबेला जाँडको शुगन्ध
अनि मर्माहत जातका घात र दुर्गन्धहरु
जदौ जदौ गर्दै थुकले मुठारेको धागो
कसैले छुट्याउन सकेन कुन जातको हो
तर आज ठेलामै अड्किएका मेरा बा देखेर
लुके इश्वरहरु सबै पर्खालभित्र आयो अछुत भनेर ।
हो हजुर मसँग एउटा जात छ
अनि त्यही जातसँग जोडिएका
वितृष्णाका अनेक बात छन् ।
लश्करभन्दा बाहिर उभिएकी
म दमिनी कान्छीलाई पँधेरोमा
भर्नु छ पानी नछोई कसैलाई
नत्र जात बिष्टको जाला भन्ने डर
अछुतमाथि फेरि बोक्सीको बात लाग्ने डर ।
मेरा चोलीबाट उम्कनै लागेका बैंस अमृतहरू
लुट्नलार्इ रोक्दैन कसैलाई जातले आजभोलि
मेरो पवित्रता चाटीचाटी चुसेर
धम्काउँछन् अनि जातियताको आडम्बरसरि
“भनिस् भने जाला तँ डुम्रीको ज्यान”
हो, यस्तै छ हजुर म बाँचेको धरातल
अनि यस्तै छन् मैले हाँसेका हरेक पल ।
हो हजुर मसँग एउटा जात छ
अनि त्यही जातसँग जोडिएका
वितृष्णाका अनेक बात छन् ।
मैले भन्द्या छु मेरो बालाई आजै
भो पर्दैन अब बन्नु शुभसाईतको प्रतिक
तोडेर ती थोत्रा ट्याम्का र सहनाईहरु
गाडिदिन्छु एक मशाल लालझाण्डाको
थप्दै नयाँ अद्ध्याय मेरो जातको समाज शास्त्रमा ।
तिरस्कार जितेर बाँचेको हुँ जातमा
आफ्नै भूगोल बोकेर नाँचेको छु समाजमा
अरु कसैले किन गर्नु पर्यो हस्तक्षेप मेरो नाँचमा ?
निजी जीवन जिउन देउ मलाई मेरै स्वतन्त्रतामा ।
हो हजुर ! मसँग एउटा जात छ
अनि त्यही जातसँग जोडिएका
वितृष्णाका अनेक बात छन् ।
इति
कवि प्रतिमान सिवा साहित्य परिषद् भूटानद्वारा सञ्चालित www.bhutaneseliterature.com मा सम्पादक हुनुहुन्छ । – सम्पादक
वि.सं.२०७४ चैत ९ शुक्रवार ०८:२६ मा प्रकाशित






























