भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ
बन्दुक बोकाएर लगेका
मेरा बा फर्किएनन्
पर्खिएर बसेकी आमाको आँखामा
हाम्रो झुपडीभित्रको टुकी
निभ्दैन
अँगेनु निदाउँदैन
तपक्क
तपक्क चुहिन्छन्
बटुकीमा पानी र शीतका थोपा
उस्तैगरी
तपक्क खस्छ आमाको आँखा
भुँईमा नपुग्दै सुक्छ
उस्तैगरी सल्किन्छ
चुलोमा आमाको मुटु
बुझेको हुन्छु
आमा खोल्दिनन् कराहीको ढक्कन
पाक्दैनन्
गट्टी खेल्ने बगरका ढुङ्गा
काखमै खेल्दा खेल्दै
आमा आमा भोक लाग्यो भन्दाभन्दै
मेरा परेला जोडिन्छन्
ओठ जोडिन्छन् र मारिन्छ भोक
तर
म व्युँझिदा पनि
आमाको आँखामा
अनिदो बसेको हुन्छ रात
म स्वयं भेउ पाउदिन
कहाँ कहाँ छन्
मातृमन जलाउने अगुल्टाहरू
आमा भनन् !
मैले निभाउन
बारुद नै बोक्नु पर्छ र ?
वि.सं.२०८३ असार २० शनिवार ०९:१९ मा प्रकाशित






























