विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
मार्च ३१ का दिन सम्पन्न प्रथम अधिबेशनले नयाँ समितिको उपाध्यक्षमा श्रीमती करिष्मा घम, महासचिव थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा क्रमशः बि. सी. राई, लाहाङ चेम्जोङ र सल्लाहकारहरुमा विश्वास दीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारि साईला र शिवकुमार राई चयन भएका छन् भने शाखाको संरक्षकमा निवर्तमान अध्यक्ष विजय हितान रहेका छन् ।
पहिलो चरणमा स्व. इन्द्रबहादुर राई प्रति श्रद्धाञ्जली सभा, शाखाको आर्थिक प्रतिवेदन, प्रगतिप्रतिवेदन पारित भए लगतै अध्यक्ष विजय हितानले आफ्नो नेतृत्वको समिति विघटन भएको घोषणा गर्दै निर्वाचन समितिलाई शक्ति हस्तान्तरण गरे । निर्वाचन मण्डलका संयोजक गणेश पुन र विश्वास दीप तिगेलाले उम्मेदवारी माथि छलफल गरि सर्वसम्मतबाट श्रीमती जानुका राईको नेतृत्वमा समिति घोषणा भएलगतै साहित्य महासङ्घ केन्द्रका अध्यक्ष समेत रहेका तिगेलाले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए । साथै यस बर्षको उत्कृष्ट शाखा बन्न सफल भएकोमा केन्द्रको तर्फबाट बधाई पनि ब्यक्त गरेका थिए ।
नेतृत्वको घोषणा लगतै अध्यक्ष राई र महासचिव थापाले आआफ्नो प्रतिबद्धता ब्यक्त गरेका थिए । पहिलो चरणको अन्तमा कवि श्रीमति करिष्मा घमको तेस्रोकृति कविता संग्रह दुई किनारालाई केन्द्रीय अध्यक्ष तिगेला, निवर्तमान शाखा अध्यक्ष हितान र स्रष्टा स्वयं घमले विमोचन गरेका थिए ।
दोस्रो चरणमा यस बर्षको अर्थआवरको उत्सव रहेको थियो । उक्त अवसरमा वातावरणिय सृजनाहरु वाचन गरिएका थिए । स्रष्टाहरु लाहाङ चेम्जोङ, घनबहादुर थापा, बासु शर्मा, विश्वास दीप तिगेला, थिर थापा, जानुका राई, करिष्मा घम, दिनेश पौडयाल, शंकर घिमिरे, दिल बहादुर पालुङ्वा, बिसी राई, गणेश पुन, गोपाल शाही पथिक, औतारि साइला र विजय हितान लगायतले सिर्जनाहरु वाचन गरेका थिए ।
सन् २०१६ को अर्थ आवरको अवसरमा विनेसाम साउथ युके शाखा गठन भएको थियो भने गत २ बर्षको अवधिमा २० भन्दा बढि गतिविधिहरु आयोजना गरेको कारण विभिन्न १९ मुलुकमा विस्तारित शाखाहरु मध्ये यसबर्षको उत्कृष्ट शाखा घोषित गरिएको बताइएको छ ।
वि.सं.२०७४ चैत २४ शनिवार १०:४४ मा प्रकाशित





























