
जानेको अझ लेख्छु लेख्न सकिए साहित्य हो जिन्दगी
प्यारो छैन विदेशको रमझमी भन्दै छ यो जिन्दगी ।
नेपालीपन घोल्छ बोल्छ मनले पर्देशको जिन्दगी
जन्मेको ऋणभार तिर्न नसकी मर्ने भयो जिन्दगी ।१।
छैनन् बुद्ध गणेश दर्शन गरूँ भन्दै छ यो जिन्दगी
लक्ष्मी विष्णु महेश कीर्तन न भै जाने भयो जिन्दगी ।
आफ्नै तीर्थ घुमेन देशभर छन् बेकार भो जिन्दगी
छुट्टी हुन्न दशैं तिहार छठमा के काम यो जिन्दगी ।२।
बस्छौं बास समुद्रपार परको संस्कारमा बन्धकी
मेरै छैन स्वधर्म मर्म परको अन्यायमा जिन्दगी ।
पैसा काम हिसाब राख्छ करको ताली भयो जिन्दगी
आफ्नै बन्न सकेन जन्म घरको नाली भयो जिन्दगी ।३।
टाल्दा टाल्न सकिन्न काँच चुहुने भाँडो न हो जिन्दगी
पीडा गाँस कपासको नियतिले डस्दै छ यो जिन्दगी
बन्दै दास र काम गर्न भिरिने भाङ्ग्रो न हो जिन्दगी
आमा काखबिना अनाथ बबुरो रुन्चे भयो जिन्दगी । ४।
भारी धान्न तयार पाट बलियो नाम्लो न हो जिन्दगी
छन् संस्कार समाज बन्धन हुने दाम्लो न हो जिन्दगी ।
राम्रो कर्म सुगन्ध छर्छ गरिमा सम्मान हो जिन्दगी
लेखे काव्य निबन्ध बन्छ निजको आख्यान हो जिन्दगी । ५।
लेखें काव्य बनेन माइकलको बुझ्दैन खै जिन्दगी
हर्केको हरिको स्वदेश घरकै नासो भयो जिन्दगी ।
जाने बज्छ गितार तार रगडी बाजा न हो जिन्दगी
आई काल सुटुक्क खान्छ उसकै खाजा न हो जिन्दगी । ६।
इति
छन्दः शार्दूलविक्रीडित
वि.सं.२०७५ वैशाख १४ शुक्रवार १०:३० मा प्रकाशित






























