
स्मृतिको नीलो दह छ आँखामा
जति लामो बाटो हिँडे पनि
जुन सुखको दरबारमा पुगे पनि
यही ठाउँ हो – समयलाई साक्षी राखेर उभिएको
यही चिहानडाँडा हो, हाम्रा योद्धाहरूलाई गाडेको
यिनै पहाडहरू हुन्, यिनै जङ्गलरओडार र गुफाहरू
हातहातमा बन्दुक समाएर हामीले परेड खेलेको
पुरानो सम्बन्धका इतिहासहरू पल्टाउँदै
र सम्झँदै आफैँ हिँडेर आएको पुरानो बाटो
भीरहरू थिए जीवनको दुःख जस्तै
डसेको थियो , अभाव र समयको खडेरीले
सम्झिरहेछु
यस्तो आँसु थिएन आँखामा
बरू सपनाहरू थिए हामीसँग
गोधुलिमा हामीले गाउँदागाउँदै छोडेको गीत
सायद चराहरूले गाइरहेका थिए अनन्तसम्म
चलायमान नदीका लहरहरूजस्तै
असीमित उत्साह थियो हामीसँग
हाम्रो सम्झनामा थियो एउटा इतिहास
र, बलिरहेको थियो आगो आँखामा
हामीसँगै थियो हाम्रो बन्दुक
युगीन विचार थियो हामीसँग
सहास र वीरताका पाइला थिए हामीसँग
बगेको थियो रगत नदीमा हाम्रै ।
योद्धा !
कहाँबाट हिँड्दै छौँ हामी
पुरानो सपना किन जीवित छैन तिम्रो आँखामा ?
हामी कैद भएर पनि बन्दी भएको थिएन हाम्रो सपना
रहर थियो हामीलाई पनि स्वतन्त्रताको चङ्गा उँडाउन
यो सुदूर गाउँमा फेरि कहाँबाट बजिरहेछ बाँसुरी ?
छलेर समयले हामीलाई दास बनाएपछि
किन गुन्जिरहेछ युद्धको सङ्गीत कानमा ?
मेरो एउटै प्रश्न छ योद्धा
उही बाटोमा हामीलाई दास बनाएर
कसरी मालिक भयौ भन ?
इति
कवि सिर्जन अविरल विश्वव्यापि नेपाली साहित्य सञ्जाल, नेपाली साहित्य संसारका सचिव हुनुहुन्छ । – सम्पादक
वि.सं.२०७५ वैशाख २७ बिहीवार १०:१८ मा प्रकाशित






























