१२ असोज,काठमाडौँ । क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरुले गुनासो गरेका छन् ।
नेपाली जनसम्पर्क समिति क्यानडाले मिसीसागामा आयोजना गरेको ‘नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास ः सम्भावना र चुनौती’ विचार गोष्ठीका सहभागी वक्ताले चिन्ता व्यक्त गरेका हुन् ।
अर्थविद् तथा सरकारका पूर्वमुख्यसचिव डा विमलप्रसाद कोइरालाले सङ्क्रमणकालका कारण मुलुक अगाडि बढ्न नसकेको बताउनुभयो । “सङ्क्रमणकालका कारण राजनीतिक अस्थिरता र विकास अवरुद्ध छ,” उहाँले भन्नुभयो । अहिले अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीले आगामी निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउने अवस्था नदेखिएकाले गठबन्धन संस्कृतिबाट मुलुक अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ ।
“मुलुकमा राजनीतिक परिवर्तन भएपनि त्यसको फाइदा केही ठूलाबडाले मात्र लिए, अपनत्व जनताले लिनसक्ने अवस्था नभएका कारण राजनीतिक स्थिरता कायम हुन सकेन्,” कोइरालाले भन्नुभयो । परिवर्तनका नाममा मुलुकलाई विखण्डनतर्फ लैजान नहुने भन्दै कोइरालाले नेताहरुले राजनीतीलाई समाज सेवाभन्दा व्यवसायका रुपमा लिएका कारण स्थायित्व कायम हुन नसकेको उल्लेख गर्नुभयो । “राजनीतिक नेतृत्व मूल भएकाले त्यो सफा नगर्दासम्म कर्मचारीले केही गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी सरकारका पूर्वसचिव बाबुराम आचार्यले कुनैपनि मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै त्यसका लागी राजनीतिक नेतृत्वको नै मुख्य भूमिका रहने बताउनुभयो । नेपालमा अहिले सत्तामा जानका लागि खुट्टा तान्ने प्रवृतिका कारण राजनीतिले स्थायित्व कायम गर्न नसकेको उहाँको भनाइ थियो । “अहिले देशको अवस्था देख्दा कि छाडेर हिँड्ने, कि आफूले सकेको गर्ने भन्ने मात्र विकल्प छ,” आचार्यले भन्नुभयो ।
गैरआवासीय नेपाली संस्थाका अध्यक्ष तुल्सी सापकोटाले क्यानाडामा रहेका नेपालीले विश्वमा नेपाललाई चिनाउने कार्यका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । “विदेशमा रहेका नेपालीले सक्दो प्रयास गरिरहेका भएपनि देशमा स्थायित्व कायम गर्न दलको नै मुख्य भूमिका रहन्छ,” उहाँले भन्नुभयो ।
गैरआवासीय संस्थाका पूर्वअध्यक्ष अनिल थापाले सरकार, राजनीतिक दलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप र क्षमता कसरी स्वदेशमा भित्रयाउन सकिन्छ भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
समाजसेवी शम्भु धमलाले विकास र समृद्धिका लागि नेपालमा धेरै सम्भावना भएपनि सक्षम नेतृत्वको अभावले देश सँधै गरिबको गरिब नै रहेको बताउनुभयो ।
सो कार्यक्रममा शरद पौडेल, अन्जनी भट्टराई र डा बामदेव पौडेलले देशको समृद्धि र विकास समेटिएका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
समितिका सभापति तुल्सी पौडेलले क्यानडामा रहेका नेपालीले विदेशमा आर्जन गरेको सीप, क्षमता र पूँजी स्वदेशमा लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकार र सम्बन्धित निकायले वातावारण बनाउनुपर्नेमा जोड दिनुभयो । समितिका महामन्त्री दीपक सापकोटाले विदेशमा रहेका नेपाली सँधै देशको विकासप्रति चिन्तित रहेको बताउनुभयो । रासस