१५ असोज, काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रभावकारितासम्बन्धी दुईदिने क्षेत्रीय सम्मेलन शुक्रबार यहाँ सम्पन्न भएको छ ।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा बिहिबारदेखि सुरु भएको सम्मेलनले सार्कमा हालसम्म भएका निर्णयको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिएको छ । त्यस्तै, सार्कलाई अधिकार सम्पन्न बनाई विद्यमान संरचनालाई परिर्वतन गर्नुपर्ने र दुई देश भारत र पाकिस्तानको झगडाले सार्कलाई प्रभावित पार्न नहुनेमा पनि सम्मेलनले निष्कर्ष निकालेको छ ।
आगामी सम्मेलनको आयोजना गर्न नेपालले पहल गर्नुपर्ने विषयमा पनि सम्मेलनमा विशेष छलफल भएको थियो ।
सार्कको हालको भूमिकालाई थप प्रभावकारी बनाउन सार्कस्तरीय संसद् बनाउनुपर्नेमा पनि जोडदारका साथ आवाज उठेको सम्मेलन आयोजक समिति सदस्य श्याम श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
यसैबीच सम्मेलनको समापन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुपक्षीय हित र आर्थिक समृद्धिका लागि भावी रणनीति तय गर्न सम्मेलन उपयोगी भएको उल्लेख गर्नुभयो ।
सन् २०१४ मा काठमाडौँमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनबाट नेपालले अध्यक्षता ग्रहण गरेको थियो । आगामी सार्क शिखर सम्मेलनलाई अझ प्रभावकारी बनाउन सम्मेलनले सुझाव दिएको छ ।