गैरआवासीय नेपाली संघ(एनआरएनए) को ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । संघको प्रवक्ता भुषण घिमिरेले प्रेस विज्ञप्ति जारी गरी २०१८ यहि जुलाई २९ र ३० मा लक्जेम्बर्गमा हुने उक्त बैठकका सम्पूर्ण तयारी पुरा भएको जनाएका हुन् ।
प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक २०१८ यहि जुलाई २९ र ३० मा लक्जेम्बर्गमा हुँदैछ । “युरोपीय एनआरएनको प्रतिबध्दता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी” मुल नाराका साथ लक्जेम्बर्ग स्थित हिल्टन होटलमा आयोजना गरिने बैठकको तयारी प्राय पुरा भएको छ । यसपटकको बैठक विशेषगरी नेपालमा पूँजी सहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवर्धनमा केन्द्रित रहनेछ ।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने उद्देश्यका साथ प्रयास गर्दै आएको छ । विदेशमा रहेका नेपालीहरुले आफ्नो ज्ञान र सीपको प्रयोग गरी आफु कार्यरत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् । विदेशमा आर्जित ज्ञान तथा सीपको प्रयोग गरी नेपालको रुपान्तरणको प्रचुर सम्भावना रहेको छ । यसपटकको युरोपीय क्षेत्रीय बैठक सोही कार्यलाई अघि बढाउन एउटा दरिलो पाइला बन्ने विश्वास हामीले लिएका छौँ ।
गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १३ र १४ तारिखमा ९२ दिने० काठमाडौंमा एक विज्ञ सम्मेलन आयोजना गर्ने घोषणा हामीले यसअघि नै गरिसकेका छौं । यसै परिप्रेक्ष्यमा यो बैठकमा त्यसैको पूर्वतयारीस्वरुप युरोप क्षेत्रबाट ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणका विषयमा हुनसक्ने योगदानको खोजी गरिने छ । साथै अर्को महत्वपूर्ण विषय अर्थात यूरोपबाट कम्तीमा पनि एक अर्बको लगानी नेपालमा भित्र्याउने सम्बन्धमा समेत यो बैठक केन्द्रित रहने छ ।
यसपटकको युरोपीय बैठकमा एनआरएनका आन्तरिक विषयहरु तथा कार्य समीक्षा, एनआरएन अभियानमा युवा तथा नयाँ पुस्तालाई सहभागी गराउँदै नेपाली भाषा र संस्कृतिको जगेर्ना गराउने विषय, युरोपमा नेपालीको बढ्दो उपस्थिति र उनीहरुले भोग्नु परेका समस्या र समाधानका उपाय, युरोपमा नेपालको पर्यटन प्रवर्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, सबै बालबालिकालाई शिक्षा अभियानमा एनआरएनको सहभागिता, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकता लगायतका १५ भन्दा बढी बुँदामा बृहत छलफल हुनेछ ।
बैठकमा नेपालबाट माननीय परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अतिथिको रुपमा र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई विशेष अतिथिका रुपमा सहभागी हुनेहुनेछ । आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रमका अर्का विशेष अतिथि हुनुहुने भएको छ । यस अलावा नेपाल सरकारका कुटनीतिक क्षेत्र लगायत उच्च पदस्थ व्यक्तित्वहरु, उद्योग वाणिज्य महासंघका प्रतिनिधि तथा नेपाल र लग्जम्बर्गका निजी क्षेत्रका व्यवसायिक प्रतिनिधि, संचारकर्मी लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरु बैठकमा सहभागी हुनुहुनेछ । बैठकमा एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष पूर्व अध्यक्षहरु, संरक्षकहरु, आइसिसिका पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको साथै युरोपस्थित संघको २८ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु सहभागी हुनुहुने छ ।
आइसीसीका युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा हुन लागेको बैठक विभिन्न सत्रहरुमा बाँडिएर छलफल हुनेछ । बैठकमा समावेश विभिन्न सत्रमध्ये सीप तथा प्रविधि हस्तान्तरण सत्रको संयोजन एनआरएन आइसीसी संरक्षक राम प्रताप थापाले गर्नुभएको छ । उहाँको नेतृत्वको समितिले युरोपका सबै एनसीसीहरुबाट प्राविधिक तथा विज्ञहरुसंग समन्वय भैसकेको छ । विशेषतः यो सत्रमा विज्ञका प्रस्तुति र काठमाडौंमा हुने आगामी सम्मेलनबारे बृहत छलफल हुनेछ ।
साथै सम्मेलनमा युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु, संचारकर्मीहरु लगायत करीब ५ सय जना सहभागी हुने हाम्रो आंकलन छ । विदेशमा आर्जित पूँजी मात्रै नभई ज्ञान र सीपको प्रयोग नेपालको रुपान्तरणको लागि उपयोगी हुनसक्ने सम्भावनालाई सार्थकतामा बदल्न पनि यो बैठक महत्वपूर्ण हुने हाम्रो अपेक्षा छ । बैठकका निष्कर्षलाई बुँदागत रुपमा नेपालको नीतिगत तहमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा बैठक पछि हाम्रो ध्यान केन्द्रित हुनेछ ।
यस पटकको वैठकमा संघले नेपाल पर्यटन बोर्डसंग मिलेर संचालन गरेको भिडियो च्यालेन्ज प्रितियोगितामा सहभागी भिडियोहरुमध्ये छानिएका भिडियोहरु प्रदर्शन गरिने छ । ति मध्ये सहभागीहरुको मतव्दारा उत्कृष्ठ ठहरिएका भिडियोलाई आगामी गैरआवासीय नेपाली दिवसमा पुरस्कृत गर्ने योजना छ ।
यसै अवसरमा आयोजित क्षेत्रीय महिला बैठकमा संघको महिला फोरमले हालै गरेका कार्यको समीक्षाका साथै आगामी दिनका योजनाहरुका बारेमा छलफल हुनेछ । साथै युरोप क्षेत्रमा रहेका नेपाली महिलाहरुको समस्याका बारेमा समेत उक्त अवसरमा छलफल हुनेछ ।
नेपालको आर्थिक विकासमा सहयोग गर्नको लागि गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गरिरहेका छन् । यसर्थ पनि यो बैठकले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रुपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौध्दिक लगानीको बाटो खोल्नेमा संघ विश्वस्त छ । अतः गैरआवासीय नेपाली संघ ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकमा उपस्थित भई आवश्यक सहयोग गरेर सम्मेलन सफल बनाउन संचारकर्मी लगायत सम्बन्धित सबैमा संघ हार्दिक अनुरोध समेत गर्दछ ।
भूषण घिमिरे
प्रवक्ता
गैर आवासीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषद ।
वि.सं.२०७५ साउन ७ सोमवार ०९:१७ मा प्रकाशित




























