Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

संरक्षणको अभावमा जीर्ण पजारु घोगीको स्मारक



 २ कात्तिक,जाजरकोट । यहाँको पजारु–८, घोगीमा रहेको प्राचीन स्मारक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जीर्ण अवस्थामा रहेको पजारु घोगीको प्राचीन स्मारक संरक्षणमा पहिले कसैले ध्यान नदिए तापनि हाल पुरातत्व विभागले घेराबार गर्न थालेको छ ।

भत्किएर जीर्ण अवस्थामा पुगेका स्मारक स्तम्भ पुरातत्व विभागले वर्षमा दुईवटा मर्मत गर्ने गरेको स्थानीय शिक्षक गोविन्दप्रसाद गिरीले बताउनुभयो । जम्मा १२ वटा स्तम्भमा दुईवटा स्तम्भ पूरै मर्मत गर्नुपर्ने अवस्थामा रहेको शिक्षक गिरीले जानकारी दिनुभयो ।

प्राचीनकालमै निर्माण गरिएको स्मारक कसरी, कसले निर्माण गरेको भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी रामबहादुर बुढाको भनाइ छ । कतिपय जानकारले तिब्बतबाट देश निकाला गरिएका लामा पजारुमा आएर उक्त स्मारक निर्माण गरेको बताउने गरेका छन् । तिब्बतबाट लखेटिएका लामा भारतमा बस्दै आएका दलाइ लामाको सरणमा जाँदा लामा जाजरकोटको बाटो हँुदै भारत पुगेको स्थानीय बूढापाका बताउँछन् ।

चीनले देश निकाला गरेका लामाले नै पजारुको घोगीमा रहेको उक्त स्मारक निर्माण गरेका हुन् भन्ने ठोकुवा गर्न सक्ने प्रमाण भने कसैसँग छैन । अनुमानका आधारमा उक्त स्मारकका बारेमा विभिन्न तर्क गर्ने स्थानीयवासीले यसलाई धार्मिकस्थलका रुपमा परिभाषित गर्ने गरेका छन् ।

सत्ययुगका मान्छेले यसलाई धार्मिकस्थलका रुपमा प्रयोग गर्दै आएको हुनाले दैविक शक्ति हुन सक्ने कतिपयको भनाइ छ । द्वापरयुगसम्म यसलाई धार्मिकस्थलका रुपमा निरन्तरता दिएको हुनसक्ने उनीहरुको भनाइ छ । कलियुगमा सबै प्रकारका दैविक शक्ति दबिसकेको हुनाले हाल त्यहाँ कुनै प्रकारका दैवी शक्ति देखा नपर्ने धार्मिक आस्था राख्नेको भनाइ छ ।

हेर्दा पनि हेरिरहूँजस्तो लाग्ने निकै पुरानो स्मारकमा रहेका स्तम्भका आकृतिको बनावट निकै लोभलाग्दो रहेको छ । कुन सन्दर्भ र परिवेशमा कस्ले बनाएको स्मारक हो भन्ने कुराको लिखित इतिहास पछिल्लो पुस्ताका लागि नभएको नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर मल्ल बताउनुहुन्छ । संरक्षणको अभावमा बिगँ्रदै र भत्कँदै गएको स्मारकको संरक्षण पुरातत्व विभागले गर्न थालेपछि भावी पुस्ताका लागि लिखित इतिहास नभए पनि भौतिक इतिहास जोगाइराख्नेमा ढुक्क भएको नेता मल्लले बताउनुभयो ।

पुरातत्व विभागको घेराबारभित्र रहेको उक्त प्राचीन स्मारकलाई थप सुरक्षाका लागि कसैले नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनधिकृत काममा लगाए वा अरू कुनै किसिमले हानि–नोक्सानी पु¥याएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधित) को दफा १२ को उपदफा क, ख र ग अनुसार रु २५ हजारदेखि एक लाखसम्मको जरिवाना वा ५ देखि १५ वर्षसम्मको कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्थालाई सार्वजनिक गरिएको छ ।

जिल्ला सदरमुकाम खलङ्गादेखि स्मारक रहेको स्थान पजारुको घोगी करिब १४ कोशको दूरीमा रहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम