
३ असोज, काठमाडौं । कन्चनपुरकी बालिका निर्मलापन्तको बलात्कार पछि हत्या गरेका अपराधिहरुलाई कठाघरामा उभ्याउन एनआरएनए एसिया प्यासिफिक महिला फोरमले माग गरेको छ ।
फोरमकी संयोजक जुनु गुरुङले पछिल्लोपटक देशमा दण्डहिनता बढ्दै गएको र महिलामाथि हिंसाका घटनाहरु बढिरहेको अवस्थामा आम नागरिकको जिउ धनको सुरक्षा र मानब अधिकारको प्रत्याभुति दिलाउन नेपाल सरकारले आवस्यक कदम चाल्नुपर्ने बताएकी छन् ।
संयोजक गुरुङद्धारा बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा हाल दुई तिहाई सहित बहुमतको सरकार संचालन हुँदै गरेको सबैमा सर्बबिदितै छ । लोकतन्त्र र गणतन्त्रमा प्रजातान्त्रिक विधि अवलम्बन गरिए अनुसार आम नागरिकका लागि कानुन बनिसकेको र संविधानमा किटेरै मौलिक हक र अधिकारको व्यवस्था गरिएको अवस्थामा महिला पुरुषले एक अर्कामा समान अधिकार प्रत्याभुत गर्न पाउनु पर्दछ । यद्यपी कुनै वर्ग, जाती र लिङ्गको आधारमा अझै महिला हिंसाको सिकार भइरहनु पर्ने, अबोध बालिकाले अकालमा ज्यान गुमाउनु पर्ने विडम्वनाको कुरा हो र यस किसीमका आपराधिक घटना निरन्तर घटाइनुले मलुकमा दण्डहिनता बढ्दै गएको र कानुनी राज्यको उपहास भएको छ । केही समय अघि कन्चनपुरकी निर्मला पन्त बलात्कार भइ हत्या हुनुले आम महिला तथा बालबालिकाहरुको ज्यानको सुरक्षा र अधिकारमा प्रश्न चिन्ह्र खडा भएको छ । यसरी घटना घटेको लामो समय बितिसक्दा पनि कुनै अपराधि पत्ता नलाग्नु सम्बन्धीत निकायको लाचारीपन भएको कुरा जगजाहेर छ । तत्काल यो घटनाका अपराधिलाई कठाघरमा उभ्याइ यस्ता संवेदनशील अमानविय घटना घटाउने तत्वलाई निर्मुल पार्नुपर्छ । आम नागरिकलाई जनधनको सुरक्षा र मानब अधिकारको प्रत्याभूति दिलाउन नेपाल सरकारले आवस्यक कदम चालोस् भन्ने जोडदार मागका साथ कन्चनपुरकी निर्मला पन्तको परिवारलाई न्याय दिलाउनका निम्ति गैरआवासीय नेपाल संघ अन्तराष्ट्रिय समन्वय परिषद्, एसिया प्यासेफिक महिला फोरम, नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
https://sansarnews.com/archives/121486
वि.सं.२०७५ असोज ३ बुधवार १३:१९ मा प्रकाशित






























