
७ असोज, काठमाडौँ । सरकारले बजेटमा उल्लेख गरे अनुसार विभिन्न ७ वटा शीर्षकमा सहुलियत ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि तयार पारेको छ । बजेटमा भएको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्वयन गर्न अर्थ मन्त्रालयले उक्त कार्यविधि तयार गरेको हो । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा उल्लेख भएअनुसारका कार्यविधि तयार भईसकेको जानकारी दिए ।
शैक्षिक कर्जा
कार्यविधिमा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउनको लागि स्नातक तह पास गरेको हुनुपर्ने उल्लेख गरिएको छ । प्राविधिक र गैर प्राविधिक जे विधामा स्नातक गरे पनि ऋण पाइने कार्यविधिमा छ ।
यस्तै सहुलियत ऋण पाउनको लागि ४० वर्ष ननाघेको पनि हुनुपर्नेछ । ४० वर्षभन्दा माथि उमेरकाले प्रमाणपत्र धितो राखेर ऋण नपाउने कार्यविधिले जनाएको छ । तर विपन्न समुदायका युवाहरुले भने प्लस टू पासमै शैक्षिक ऋण पाउनेछन् । प्लस टु पास गरेका विपन्न समुदायका युवाले ५प्रतिशत ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
यस्तै महिलाले सामूहिक रुपमा उद्यम गर्न चाहेमा ६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउने छन ।
विदेशबाट फर्किएकाहरुले विदेशमा सिकेको सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाउने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।
यस्तै दलित समुदायले केही व्यवसाय गर्न चाहेमा ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । र भूकम्प पीडितले पनि ५ प्रतिशत ब्याजदरमा ३ लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् ।
तर एक शीर्षकमा कर्जा लिएको खण्डमा भने अर्को शीर्षकमा कर्जा लिन नमिल्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकबाट ईजाजत प्राप्त बैंक तथा वित्तिय संस्थामा यस प्रकारको लोन पाईने अर्थमन्त्रालयले जनाएको छ ।
५ वर्षभित्रमा तिरिसक्नुपर्ने
५ वर्षमा ऋण तिरिसक्नुपर्ने, नतिरेमा राज्यका कुनै पनि सुविधा नपाइने
सरकारले सहुलियतमा दिने कर्जाको समायावधि ५ वर्ष तोकेको छ । यदी ५ वर्षभित्र ऋण नतिरेमा राज्यले दिने कुनै पनि सेवा नदिने कार्यविधिमा उल्लेख गरिएको छ ।
कर्जा सुरक्षण र बिमाको व्यवस्था
जुन बैंक तथा वित्तीय संस्थाले युवामा ५ प्रतिशेत ब्याजदरमा ७ लाख रुपैयाँ लगानी गरेको हुन्छ । त्यसको समेत सुरक्षाको व्यवस्था गरिएको छ । कर्जा सुरक्षण कोषले ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको कर्जाको सुरक्षा गर्ने छ । यस्तै ऋण लिनेले जे व्यवसाय या उद्यम गरेको छ, उसको पनि व्यवसायको पनि बीमा गर्ने कार्यविधिमा उल्लेख छ । कुनै कारणले व्यापार व्यवसाय डुबेमा उसले बीमाबाट त्यसको क्षतिपूर्ति पाउने कार्यविधिमा उल्लेख छ ।
वि.सं.२०७५ असोज ७ आइतवार ०८:५६ मा प्रकाशित






























