
सम्माननीय राष्ट्रपति ज्यू
तपाईले आफ्नी छोरीको बिहे पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादवसँग गरिदिन लागेको खवरले खुसी र दुःखी दुवै छु । खुसी यो मानेमा छु की तपाईको छोरी ज्वाईको सम्बन्धले समग्र मधेश र पहाडको सम्बन्धलाई सुमधुर बनाउनेछ । मधेसी र पहाडीयाको दुरी घटाउनेछ र समृद्ध नेपाल निर्माणमा टेवा पु¥याउनेछ । किनकी, तपाईको छोरी देशको राष्ट्रपतिको छोरी र हुनेवाला ज्वाई यही देशको पूर्व राष्ट्रपतिको नाती ।
यो अर्थमा पनि तपाईको छोरी ज्वाईको सम्बन्ध देशसँग गाँसिएको हुन्छ । राष्ट्रसँग जोडिएको हुन्छ न की व्यक्तिगत जीवनसँग मात्र । मैले तपाईको छोरीको विवाह अभिशेष यादवसँग हुने कुरा जव थाहा पाए तव मनमा वेचैनी र छट्पटाहट सुरु भयो ।
मेरो कुनै स्वार्थ भएर मलाई यस्तो भएको होइन् यसमा स्पष्ट हुन पनि आग्रह गर्दछु । तपाईलाई नै थाहा छ तराईमा दाइजो प्रथा यति विकराल रुपमा मौलाएको छ कि त्यो हामीले सामान्य ढंगबाट जो कसैले सोच्न सक्दैनौ । कयौं छोरीहरुले धेरै दाइजो नलगेको आरोपमा जिउँदै आगोको मुस्लोमा आफ्नो कलकलाउँदो जीवन चढाउन बाध्य भएका घटना धेरै छन् ।
गत वर्षको चैतमा मागेजति दाईजो नदिएको भन्दै सप्तरीमा सुत्केरी बुहारीलाई जलाएर मारेको घटनामा तपाई सायद जानकार नै हुनुहुन्छ होला । राजविराज ७ निवासी २० वर्षिया सरस्वती देवी मेहतरले दाइजो कम लगेकै कारण अकालमा ज्यान गुमाउनु परेको थियो त्यो पनि जिउँदै जलेर । त्यस्तै लक्ष्मीपुर–८ रौतहटकी १८ वर्षीया रिङ्कुदेवी ठाकुरको पनि दाइजो नल्याएको भन्दै परिवारले जलाएरै हत्या गरे । यो उदाहरण मात्रै हो । यस्ता सयौं घटनाहरु हाम्रा मस्तिष्कमा ताजै छन् । मैले यो घटना किन जोडेको हो भने तपाईले आफ्नी छोरीको बिहे त्यही दाइजो नदिएको निहुँमा बुहारी जलाउने समाजमा गरिदिदैँ हुनुहुन्छ । फेरि यो कुराले रामबरण यादव परिवारले बुहारी मार्छन् भन्ने गलत अर्थ नलागोस् । मात्र मैले के भन्न खोजेको हुँ भने तपाईले आफ्नी छोरीको विवाह बिना दाइजो गरिदिएर त्यो समाजको लागि तपाईको छोरी ज्वाई उदारणीय बनुन् भन्ने मात्र चाहाना हो । मधेसकी बुहारी भएर गएकी निशा कुसुमले पनि दाइजो बिना छोरी जल्ने समाजमा छोरी बुहारीको भूमिका महत्वपूर्ण हुन्छ समाज र देशका लागि भन्ने सन्देश छर्न सफल बनुन् भन्ने कामना गर्दछु ।
तपाईले यसो गर्न सक्नु भयो भने समग्र तराईमा सकारात्मक सन्देश जाने थियो अनि गरिव र असहाय छोरी चेलीहरुले दाइजोकै कारण अकालमा मर्नु पर्दैन की ! बरु तपाईले छोरीको विवाहमा लाग्ने खर्च कुनै अनाथालय र गरीवहरुलाई सहयोग दिनु भयो भने तपाईको गरिमा झन् बढ्ने थियो । अझै भन्ने हो भने त्यो पैसा मधेसी समुदायमा छोरीको महत्व बुझाउन र छोरीलाई पनि छोरा सरह शिक्षा दिक्षा दिनुपर्छ र यो देशको योग्य नागरिक बनाउनु पर्छ भनेर सचेतना अभियानमै खर्च गर्न सक्नु भयो भने त्यो अझै राम्रो ।
हुन त मेरो लेख यहाँका लागि खासै महत्वको नहोला । तपाईले म उपर सत्तोसराप पनि गर्नु होला, तपाईको परिवार र इष्टमित्रमा म तारो बनुला । यसमा मेरो कुनै गुनासो र चित्त दुखाई हुने छैन । तपाई एउटा सामान्य व्यक्ति होइन । तपाईले हामीलाई जिम्मेवार नागरिक नसोचे पनि हामीले जिम्मेवार राष्ट्र अध्यक्ष सोचेका छौं । त्यसैले यति भन्न पाउने अधिकार हामीमा पनि छ ।
जव तपाईको छोरीको विवाह अभिशेष यादवसँग हुने कुरा विभिन्न मिडिया र फेसबुकमा आए तव तपाईको पक्षमा नकारात्मक कुराहरु प्रस्तुत भएका छन् । कसैले भनेका छन् ‘मधेसीहरुले मर्नेगरेर दाइजो लिन्छन् ? तर डर मान्नु पर्दैन, सरकारको ढुुकुटीमा जति पैसा छ खर्च गर दाइजो भएन भने त छोरीलाई जलाएर मारिहाल्छन नी ।’
यस्तो अभिव्यक्ति तपाईको विरुद्ध धेरै आएको छ महामहिम ज्यू त्यसैले तपाई सजग हुन जरुरी छ । तपाईको जीवन व्यक्तिसँग भन्दा राष्ट्रसँग जोडिएको छ । म तपाईलाई फेरि पनि विनम्र अनुरोध गर्न चाहन्छु ।
तपाईले तराइको ठाउँमा विना दाइजो छोरीको विवाह गरिदिनुहोस् । तपाईको छोरीलाई पक्कै पनि पूर्वराष्टपति यादव परिवारले केही गर्न सक्दैनन् दाइजो नलगे पनि । तपाईको छोरीको अरु निर्दाेष छोरीहरुले जिउँदै जल्नु पर्ने अवस्थाको अन्त्य गरिदिनुहोस् फेरि पनि अनुरोध गर्दछु ।