
१३ कात्तिक, कोलम्बो । एएनआई श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषद्को सपथ गराएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो ।
नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिएका छन् भने विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको थियो । यसबाहेक, पूर्वसरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रुपमा सहभागी रहेका केही मन्त्रीले पुरानै जिम्मेवारी पाएका छन् ।
यहीबीच, संसद्मा बहुमत रहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री रनिल विक्रमासिङ्घेले जतिसक्दो चाँडो संसद्को बैठक आह्वान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीबाट आफूलाई अपदस्थ गरिएको भन्दै उनले आफ्ना समर्थकलाई कोलम्बोमा बुधबार भेला हुन आह्वान गरेका थिए ।
कूल २२५ सदस्यीय संसद्मा १२६ जना सांसदले हस्ताक्षर गरी संसद्को बैठक जतिसक्दो चाँडो आह्वान गर्न सभामुखसँग आग्रह गरेका छन् । सभामुखले एक चेतावनी पत्र जारी गर्दै तत्काल संसदको आपतकालीन बैठक नबसे मुलुकमा हिंसात्मक परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् ।
कोलम्बोमा एकजनाको ज्यान जानेगरी भएको एक गोलीकाण्डमा प्रहरीले संसद् सदस्य अर्जुना रणतुङ्गालाई गिरफ्तार गरेको छ । विश्वकप विजेता श्रीलङ्काली टोलीका कप्तानसमेत रहिसकेका रणतुङ्गालाई प्रहरीले जमानतमा छाडेको थियो ।
राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई शुक्रबार राति अपदस्थ गरी महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलङ्कामा राजनीतिक तनाव बढेको छ । यो नाटकीय सत्ता परिवर्तनका कारण सत्तारुढ गठबन्धन श्रीलङ्का फ्रिडम पार्टी र युनाइटेड नेसनल पार्टीबीचको एकता पनि टुटेको छ ।
वि.सं.२०७५ कात्तिक १३ मंगलवार १८:०६ मा प्रकाशित






























