
५ मंसिर काठमाडौ । सरकारले भ्रष्टचारमा शुन्य सहनशीलताको नीति ल्याए पनि भ्रष्टचार र अनियमितता भने झन् मौलाएर गएको छ । घुस लिँदै गरेको अवस्थामा पक्राउ पर्ने सरकारी कर्मचारीको संख्या वृद्धि भएको छ भने नीतिगत भ्रष्टचार पनि उस्तै मौलाएर गएको छ ।
आर्थिक वर्षको अन्त्य १ साउन यता मात्र अख्तियार आयोगको टोलीले घुस लिदैँ गरेको अवस्थामा झन्डै ६ दर्जन सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरु सरकारी तल्लो तहका कर्मचारीदेखि उपसचिव तथा नेपाल प्रहरीका डिएसपीसम्म रहेका छन् ।
अख्तियारले मंगलबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख उपन्यायधिवक्ता कोषहरी निरौलालाई ८० हजार रुपैयाँ घुसबापतको रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।अख्तियारका प्रबक्ता दंगालले आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै उनलाई नियन्त्रणमा लिएको बताए ।
अख्तियारको टोलीले आइतबार पनि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजारालाई लाख रुपैयाँ घुसबापतको रकम लिएको अवस्थामा पक्राउ गरेको थियो । प्रवक्ता दंगालका अनुसार उनले नेपालबाट उत्पादीत पान मसलाजन्य पदार्थहरु विभिन्न ठाउँमा पठाउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिएका थिए । आजको राजधानी दैनिकबाट ।
वि.सं.२०७५ मंसिर ५ बुधवार ०८:४२ मा प्रकाशित





























