back

के हो त बर्दिया र धादिङका धानबालीमा  देखिएको समस्या ?

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

777 

shares
GLOBAL IME AD
NTC AD

harikumar-shrestha

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । हामीलाई दैनिक चाहिने शक्ति (क्यालोरी) को ५० प्रतिशतभन्दा बढी भाग धानबाट नै पाउँछौँ । कृषि विकास मन्त्रालयको सन् २०१४। १५ को तथ्यांक अनुसार, अन्य खाद्यान्न बालीहरुको तुलनामा धान बाली नेपालको प्रथम स्थानमा पर्दछ । तर विगत ५ वर्षको तथ्यांक केलाउने हो भने सन् २०१०। ११ को तुलनामा धान बालीले ढाकेकोे क्षेत्रफलमा ४.७५ ले गिरावट आएको छ भने उत्पादन र उत्पादकत्वमा क्रमशः ७.३६ र १२.७३ प्रतिशतले वृद्धि भएको पाईन्छ । यो अवधिमा बालीले ढाकेको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको स्थितिमा निकै नै उतार चढाव आएको पाईन्छ । ए.डि.एस् २०१५ का अनुसार, सन् २०२० सम्ममा बृद्धि हुनसक्ने नेपालको जनसंख्या (३०.५ मिलियन) को लागि धान उत्पादन हालको स्थितिबाट २० प्रतिशतभन्दा बढी वृद्धि गर्नुपर्ने हुन्छ । तर धान उत्पादनमा आएको यो उतार चढावले यो स्थितिमा पुग्नसक्ने अवस्था देखिदैन । यसको लागि बदलिँदो वातावरण सहने र बढी उत्पादन दिने नयाँ जातहरु (खुल्लासेचित। वर्णसंकर) को विकास, खेती व्यवस्थापन तथा प्रविधिमा सुधार, कृषक तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि तथा गुणस्तरीय कृषि सामग्री व्यवस्थापनजस्ता पक्षमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

बाली उत्पादनमा प्रयोग हुने कृषि सामग्रीमध्ये गुणस्तरीय बीउबिजनको प्रयोगको अहम् भूमिका रहन्छ, तापनि नेपालमा कृषकहरुले प्रयोग गर्ने बीउबिजनको गुणस्तर त्यति सन्तोषजनक देखिदैनँ । यसो हुनुमा, नेपाल कृषि अनुसन्धान परिषदले कृषकको लागि आवश्यक खुल्लासेचित तथा हाईब्रीड जातहरु उपलव्ध गराउन नसक्नु, राष्ट्रिय बीउबिजन कम्पनी लि. तथा केही बीउबिजन व्यवसायीहरुको गलत क्रियाकलापले कतिपय अवस्थामा गल्लामण्डिको अन्न संकलन गरी बीउको रुपमा कृषकहरुलाई बिक्री वितरण गरिनु, बीउबिजन गुणस्तर नियन्त्रण निकायलगायत अन्य सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुको भूमिका पनि प्रभावकारी हुन नसक्नु रहेको देखिन्छ । हालै मात्र बर्दिया र धादिङ जिल्लामा आ.व. २०७२। ७३ मा लगाईको धान बालीको उत्पादन तथा उत्पादकत्वमा गुणस्तरहीन स्रोत बीउको कारण उत्पादनमा धेरै गिरावट आउने र किसानहरुको आयमा उल्लेख्य कमी हुने स्थिति देखिएको छ । यसैको बारेमा विभिन्न सञ्चार माध्यम तथा सम्बन्धित निकायहरुमा यस बारेमा धेरै कुराहरु महिनादिन अघिबाट चल्दै आएको भए तापनि हालसम्म उक्त समस्या समाधान नभएको बुझिएकोले यी विषयवस्तुहरुबारे जिल्लागत रुपमा वास्तविक कुराहरु खोजीनीति गरी समस्या तथा चुनौतिहरु औँल्याई सुधारको लागि सुझावहरु दिनु यो कार्यपत्रको उद्देश्य रहेको छ ।

अध्ययन कार्य

मिति २०७३ आश्विन २८ देखि कार्तिक ४ गतेसम्म बर्दिया तथा धादिङमा आ.व. २०७२। ७३ मा लगाईएको धान बालीमा आएको समस्या अध्ययनको लागि विभिन्न संचार माध्यममा प्रकाशित समाचार संकलन तथा अध्ययन, सम्बन्धित जिल्लाका केही कृषि प्राविधिकहरुसँग फोन वार्ता तथा उक्त क्षेत्रसँग जानकार केही जिम्मेवार व्यक्तित्व तथा कृषि सरोकार समाज नेपालका पदाधिकारीहरु र व्यक्तिहरु बीच गरिएको वार्तालाप तथा छलफलको आधारमा यो प्रतिवेदन तयार गरिएको छ । समयाभावको कारण स्थलगत भ्रमण गरी अनुगमन गर्न नसक्नु यो अध्ययनको सीमा रहेको छ ।

आ.व. २०७२।७३ मा बर्दिया तथा धादिङमा धान बालीमा देखिएका समस्याहरुको वस्तुस्थिति पहिचान

यस आ.व. मा बर्दिया तथा धादिङमा लगाईएको धान बालीको विभिन्न जातहरुको स्रोत बीउको कारण किसानहरुलाई क्षति पुगेको भन्ने बारे विभिन्न कुराहरु उठेकोले सोको बारेमा गरिएका अध्ययनको आधारमा हामीलाई जानकारी प्राप्त भए अनुसार वस्तुस्थिति निम्न अनुसार रहेको पाईयो ।

बर्दियामा बीउबिजन संकलनको स्रोत र बिक्री वितरण

 बर्दिया जिल्लामा धान बालीका बीउ राष्ट्रिय बीउबिजन कम्पनीले टेण्डर प्रक्रिया र आफ्नै स्रोतबाट करिब ५ जातहरु (मकवानपुर १, राधा ४, सावित्री, रामधान र सावा मसुली) संकलन गरी ४० प्रतिशत अनुदानमा राष्ट्रिय बीउबिजन कम्पनी, नेपालगन्जले करिब ३५० मे. टन बिक्री वितरण गरेको पाईयो । टेण्डर प्रक्रियाबाट संकलन तथा बिक्री वितरण गरिएका उक्त जातहरु लुम्बिनी सिड कंपनी प्रा.लि., वागेश्वरी एग्रोसीड कम्पनी प्रा.लि., भवानीपुर, बाँके, र उन्नत बीजबृद्धि कृषक समूह, पटिहानी, चितवनको रहेको पाईयो भने राधा ४ र सावित्रीको मूल बीउ नेपाल कृषि अनुसन्धान परिषदबाट प्राप्त भएको पनि जानकारीमा आएको छ ।

समस्याको उजागार

किसानले मानपुरटपरा, मनाउ, जमुनी, सानोश्री, ताराताल, पदनाह, कालिका, सोरहवा, आदि क्षेत्रमा लगाएको धान बालीमा एकभन्दा बढी जातहरु मिश्रण भएको पाइएपछि किसानहरुले सम्बन्धित डिलरलाई जानकारी गराएका र सम्बन्धित डिलरले बागेश्वरी एग्रोसिड र राष्ट्रिय बीउबिजन कम्पनी, नेपालगन्जलाई जानकारी गराएको देखिन्छ । उक्त संस्थाहरुले किसानको समस्या उपर कुनै चासो नदेखाएपछि सम्बन्धित बीउ बिक्रीवितरण गर्ने बर्दियाका डिलरहरु (बिहानी मध्यवर्ती बहुउद्देश्यीय सहकारी संस्था लि. पाताझारा, हथिया बाबा कृषि सहकारी संस्था लि. राजापुर ११, साना किसान सहकारी संस्था लि. सानोश्री र ठाकुर बाबा बहुमुखी सहकारी संस्था लि., ठाकुरद्वार) बाट जिल्ला कृषि विकास कार्यालयमा मिति २०७२ आश्विन २ गते नै क्षतिपूर्तिको लागि आवेदन दिईएको पाईयो ।

यस बारेमा जो जसले जसरी समस्याको उजागार गरे तापनि वितरित प्रायजसो जातमा बेजात मिसिएको भए तापनि वागेश्वरी एग्रोसिडमार्फत वितरित मकवानपुर १ जातमा अत्यधिक १७ जातसम्म बेजात मिसिएको र ती मिसिएका जातहरुमध्ये राधा ४ र सुख्खा ३ पहिचान गर्न सकिने र अन्य पहिचान गर्न नसकिनुको साथै उक्त मिसिएका बेजातहरु नेपालमा यसभन्दा अगाडि नदेखिएको कुरा पनि जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको थियो ।

यसबाट के कुराको पुष्टि हुन्छ भने अनुदानमा वितरण गरिएका धानका बीउका लटहरु उपयुक्त बीउबिजन उत्पादन प्रक्रियाबाट नआई गल्लामण्डीबाट खायन अन्न संकलन गरी बीउको रुपमा वितरण गरिएको हुनसक्ने देखिन्छ । अन्यथा यो विकाराल स्थितिको सिर्जना हुने थिएन ।

समस्या समाधानको लागि गरिएका प्रयासहरु

जिल्ला कृषि विकास कार्यालय, बर्दियाले समस्याको बारेमा विभिन्न सहकारी संस्थाहरुबाट जानकारी प्राप्त हुनासाथ सोही दिन मिति २०७३।०६।०२ गते नै कार्यालय प्रमुख, बाली विकास अधिकृत, बीउबिजन आपूर्तिकर्ताहरुलगायत अन्य केही व्यक्तिहरुसहित समस्याग्रस्त धानबाली खेत अध्ययन गरेकोमा धानबालीमा बेजातहरु मिसिएको पाएको र राष्ट्रिय बीउबिजन कम्पनी तथा वागेश्वरी एग्रोसिडबाट प्राप्त बीउबिजनमा अत्यधिक बेजात अर्थात १७ जातसम्म मिसिएको पाईएको जानकारी दिइएको थियो । सो कुराको स्वीकार रा.बि.बि. कम्पनी, नेपालगन्जका प्रमुख मेहदि हसनबाट पनि गरिसकिएको पाईयो ।

– मिति २०७३।०६।१८ मा जिल्ला कृषि विकास कार्यालयले कृषि विकास मन्त्रालयको कृषि सामग्री आपूर्ति अनुगमन शाखा, काठमाडौँ, राष्ट्रिय बीउबिजन कम्पनी, काठमाडौँ र क्षेत्रीय कृषि निर्देशनालय, सुर्खेतलाई पनि समस्या र क्षतिपूर्तिको बारेमा जानकारी गराइएको पाईन्छ ।

– मिति २०७३।०६।१९मा बर्दियाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बर्दिया जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्था समितिको बैठक सन्चालन गरी छलफल गरिएको थियो । उक्त बैठकमा राष्ट्रिय बीउबिजन कम्पनी, नेपालगन्ज र वागेश्वरी एग्रोसिड, नेपालगन्जलाई पनि बोलाईएको तर त्यहाँबाट सहभागी नभएको भन्ने पनि जानकारी प्राप्त भएको छ ।

-कृषि विकास मन्त्रालयले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बीउबिजन विकास अधिकृत डा. महेन्द्र खनालको संयोजकत्वमा एक छानवीन समित गठन गरी एक हप्ताको समयावधिमा कार्य सम्पादन गर्ने जिम्मेवारी दिएकोमा उक्त समितिले स्थलगत अध्ययन गरिसकेको कुरा अध्ययन दलमा रहेका बीउबिजन विकास अधिकृति शालिकराम गौतमको फेसबुकबाट जानकारी पाईएको छ ।

समस्याको निक्र्यौल तथा सिफारिस

– धानबालीको बीउमा अन्य जात मिसिएको र बढी बेजात मिश्रण भएका मकवानपुर १ गल्लामण्डिको खायन धान संकलन गरी बीउको रुपमा बिक्री वितरण गरिएकोले कृषकको आयआर्जनमा कमी हुनुको साथै सरकारी निकायप्रति विश्वासनियता घट्ने गरेको ।

–  त्यसैले, बाली निरीक्षणमा गएका टोलीको अध्ययन अनुसार धानबाली पाक्ने समय फरक, बाला नलाग्नु र भएको कतिपय बालामा पनि दाना नलाग्नु, बोट होँचा अग्ला हुनु र बाली नितान्त फरक र छ्यासमिसे पाएकाले समस्याग्रस्त किसानलाई उनीहरुको कति क्षेत्रफल क्षति भएको छ यकिन गरी सम्बन्धित बीउबिजन वितरकबाट नै यथाशीघ्र क्षतिपूर्ति भराउनु पर्ने देखिन्छ ।

– यो पनि एक किसिमको भ्रष्टाचार भएकोले यस कार्यमा संलग्न व्यक्तिहरुको नियतमाथि प्रश्न चिन्ह उठाउँदै यथोचित कारबाही अगाडि बढाउनु पर्ने देखिन्छ ।

-राष्ट्रिय बीउबिजन कम्पनीबाट वितरण गरिने बीउबिजनमा प्रत्येक वर्ष र बालीमा यस्ता समस्याहरु आईरहेको कारण कार्यसमिति तथा व्यवस्थापनको कमजोरी देखिएकोले यसमा तत्काल फेरबदल गर्नुपर्ने देखिन्छ । किनकि, यहाँ त अन्न र बीउ छुट्याउन नसकिएको अवस्थाले गर्दा यसको लागि बीउबिजन क्षेत्रमै अध्ययन गरेका व्यक्तिको चयन हुनुपर्ने देखिन्छ ।

-बीउबिजन गुणस्तर नियन्त्रण कार्य प्रभावकारी हुन नसकेकोले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन जरुरी छ । यसको लागि बीउबिजनमा संलग्न संघ संस्था तथा व्यक्तिहरुलाई प्राविधिक ज्ञान पनि दिनुपर्दछ ।

–  बीउबिजन खरीद गर्दा नै किसानहरुलाई खेती गर्ने तरिका बारेमा जानकारी दिनुपर्दछ र किसानहरु पनि बीउ खरीद गर्दा चनाखो हुन जरुरी छ । सस्तो बीउको प्रयोगभन्दा पनि राम्रो बीउको प्रयोगलाई जोड दिन जरुरी छ ।

– नेपाल कृषि अनुसन्धान परिषदबाट बिक्री वितरण भएको राधा ४ र सावित्री प्रमाणितस्तरको बालीमा पनि १। २ प्रतिशत बेजात भेटिएको जानकारी प्राप्त भएकोमा नार्कका वैज्ञानिकबाट यो समस्या सेग्रिगेसनबाट भएको स्वीकारेका छन् । प्रमाणितस्तरको बीउ बालीमा बेजातको प्रतिशत ०.२० प्रतिशतभन्दा बढी हुन नहुने भएकोले रगिङ गरेर प्रयोगशालामा परीक्षण पश्चात उन्नत बीउमा प्रयोग गर्न सकिने भए तापनि किसानलाई परेको क्षतिमा सम्बन्धित निकायबाटै क्षतिपूर्ति दिनुपर्ने देखिन्छ ।

धादिङ्मा बीउबिजन संकलनको स्रोत र बिक्री वितरण ः

 धादिङ्मा यस वर्ष बिक्रीवितरण गरिएको धानको मूल बीउ (हर्दिनाथ १ र सुख्खा धान ३ जातका) क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, परवानीपुरबाट ल्याई जिल्ला कृषि विकास कार्यालयले जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. ७, ८ र १२, सलाङ्, नलाङ र त्रिपुरेश्वर गा.वि.स. का किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको जानकारी पाईयो । हर्दिनाथ १ जातका बीउ (२५, ३० घरपरिवारमा १८.५ क्वीण्टल) यी सबै क्षेत्रमा वितरण गरिए तापनि सुख्खा धान ३ जात भने नलाङ् गा.वि.स. वडा नं. ९ मा मात्र (३ घरपरिवारमा ८० किलो बीउ) वितरण गरिएको पाईएको छ । यी दवबै जातहरु ५०० मीटरको उचाईसम्म लगाउन सकिने भए तापनि जिल्लामा ८०० मिटरसम्म पनि लगाएको जानकारी आएका थिए ।

समस्याको उजागार

 धादिङ्का सम्बन्धित किसानहरुको साथै राससले धान नफलेपछि क्षतिपूर्ति माग (आश्विन २० गते) र नेपाल कृषि अनुसन्धान परिषदले बाँडेको धान बीउ नफल्दा भकारी रित्तै (आश्विन २४ गते) भन्ने जस्ता शीर्षकमा समाचार सम्प्रेषण गरी समस्याको उजागार गरेका थिए । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको लागि माग गरेका थिए । खाद्य अधिकार जिल्ला सन्जाल, इन्सेक, राष्ट्रिय कृषक समूह महासंघलगायत संस्थाहरुले किसानलाई क्षतिपूर्ति दिन जिल्ला कृषि विकास कार्यालयमा माग गर्दै ज्ञापनपत्र बुझाएको ।

समाधानको लागि गरिएका प्रयासहरु

-जिल्ला कृषि विकास कार्यालयले समस्याको जानकारी पाउना साथ किसानको समस्याग्रस्त धान खेतबारी अनुगमन गरी धानको नमूना लिई नेपाल कृषि अनुसन्धान परिषदको बाली रोग विज्ञान महाशाखा, खुमलटार र कृषि विभागको बाली संरक्षण निर्देशनालयमा परीक्षणार्थ पठाएको ।

–  किसानहरुसँग खेतबारी मै र कार्यालयमा समस्या समाधानको लागि छलफल तथा सम्बाद चलाएको ।

– किसानहरुको क्षतिपूर्ति मागको कुरा कृषि विभाग, हरिहरभवनमा पनि जानकारी गराएको ।

– कृषि विकास मन्त्रालयले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बीउबिजन विकास अधिकृत डा. महेन्द्र खनालको संयोजकत्वमा एक छानवीन समिति गठन गरी एकहप्तभित्र कार्य सम्पादन गर्ने जिम्मेवारी दिएकोमा उक्त समिति बर्दियापछि धादिङ् जाने कुराको जानकारी प्राप्त भएको ।

समस्याको निक्र्यौल

–  नार्क र विभागको सम्बन्धित प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार नेक व्लाष्ट रोगको पहिचान भएको जानकारी प्राप्त भएको । यो रोग बीउबाट बीउमा सर्ने र बीजबृद्धिमा निषेधित रोग हो । यो रोगले हर्दिनाथ १ मा करिब ९० प्रतिशतसम्म क्षति भएको पाईएको छ ।

– यसवर्ष वितरण गरिएको बीउ नै रोगले संक्रमण भएको हुनसक्छ । त्यसै कारणले उपचार नभएको बीउमा यो समस्या आएको हो । त्यसै कारणले आगामी दिनमा वितरण गरिने धानको बीउ सम्बन्धित प्राविधिकको सिफारिस अनुसार अनिवार्य उपचार गराएर मात्र किसानलाई वितरण गरिनुपर्दछ । यदि उपचार नगरी वितरण गरिएको हो भने यसको जिम्मेवार को हो, र कसलाई कार्यबाही गरिनु पर्ने हो ?

– अर्को कुरा, उपचार गरेर दिइने बीउ पनि कहिले काहिँ किसानले पखालेर जाँड रक्सी बनाउन प्रयोग गर्नसक्ने सम्भावना भएकोले सो जोखिम कम गर्न पनि उपचार नगरिएको भन्ने कुरा पनि सुन्नमा आएको छ । यसको लागि प्रचारप्रसारको कमी भएकोले जिल्ला कृषि विकास कार्यालयले गुणस्तरीय बीउबिजनको महत्व, यसको उपचार र विषादीको स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असरको बारेमा पनि जानकारी गराउन अत्यावस्यक देखिन्छ ।

– जिल्ला कृषि विकास कार्यालयको अनुसार गर्मी ठाउँमा धान चाँडै पाकेकोले यो समस्या नदेखिएको र माथिल्लो चिसो आवहवा भएको स्थानमा रोगको समस्या देखिएको जानकारी पाईएकोले आगामी वर्षमा सोही अनुसारका समस्या नदेखिएको क्षेत्रमा लगाउन सिफारिस गर्नुको साथै ५०० मीटरभन्दा माथिका पहाडी क्षेत्रमा लगाउन नहुने कुरा प्राविधिक तथा किसानहरुलाई जानकारी गराउनु पर्ने ।

 उक्त बीउ रोप्नुभन्दा अगाडि जिल्ला कृषि विकास कार्यालयले बीउ उपचारको लागि किसानहरुलाई सिफारिस गरे तापनि र बीउ उपचार नगरिएको भन्ने जानकारी प्राप्त भएर पनि किसानहरुले सोको जानकारी नभएको भन्ने पाईएकोले जिल्ला कृषि विकास कार्यालयले समयमै सो व्यवस्था गर्नुपर्ने देखिन्छ ।

 -किसानलाई परेको क्षतिमा कार्यालयका निमित्त प्रमुख दुर्गादत्त पन्थीले गत वर्षमा यस्तो समस्या नआएको तर यस वर्ष किसानलाई समस्या परेकोले सरकारबाट नै कुनै सहयोग उपलव्ध गराउन आफू सकारात्मक रहेको कुरा आश्विन २० गते प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

– क्षति कस्को कमजोरीले गर्दा भएको हो (क्षे.कृ.अ.के. परवानीपुर वा जिल्ला कृषि विकास कार्यालय, धादिङ?) सो पनि निक्र्यौल हुन जरुरी छ र क्षतिपूर्ति पनि सोही अनुसार भराउनुपर्दछ । सरकारले क्षतिपूर्ति दिईहाल्छ भन्ने मानसिकतालाई त्याग्ने वातावरणको सिर्जना गर्न पनि जरुरी छ । हैन भने सरकारी निकायबाट भएको जानाजानको कमजोरीले नेपाल सरकारलाई थलापार्न सक्छ । यस बारेमा हामी सबैले गम्भीर भएर सोच्न जरुरी छ ।

बीउबिजन गुणस्तर नियन्त्रण कार्य प्रभावकारी हुनुपर्छ

गुणस्तरीय बीउबिजन कृषि उत्पादकत्व बृद्धि गर्ने महत्वपूर्ण सामग्री हो । गुणस्तरहीन बीउबिजनको प्रयोग तथा किसानले सोसम्बन्धी सहि जानकारी समयमा नपाउँदा उत्पादनमा भारी क्षतिपुग्न जान्छ । यसको लागि बीउबिजन गुणस्तर नियन्त्रण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी छ भने प्रचुर मात्रामा किसानलाई आवश्यक पर्ने जातहरु (खुल्लासेचित तथा हाईब्रीड) को विकास, गुणस्तरीय स्रोत बीउबिजनको व्यवस्था, प्रभावकारी अनुगमन तथा निरीक्षण कार्य गरिनु आवश्यक छ । बीउबिजन नीतिमा हाईब्रीडको कुनै कुरा उल्लेख नगरिएकोले यो नीति परिमार्जन गरी हाईब्रीडलाई पनि महत्वपूर्ण स्थान दिईनु पर्दछ । त्यस्तै गरेर नेपालको परीप्रेक्षमा कन्भेन्सनल (परम्परागत) प्रजनन प्रविधिको साथै जातीय विकासलाई छिटो छरितो गर्नको लागि जेनेटिक इन्जिनियरिङ प्रविधिमा जिएमओ (GMO)  प्रविधिको प्रयोग नगरी सिसजेनेसिस (Cisgenesis)  प्रविधिलाई प्रयोगमा ल्याउनुपर्दछ । यसको लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्र बीच समन्वय, सहकार्य तथा समझदारी हुन आवश्यक छ । बीउबिजनसँग सम्बन्धित व्यक्तिको प्राविधिक ज्ञान तथा संस्थाको भौतिक पूर्वाधारमा सुधार हुन जरुरी छ । मानिसको सोचाइमा परिवर्तन नहुँदा तथा सम्बन्धित क्षेत्रको विज्ञविना सञ्चालित संस्था तथा कार्यक्रमहरुमा यस्ता समस्या आईनै रहने भएकोले विगतमा अविज्ञलाई विज्ञ घोषित गरी महत्वपूर्ण पदहरुमा नियुक्ति दिने परिपाटिको अन्त्य हुन पनि जरुरी छ । यसको अलावा यहाँ माथि उल्लिखित सिफारिसहरु पनि कार्यान्वयनमा ल्याउन जरुरी छ । अन्तमा, कृषि विकास मन्त्रालयले यथासक्य चाँडो सत्यतथ्य पत्ता लगाई क्षतिपूर्तिको लागि पहल गर्नुको साथै गल्ति कार्य गर्ने कुनै निकाय तथा व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको लागि कृषि सरोकार समाज नेपाल जोडदार माग गर्दछ ।

जिएमओ बीउबिजन विज्ञका रुपमा रहेका डा. हरिकुमार श्रेष्ठ, कृषि सरोकार समाज नेपाल, काठमाडौँ अध्यक्ष समेत हुन् ।

 

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १०:४६ मा प्रकाशित

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदुषण जनस्वास्थ्यमा एउटा गम्भिर समस्याको रुपमा देखा परेको छ...

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी भनेको आपसी हितका लागि व्यक्तिहरूको समूहको स्वामित्वमा रहेको र...

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास...

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

कारण र प्रभाव सम्बन्ध घटना वा कार्यहरू बीचको सम्बन्ध हो...

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

म सानै उमेरदेखि राजनीतिमा चासो राख्दथे। तत्कालिन समयमा जहानिया निरंकुश...

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

समाज कुवामा जमेको पानी जस्तो भयो भने त्यहाँ फोहरमैला जम्मा...