
६ फागुन, काराकास । भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले सरकारको उक्त कदम “अविवेकी” रहेको बताएका छन् ।
युरोपेली संसद्का सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताए ।
सांसद पोन्सले भने, “हामीलाई भेनेजुएला छाड्न भनिएको छ । हाम्रो पासपोर्ट खोसिएको छ । देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन ।”
यो पछिल्लो घटनाले राष्ट्रपति निकोलास मदुरो र अन्तरराष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ । गत महिना राष्ट्रियसभाका अध्यक्ष समेत रहेको विपक्षी नेता हुँवा गुएइदोले मुलुकको अन्तरिम राष्ट्रपति आफू रहेको घोषणा गरेयता शक्ति सङ्घर्ष चरम अवस्थामा पुगेको छ ।
गुएइदोलाई ५० भन्दाबढी देशले समर्थन गरेका छन् । तीमध्ये युरोपका ३० वटा देश रहेका छन् ।
देश छाड् आदेश दिइएका अरु सांसदमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन् । उनीहरु सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन् ।
सांसदलाई देश निकाला गरिएकोप्रति आपत्ति जनाउँदै विश्व समुदायबाट एक्लिँदै गएको मदुरो सरकारको पछिल्लो कदम अविवेकी हो भनेका छन् ।
विपक्षी नेता गुएइदोले भेनेजुएलाका निम्ति मित्रराष्ट्रले पठाएको आतकालीन मानवीय राहत सामग्री देशभित्र ल्याउन आम नागरिक समक्ष अपिल गरेका छन् ।
भेनेजुएलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न, सरसरफाईका सामान तथा पोषणयुक्त खाद्य आइपुगेको छ, तर त्यसलाई भेनेजुएला प्रवेश गर्न सरकारले अनुमति दिएको छैन । ब्राजिल र भेनेजुएलासँगै सीमा जोडिएको कुराकाओमा पनि सामग्री भण्डारहरु स्थापना गर्ने तयारी थालिएको छ ।
“हाम्रो मुख्य लक्ष्य नै फेब्रुअरी २३ सम्ममा दश लाख स्वयंसेवी परिचालन गर्ने भन्ने हो,” गुएइदोले बताए । करिब छ लाख भेनेजुएलाबासीले सीमामा रोकिएको सहायता देशभित्र ल्याउन हस्ताक्षर गरिसकेका छन् ।
विपक्षी नेता गुएइदोले सबै स्वयंसेवीलाई सीमामा गई सामग्री देशभित्र ल्याउन आह्वान गरेका छन् ।
अमेरिकी सिनेटर मार्को रुबियो सहायता कार्यको प्रत्यक्ष अवलोकनका लागि आइतबार कुकुटा पुग्नुभएको छ । उनले कोलम्बिया र भेनेजुएला जोड्ने सिमोन बोलिभार अन्तरराष्ट्रिय पुलको पनि निरीक्षण गरेका छन् । तीन वटा अमेरिकी सैनिक कार्गो विमानले दर्जनौं टन खाद्य सामग्री कुकुटा ल्याएका छन् ।
वि.सं.२०७५ फागुन ६ सोमवार १७:१० मा प्रकाशित