२२ फागुन । राजनीतिक आस्था फरक भएपनि, विचारमा फरक हुँदैमा आफन्त पराय नै हुन्छन् वा दुश्मनै हुन्छ भन्ने हुँदैन । यस्तै उदाहरण प्रस्तुत गरेका छन् नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले । उनले नुवाकोटका वामपन्थी नेता एवं पूर्व सांसद गणेश पण्डितको निधनमा भावुक भएर लामो सम्झना लेखेका छन् । नाताले ठूलो मामा रहेका पण्डितको निधनमा दुःख व्यक्त गर्दै नेता केसीले स्वर्गीय पण्डित भद्र, शालिन, गहिरो बौद्धिक खुबी, विज्ञान र अध्यात्मका बीचको सन्तुलन कला, संकटमा नआत्तिने र सहज स्थितिमा नमात्तिने समुद्रवत स्वभाव आदि अनेकौँ मानवीय गुणहरु भएको नेता भएको उल्लेख गरेका छन् । नेता पण्डितले छोडेर गएका अधूरा कार्यहरूलाई पूर्णता दिनु हामी सबैको जिम्मेवारी हुने केसीले जनाएका छन् ।
स्वर्गीय नेता पण्डितको सम्झनामा अर्जुननरसिंह केसीले लेखेको पत्र :
भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना !
अहिले म धर्मपत्नी प्रतिमासहित सम्पूर्ण परिवार अत्यन्त दुःखद र शोकमग्न अवस्थामा छौँ । बुबा–आमाको दुखद निधनको शोकपछि हामीलाई आदरणीय ठूलो मामा गणेश पण्डितज्यूको निधनले त्यति नै स्तब्ध र दुःखी बनाएको छ । यो क्षणलाई परिभाषित गर्न मसँग शब्द छैन ।
आदरणीय मामा गणेश पण्डितज्यू हामी सबैलाई दुःखी बनाएर फाल्गुन २१ गते यो संसारबाट विदा हुनुभयो । पारिवारिक सम्बन्धले उहाँ मामा भए पनि ९ महिना मात्रको फरक उमेरका कारण हामीवीच समकालीन मित्रवत ब्यवहार थियो । हाम्रो प्रारम्भिक शिक्षाको एक कालखण्ड मेरो घर, राउतबेँसीमा मँसगै र अर्को कालखण्ड मामाघर शिखरबेँसी, नुवाकोट) मा भएकोले उहाँसँग बाल्यकालदेखि नै मेरो घनिष्टता रह्यो । त्यसपछिको शिक्षाका लागि हामी मामा–भाञ्जा सँगसँगै काठमाडौँ आयौँ र कालधारास्थित मेरी फुपूको घरमा सँगै बस्यौँ, लैनचौरको शान्ति विद्यागृहमा एकैपटक ७ कक्षामा भर्ना भयौँ । त्यसकारण वाल्यकालदेखि आखिरी दिनसम्म उहाँसँगको सान्निध्य अविष्मरणीय छ । सम्बन्ध र ब्यवहारले एक अभिभावकको रुपमा मामाको भूमिका सदैव कायम रह्यो । एउटा कालक्रममा राजनीतिक आस्थामा केही भिन्नता भए पनि गृहजिल्ला नुवाकोटको शैक्षिक, सामाजिक र सांस्कृतिक उन्नतिको विषयमा र पारिवारिक सम्बन्धमा हामीवीच अभिन्नता थियो ।
मामाको निधनबाट विगतका स्मरणहरू मनभित्र जागृत भइरहेका छन् । समकालीन उमेर भएका कारण मलाई सम्झना छ, आमाले हामी दुवैलाई एकसाथ काखमा राखेर खुवाएको । बाल्यकालमा मामासँग घुमेको, खेलेको, पढेको र उहाँको जीवनको आखिरी दिनसम्म उहाँले मेराप्रति दर्शाउनुभएको स्नेह, भरोसा, देखेको बास्तविकताका आधारमा पाउनेगरेको सल्लाह अब यी सबै विगत र स्मृतिका विषयमात्र भए ।
मामाको भद्रता, शालिनता, गहिरो बौद्धिक खुबी, विज्ञान र अध्यात्मका बीचको सन्तुलन कला, संकटमा नआत्तिने र सहज स्थितिमा नमात्तिने समुद्रवत स्वभाव आदि अनेकौँ मानवीय गुणहरूको गाढा प्रभाव हामी सबैमा छ र रहिरहने छ ।
मामा दिवंगत हुनुभो । भोली उहाँको पार्थिव शरीर पञ्चतत्वमा विलिन हुनेछ । तर उहाँप्रतिको श्रद्धा, सम्झना, उहाँले मलगायत हाम्रो समस्त परिवारमा छोडेर जानुभएको योगदान उहाँका प्रातः स्मरणीय निधिका रुपमा हामी सँगालेर राखिरहने छौँ । उहाँले छोडेर जानुभएका अधूरा कार्यहरूलाई पूर्णता दिनु हामी सबैको जिम्मेवारी हुनेछ ।
उहाँप्रति भावपूर्ण श्रद्धान्जलीका साथ दिवंगत आत्माको चीर शान्तिको निम्ति प्रार्थना गर्दै शोकाकूल आदरणीय माइजू, आदरणीय मामा कुमार पण्डितज्यू, भाईहरू– राजकुमार, किशोर, दिनेश लगायत शोकसन्तप्त समस्त परिवारजनमा गहिरो समवेदना छ । दुःखको यस घडीमा हामी समस्त परिवार तपाईंहरूकै साथमा छौँ ।
अर्जुननरसिंह र श्रीमती प्रतिमा केसी
वि.सं.२०७५ फागुन २२ बुधवार १९:०९ मा प्रकाशित






























