
२३ फागुन, अछाम । मंगलसेन नगरपालिका १ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि श्रीमती साबि रानाले वडा कार्यालयमा उजुरी गरिन् । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले तीन हजार जरिवाना तिरे । सामाजिक रुपमा लज्जित भएपछि मदिरा सेवन छोडेको हर्क राना बताउँछन् ।
कारबाहीमा पर्नुअघि दिनभर मदिारमा लठ्ठिरहने हर्क दुई महिनायता घरायसी र बाह्रय काममा समेत सक्रिय छन् । ‘मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन् । स्वास्थ्यमा पनि समस्या हुने, आर्थिक रुपमा पनि एकवर्षको अवधिमा डेढ लाख मदिरामै सकियो होला,’ रानाले भने, ‘अब त मदिरा सेवन गर्दैन ।’ आफूले रक्सी छाडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुसी मनाएको उनको भनाई छ ।
मदिराले सामाजिक, आर्थिक शारीरिक र मानसिक विकासमा बाधा पु¥याएको भन्दै वडा कार्यालयले मदिरामा कडाई गरेपछि महिलाहरु सबैभन्दा बढी खुसी छन् । विहिबारको कारोबार दैनिकमा अछामबाट होम साउदले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २३ बिहीवार ०८:२१ मा प्रकाशित






























