
२५ फागुन, काठमाडौँ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि अब तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेष्ट टे«कर्स फ्यूल’ नामक ब्राण्डमा नेपालमा पहिलोपटक बजारमा ल्याइएको खाद्य पदार्थ हाल तीन किसिमका रहेकामा एक वर्षभित्र दाल, भातसहित २० वटा खाद्यान्नलाई प्याकेटमा ल्याइने आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अमेरिकी प्रविधिमा तयार गरिएका ती खाद्य पदार्थमा रहेको ९९ प्रतिशत पानीको मात्रा हटाई माइनस ४० डिग्री तापक्रममा प्याकेजिङ गरिने भएकाले १५ वर्षसम्म पनि खान सकिने पर्यटन व्यवसायी एवं सो खाद्य वस्तुका प्रवद्र्धक गणेश सिंखडाले बताए । उनले पर्यटन क्षेत्रमा मात्र नभई सुरक्षाकर्मी, उद्धारकर्मी र अन्य सर्वसाधारणका लागि पनि सहजरुपमा लैजान र तयार गर्न सकिने भएकाले यस खालका खाद्य पदार्थको प्रवद्र्धन गर्न आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतले खाद्य पदार्थमा रहेको पानीको मात्रा हटाइएकाले बोक्न सजिलो हुने हुँदा पर्वतारोहण तथा पदयात्राका लागि निकै सजिलो हुने दाबी गरे । प्याकेजिङ गरिएको खाद्यवस्तु १० गुणा बढी हल्का हुनुको साथै प्रोटिनयुक्त हुने, कुनै रसायन नराखिएको र स्वादयुक्त भएकाले उच्च पर्वतीय क्षेत्रका लागि उपयोगी हुने उनको भनाइ छ ।
वि.सं.२०७५ फागुन २५ शनिवार १५:१० मा प्रकाशित






























