
२७ फागुन, बनेपा । काभ्रेपलाञ्चोकको तीनवटा नगरपालिका बनेपा, धुलिखेल र पनौती बासिन्दाका लागि शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले विगत छ वर्ष अगाडि शुरु भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न नहुने भएको छ ।
२०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ भएको सो खानेपानी आयोजना सम्झौता अनुसार २०७२ साल जेठ ३२ गते सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी भएको थियो तर अहिले सम्ममा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख नारायण सुन्दर श्रेष्ठले बताए । “अहिलेको निर्माण कार्यको म्याद थप सातौँ पटकको हो ।” श्रेष्ठले भने, “अहिलेसम्ममा भौतिक प्रगति संरचना र पाइप लाइन बिच्छ्याउने काम सबै गरेर ९५ प्रतिशत भएको छ ।” त्यससँगै वित्तीय प्रगति खर्च ७२ प्रतिशत भएको उनकोे भनाइ छ ।
त्यसरी काम भइरहेको सो आयोजना आगामी २०७६ जेठ १७ गते सम्पन्न गरी सक्नुपर्नेछ । पाँच प्रतिशत भौतिक काम पाइप लाइन नै बिच्छ्याउने बाँकी रहेको सो आयोजनाको मुहानबाट क्षेत्रीय पानी प्रशोधन केन्द्रमा पानी ल्याएर जाँच गर्न मात्रै तीन महीना लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताए ।
समय अवधिको हिसाबले सातौँ पटक तोकिएको समयमा पनि काम सम्पन्न गर्न नसकिने आयोजना प्रमुख श्रेष्ठले बताए । एकातिर निर्माण कार्यको समय लम्बिँदै जानु र अर्कोतिर खर्च पनि बढ्दै जानुले आयोजना आकाशको फल जस्तै बनेको उपभोक्ता बताउँछन् । बनेपा नगरपालिका–८ का जयकृष्ण मानन्धरले भने, “एकातिर अहिले उपभोग गर्दै आइरहेको नेपाल खानेपानी संस्थानको धमिलो लेदो मिसिएको पानीलाई खानयोग्य नभए पनि पैसा तिरिरहनुपर्छ, अर्कोतिर एकीकृत खानेपानीले बाँडेको आशा वर्षौ भइसक्यो ।”
बनेपामा खानेपानीको हाहाकारनै रहेको छ । जसका कारण घरधनीदेखि भाडामा बस्ने नजिकैको ढुङ्गेधारा धाउन बाध्य भएका छन् । “भएको खानेपानी पनि फोहर लेदो मिसिएको पानी आउने र ढुङ्गेधारामा जान पनि धेरै टाढा भएकै कारण बनेपामा भाडामा बस्न नसक्ने स्थिति भएको प्रतीक तामाङले बताए ।
शुरुमा काभ्रेपलाञ्चोक जिल्लाको तीन नगरपालिकाका गरी कूल ९२ हजार ८३० जनसंख्यालाई पानी खुवाउने गरी आयोजना निर्माणको सम्झौता भएकोमा पछि बनेपा नगरपालिका र पनौती नगरपालिकाको केही वडा थप भएपछि अहिले एक लाख ३९ हजार ४२२ जनसंख्यालाई खानेपानी पु¥याउने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ । नेपाल सरकार, एशियाली विकास बैंक एडिबी, तीन वटा नै नगरपालिका र काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डको गरी अहिले कूल रु एक अर्ब १२ करोड ६०० को लगानी हुने जनाएको छ ।
वि.सं.२०७५ फागुन २७ सोमवार ०९:१३ मा प्रकाशित






























