
४ चैत्र, काठमाडौँ । सरकारसँग ११ बुँदे सहमति गर्दै जिल्ला फर्किका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सिके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ घोषणा गरिएको छ । सिरहा जिल्लाको लहान वडा नं ७ मा चैत्र ३– ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले पार्टीको नाम “जनमत पार्टी” राख्ने निर्णय गरेको हो। बैठकपछि जारी प्रेस विज्ञप्तीमा सो कुराको जानकारी गराइएको छ ।
भेलाले पार्टीको झण्डामा क्रमश: रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने, पार्टीको लोगोको रुपमा अष्टदलको छेऊमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने, पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गर्दै पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने विज्ञप्तीमा बताइएको छ।
विज्ञप्तीमा बैठकले स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आमजनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११ बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै सहमतिलाई स्वागत गरिएको छ ।
जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गर्दैै केन्द्रिय भेलाले पार्टीको लागि ३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिने गरी केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको बताइएको छ ।
३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा सिके राउत राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको पनि उक्त विज्ञप्तीमा उल्लेख छ।
स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११ बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समिति बनाइएको छ । त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिइएको जानकारी गराइएको छ।
वि.सं.२०७५ चैत ४ सोमवार २१:४४ मा प्रकाशित






























