
भेलाको मूल विषय ‘समृद्ध नेपालको लागि गैरआवासीय नेपाली, सदैव र सबैको लागि’ रहेको छ र यस भेलामा नेपालमा वैदेशिक लगानी, नेपालको पर्यटन विकास र प्रबर्धन अनि विदेशमा सिकेको सीप र ज्ञानलाई नेपालमा भित्र्याउने अभियानलाई केन्द्रविन्दुमा राखेर बृहत छलफल गरिने छ ।
गैरआवासीय नेपाली संघले यही आउने मे महिनाको ११ र १२ तारिखमा सिड्नीमा आयोजना गरिने संघको ओसेनिया क्षेत्रीय भेला बारे सिड्नीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
यस क्षेत्रीय भेला बारे ओसेनिया क्षेत्रका क्षेत्रीय संयोजक तथा क्षेत्रीय भेलाका संयोजक धर्मराज अधिकारीले जानकारी गराए । उनका अनुसार यस भेलामा करीब २० वटा मुलुकबाट कूल ३०० जना प्रतिनिधरु सहभागी हुने अपेक्षा गरिएको छ । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै यस भेलामा संघका अध्यक्ष, पदाधिकारीहरु, संरक्षक परिषद्का पदाधिकारीहरु, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिक्षकका सदस्यहरु, मानार्थ परिषद्का सदस्यहरु, विभिन्न मुलुकका एनसिसिका प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहने छ ।
यसरी नै यस भेलाका लागि नेपाल सरकारका प्रतिनिधिहरु, नेपालका प्रमुख राजनीतिक दलका नेताहरु र सरोकारवाला संघ संस्थाहरुकालाई सहभागीताका लगि निमन्त्रण गरिसकेको बारे जानकारी गराईएको छ ।
यस भेलाको मूल विषय ‘समृद्ध नेपालको लागि गैरआवासीय नेपाली, सदैव र सबैको लागि’ रहेको छ र यस भेलामा नेपालमा वैदेशिक लगानी, नेपालको पर्यटन विकास र प्रबर्धन अनि विदेशमा सिकेको सीप र ज्ञानलाई नेपालमा भित्र्याउने अभियानलाई केन्द्रविन्दुमा राखेर बृहत छलफल गरिने छ । यसका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपालीहरुले खेल्नु पर्ने भूमिका पहिल्याउन पहलका साथ यसलाई कार्यान्वयनमा लैजान खाका समेत तयार गरिने भएको छ ।
यस भेलाको अन्तिम दिन क्षेत्रीय भेलाको निर्णय जारी गरिने र अतिथिहरुलाई सिड्नीको अवलोकन भ्रमणको समेत व्यवस्था गरिएको छ । यस भेला सम्पन्न गर्नको लागि करीव ८० हजार अष्ट्रेलियन डलरको बजेट अनुमान गरिएको छ । यस कार्यक्रमलाई सफलता पूर्व सम्पन्न गर्नको लागि व्यवस्थापन टिम खटेर काम गरिरहेको छ ।
पत्रकार सम्मेलनको अन्त्यमा पत्रकार सम्मेलनमा सहभागी आइसिसिका पदाधिकारीहरु, एनआरएनका अभियान्ताहरु, एनसिसिका पदाधिकारी र सदस्यहरु, विभिन्न क्षेत्रीय समितिका पदाधकारी तथा सदस्यहरु, अष्ट्रेलियामा रहेका विभिन्न संघसंस्थाहरुका साथै सहभागी हुन आएका सम्पूर्ण संचारकर्मीहरुलाई क्षेत्रीय भेलाका संयोजक अधिकारीले हार्दिक धन्यवाद व्यक्त गरे ।
वि.सं.२०७५ चैत १० आइतवार ०७:४६ मा प्रकाशित






























