
१२ चैत, काठमाडौं । पत्नी सीतादाहालको उपचारका लागि अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार स्वदेश फर्कदै छन् ।
पार्किन्सस रोगको समस्याले पीडित रहेकी पत्नी सीता दाहालको उपचारका लागि चैत ३ गते अमेरिका प्रस्थान गरेका अध्यक्ष प्रचण्ड बुधबार नेपाल फर्कदैछन् ।

वासिङटनस्थित नेपाली दूतावासका कर्मचारीहरुसँग अध्यक्ष प्रचण्ड
पार्किन्सस रोगले पीडित दाहालको अमेरिकाको बाल्टिमोरस्थित जोन हकिन्स अस्पताल लगायतमा चेक जाँच गरिएको र मुख्य उपचार अलावाको एक अस्पतालमा गरिएको थियो ।
अध्यक्ष प्रचण्डले अमेरिकामा, भारत र सिंगापुरको भन्दा फरक प्रविधि र औषधिका उपचारका कारण पत्नी सीता दाहालमा केही सुधार देखिएको पनि त्यहाँस्थित नेपालीलाई भेटघाटका क्रममा बताएका थिए ।

अध्यक्ष प्रचण्डले त्यहाँस्थित नेपाली समुदाय, नेपाली संघ संस्थाका प्रतिनिधि, अमेरिकन स्टेट डिर्पाटमेन्ट लगायत अन्य विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेको पनि बताइएको छ ।

‘उहाँ (सीता दाहाल) खाने खाने, अलि अलि हिड्ने र एकोहोरो बोल्ने गर्नु भएको छ । उहाँको उपचारमा संलग्न रहेका डाक्टरहरुले उहाँमा सुधार हुने आसा राखेका छन् ।’ अमेरिकाबाट स्रोतले संसारन्यूजलाई बताएको छ ।

त्यहाँस्थित नेपाली समुदायसँगको भेटघाटमा अध्यक्ष प्रचण्डले पार्टी एकता, देशको आर्थिक समृद्दिमा लाग्ने तथा विप्लव नेतृत्व समूहलाई सिके राउतलाई जस्तै मूलधारको राजनीतिमा ल्याएर शान्ति प्रक्रिया कायम राख्ने बताएको स्रोत बताउँछ ।

त्यस्तै गैरआवासीय नेपाली नागरिकता संविधानमा व्यवस्था भए अनुसार हुने बताउँदै प्रवासमा आर्जन गरेको सिप र साधनलाई नेपालमा लगानी गर्नपनि नेपाली समुदायलाई अनुरोध गरेका थिए । उनले नेपालको विकासमा प्रवासी नेपालीहरूको लगानी महत्वपूर्ण हुने कुरा समेत बताएका थिए ।
अमेरिकामा प्रचण्ड विरुद्धको उजुरी,’चर्चामा आउने खेल’
वि.सं.२०७५ चैत १२ मंगलवार ०९:१३ मा प्रकाशित






























