१३ चैत, धनगढी । धेरैजसो अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड हुन्छ । अस्पतालले परिवारसँगको वार्तापछि क्षतिपूर्ति तिर्छन । फेरि अस्प्ताल आफ्नै दिनचर्यामा व्यस्त हुन्छ । तर, एक अस्पताल जो सुत्केरीको मृत्यु भएपछि सुनसान बनेको छ ।
कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालको प्रसूतिगृह तीन दिनयता सुनसान बनेको छ । दैनिक प्रसूति गराउने गर्भवतीहरुको भिड रहने सेती अञ्चल अस्पतालको प्रसूतिगृहमा एकजना पनि सेवाग्राही आएका छैनन् ।
सेती अञ्चल अस्पतालमा प्रसूतिका लागि आएकी धनगढी उपमहानगरपालिका १२ की रेखा थापाको गत विहिबार मृत्युभएपछि अञ्चल अस्पतालको प्रसूतिगृह सुनसान बनेको छ । गत ४ गते अञ्चल अस्पतालमा बच्चा जन्माएकी रेखाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्युभएको थियो ।
उनको मृत्युपछि आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै शुक्रबार आन्दोलन गरेका थिए । सोमबार प्रसूतिगृहका एक बेड बाहेक अन्य सबै खाली थिए । प्रसूतिगृहमा नर्स र स्वास्थ्यकर्मीबाहेक केही विरामी र आफन्तको मात्र उपस्थिति रहेको थियो । बुधबारको राजधानी दैनिकमा दीपक ओलीले धनगढीबाट लेखेका छन् ।
वि.सं.२०७५ चैत १३ बुधवार ०७:५७ मा प्रकाशित





























