
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय अनुशासन समितिको पहिलो बैठकले पार्टी विरुद्ध सामाजिक सञ्जालमा लेख्ने र बोल्नेलाई कारबाही गर्ने भएको छ ।
मंगलबार बसेको बैठकले कार्यविधि पारित गर्दै कांग्रेसका नेताहरुलाई सार्वजनिकस्थलमा जथाभावि बोल्न, लेख्न र एकअर्काबीच आरोप प्रत्यारोपमा नलाग्न निर्देशन दिएको हो ।
बैठकले पार्टी हित विपरीत गतिबिधि लिखितरुपमा गरेमा, अभिव्यक्तिद्धारा वा सामाजिक संजालमा सार्वजनिक रुपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको हो ।
‘त्यस्ता काम, कारबाही र गतिबिधि पार्टी बिधान र नियमावली बमोजिम केन्द्रीय अनुसासन समितिको क्षेत्राधिकार भित्रको विषय हुने भएकाले त्यस किसीमका कार्य नगर्न÷नगराउन सम्बन्धीत सबैमा यसै सूचनामार्फत् जानकारी गराइन्छ ।’ बैठकको निर्णयमा भनिएको छ ।
त्यस्तै सोहि बैठकले यस्ता कार्य गर्ने वा गराइएको पाइएमा चैत मसान्तभित्र प्रमाणसहित उजुरी दिन पनि आग्रह गरेको छ ।
चैत ४ गते सोमबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले भिष्मराज आङदम्बेको संयोजकत्वमा ५ सदस्यीय अनुशासन समिति गठन गरेको थियो ।
वि.सं.२०७५ चैत १३ बुधवार ०९:१९ मा प्रकाशित






























