
१४ चैत, पाल्पा । पाल्पास्थित रानीमहल दरबारवरिपरी करिब ४० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । ०३२ सालमा जिल्लामा नापि आउनु पहिले रानी महल फूलबारीको जग्गा सार्वजनिक थियो । यस क्षेत्रको खानी गाउँ खोलातर्फ दुई÷तीन जनाको जग्गा बाहेक अरु सबै जग्गा सार्वजनिक रहेको स्थानीय अगुवा लिला भट्टराईले बताए ।
रानीमहल फूलबारी क्षेत्रमा पुजारी बस्ने कुटी, फूलका बगैचा, आँप लगायत थिए । यस क्षेत्रको उत्तरतर्फको जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । रानीमहल दरबार परिसरमा बस्दै आएका सामाकोटे परिवारले ०३२ सालमा उक्त जग्गा खरिद विक्रि गराएको स्थानीय भट्टराईले बताए ।
उनीहरुले नै ०४० देखि ०६२ सालसम्म उक्त क्षेत्रका जग्गा खरिद विक्रि गर्दै आएको पनि भट्टराईको आरोप छ ।
अहिले सामाकोटे कहाँ छन् भन्ने जानकारी नभएको उनले बताए । रानीमहल पर्यटकिय चहलपहल बढ्दै गएको र सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा रानीमहललाई राखेपछि जग्गा अतिक्रमणकारी सलबलाउन थालेका छन् ।
राणा खड्क शमशेरले निर्माण गरेको रानीमहल दरबार वरिपरिको करिब ५० रोपनी भन्दा बढी क्षेत्रफल अतिक्रमणमा परेको हो । विहिबारको अन्नपूर्णपोष्ट दैनिकमा पाल्पाबाट कृष्ण पोखरेलले लेखेका छन् ।
वि.सं.२०७५ चैत १४ बिहीवार ०७:५१ मा प्रकाशित






























