२४ चैत, भरतपुर । उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताए ।
“अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रुपमा लिन्छ”, उनले भने, “तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी छैन् ।” समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रम मात्र भएको उहाँको तर्क छ । “वृत्ति विकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन”, उनले भने, “यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ ।” आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उनले चिकित्सकलाई आग्रह गरे ।
चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उनले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राखेका थिए । चितवन मेडिकल कलेज फरक प्रसङ्गमा उनले भने, “तोकेको शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानबिन हुन्छ ।” सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उनले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाए ।
वि.सं.२०७५ चैत २४ आइतवार १६:२२ मा प्रकाशित