
१९ बैशाख, नयाँदिल्ली । दलालको फन्दामा परी तीन महिनासम्म बन्धकमा रहेकी नेपाली एक चेलीलाई हेल्प नेपाली मिशन भारतले उद्धार गरेको छ ।
मई १ अन्र्तराष्ट्रिय श्रमिक दिवसकै दिनमा भारतको राजधानी नदिल्लीबाट मिशनका अध्यक्ष कवि कार्की र सचिव महेन्द्र केसीको सक्रियतामा उद्धार गरेको हो ।
उद्धार गरिएकी चेलीलाई दलालले विभिन्न खालको प्रलोभन देखाएर नक्कली भिसा, नक्कली पुलिस रिपोर्ट, नक्कली टिकट बनाएर म्यान्मार तथा श्रीलंका हुँदै खादी मुलूक कुवेत पठाउने बहानामा भारतको पूर्वोत्तर राज्य असम, र दिल्लीसम्म आफूलाई नजरवन्द गरि राखेको पीडित युवती मिना (नाम परिवर्तन) ले बताएकी छन् ।
साथै उनले राजकुमार श्रेष्ठ (राज) भन्ने दलालले आफुलाई फसाएको र कहिंकतै जान नदिई बन्धकको रुपमा राखी गाली गलौज गर्दै मानसिक यातना दिने गरेको पनि उनले बताएकी छन् ।
आफूलाई हिजोमात्र दिल्ली एअरपोर्टमा पनि लिएर गएको र आज सेटिङ मिलेन भन्दै बहाना गरि फर्काएको पिडीत चेलीको भनाई छ ।
उद्धार गरिएकी मिनाको बेंगलोरमा रहेका टेकनारायण पौडेल मार्फत हेल्प नेपाली मिशन दिल्लीमा जानकारी गराई आफुहरुले उनको उद्धार गरेको कुरा मिशनका अध्यक्ष कवि कार्कीले बताए ।
उद्धार गरिएकी चेलीलाई टेकनारायण पौडेलको रोहवरमा निजकी दिदी जमुना सापकोटाको जिम्मेवारीमा पठाइएको छ ।
वि.सं.२०७६ वैशाख १९ बिहीवार ०९:०७ मा प्रकाशित




























